१५ बैशाख २०७० | 28 April 2013

'क्लाउड' मा फाइल

Share:
  
- गणेश आचार्य
एक किलोको ढक जत्रा हार्डडिस्कबाट शुरू भएको फाइल स्टोरेज, बूढीऔंलाको नङ जत्रा पेनड्राइभसम्म आइपुग्यो। हुँदा–हुँदा अब त आकाशमै फाइलहरू राख्न सकिने भइसक्यो।

तपाईंले अहिलेसम्म कुन–कुन स्टोरेज डिभाइस प्रयोग गर्नुभयो? अनि, तिनको स्टोरेज क्षमता कति थियो, सम्झ्नुहुन्छ? हामीले अहिलेसम्म १.४ मेगाबाइटको फ्लपी, ७०० मेगाबाइटको सीडी, दुई–चार जीबीदेखि १००० गिगाबाइटका हार्डडिस्क, १२८ मेगाबाइटदेखि विभिन्न गिगाबाइटसम्मका पेनड्राइभ चलाइसकेका छौं। अब भने जमाना क्लाउड स्टोरेजको आएको छ। तपाईंको मोबाइल या कम्प्युटरको फाइललाई थर्ड पार्टीले बनाएको स्टोरेज सञ्जालमा राख्ने प्रविधि हो– क्लाउड।

सेवा प्रदायकहरूले ठूल्ठूला डाटा सेन्टर बनाउँछन्, र त्यसमा डाटा राख्न चाहने व्यक्तिले सेन्टरमा आफूलाई चाहिने जति स्पेस किन्ने वा लिजमा लिने गर्छन्। केही स्पेस सित्तैंमा पाइन्छ। ती सेन्टरमा भएका डाटाहरूसम्म पुग्न इन्टरनेट चाहिन्छ नै। क्लाउड बारेको एउटा छलफलका क्रममा एकजना साथीले हठात् रमाइलो प्रश्न राखेका थिए– मैले राखेको फाइल कुन बादलमा हुन्छ? त्यो बादल कैले कता कैले कता पुगिरहँदा मेरो फाइल हराउँदैन? नामका कारण धेरैको मनमा यस्तो लागेको हुनसक्छ।

'क्लाउड' शब्दलाई अलङ्कारको रूपमा प्रयोग गरिएको मात्र हो, क्लाउड स्टोरेज आकाश वा बादलमा हुने होइन।

प्रयोग गर्ने काइदा

जुनसुकै क्लाउड स्टोरेज प्रयोग गर्न त्यसमा एउटा एकाउण्ट खोल्नुपर्ने हुन्छ। गुगलड्राइभका लागि जी–मेलकै एकाउण्टले काम गर्छ भने अरू क्लाउड स्पेसका लागि त्यसको वेबसाइटमा गएर आफ्नो विवरण लेख्दै नयाँ एकाउण्ट खोल्नुपर्छ। त्यसपछि त्यो वेबसाइटमार्फत साइन इन गरेर आउने स्पेसमा फाइलहरू अपलोड या डाउनलोड गर्न सकिन्छ। ड्रपबक्स चलाउँदा कम्प्युटरमा माइ कम्प्युटरभित्र सी, डी वा इ ड्राइभ जस्तै ड्राइभ बन्छ। त्यहाँबाट फाइल राख्ने, झिक्ने गर्न सकिन्छ।

सबै क्लाउड स्पेसहरूको एप्लिकेशन वेबसाइटमा उपलब्ध छ। वेबसाइटबाट त्यो एप्लिकेशन डाउनलोड गरेर सजिलैसँग आफ्ना फाइलहरू एउटै बटन क्लिकबाट अपलोड वा डाउनलोड गर्न सकिन्छ। “फाइल स्टोर गर्ने डिभाइसहरू बोकिरहनु नपर्ने भएकोले क्लाउड स्टोरेजको धेरै सम्भावना र फाइदा छन्”, ब्लगर आकार अनिल भन्छन्, “नेपालमा इन्टरनेट कनेक्सन भने त्यसका लागि बाधक बन्न सक्छ।”

क्लाउडमा फाइलहरू राख्न वा डाउनलोड गर्न इन्टरनेट नभई हुँदैन। इन्टरनेट सुविधा भए मात्र ल्यापटप, डेस्कटप, मोबाइल वा ट्याब्लेटलगायतका ग्याजेटबाट क्लाउड स्टोरेज चलाउन पाइन्छ।

प्रमुख क्लाउड स्टोरेज

ड्रपबक्स

सजिलो प्रविधिका कारण ड्रपबक्स अहिले सबभन्दा लोकप्रिय क्लाउड स्पेस बनेको छ। यसमा फाइलहरू राखेर सामाजिक सञ्जालहरूमा सजिलै शेयर गर्न सकिन्छ। यसमा दुई गिगाबाइट स्पेस सित्तैंमा पाइन्छ भने अरू नयाँ साथीहरूलाई रिफर गर्दा पाइने कमिशन समेत जोड्दा १८ गिगाबाइटसम्म पुर्‍याउन सकिन्छ। ५० गिगाबाइटका लागि भने वार्षिक १०० डलर खर्च गर्नै पर्छ। यसमा विन्डोज, म्याक, एन्ड्रोइड वा आईओएसका जुनसुकै डिभाइसबाट www.dropbox.com वा ड्रपबक्स एप्लिकेशन प्रयोग गरेर फाइल राख्न र चाहिएको बेला चलाउन सकिन्छ।

गुगल ड्राइभ

फाइलहरू राख्न युएसबी पेनड्राइभको साटो गुगल ड्राइभ र ड्रपबक्स प्रयोग गर्न थालेका ब्लगर आकार अनिल त्यहाँ राखेको फाइल अफिस, घर वा मोबाइलबाटै चलाउन सकिने बताउँछन्। अप्रिल २०१२ बाट गुगलले शुरू गरेको क्लाउड स्टोरेज स्पेस हो– गुगल ड्राइभ। जी–मेलमा भएका डकुमेण्टहरूलाई तपाईं गुगल ड्राइभमा लैजान सक्नुहुन्छ। यसमा पाँच गिगाबाइट स्पेस सित्तैंमा पाइन्छ। वार्षिक ३० डलर तिर्ने हो भने हजारौं फाइलहरू स्टोर गर्न सकिने २० गिगाबाइट स्पेस पाइन्छ। त्यसलाई विन्डोज वा एन्ड्रोइडको कुनै पनि डिभाइसबाट चलाउन सकिन्छ। त्यसका लागि https://drive.google.com वा गुगल ड्राइभ एप्लिकेशन प्रयोग गर्न सकिन्छ।

स्काईड्राइभ

माइक्रोसफ्टको स्काईड्राइभमा माइक्रोसफ्ट अफिस प्याकेजका फाइल, अडियो र भिडियोहरू राख्न सजिलो हुन्छ। यसमा सात गिगाबाइट स्पेस सित्तैंमा प्रयोग गर्न पाइन्छ। थप २० जीबीको लागि वार्षिक १० डलर तिर्नुपर्छ। यसमा राखेका फाइलहरू शेयर गर्न वा गु्रपमै बसेर सम्पादन समेत गर्न सकिन्छ। स्काईड्राइभ प्रयोग गर्न skydrive.live.com मा जानुपर्छ। स्काईड्राइभको एप्लिकेशन पनि उपलब्ध छ।

एप्पल आइक्लाउड

विशेषगरी एप्पल युजरहरूलाई लक्षित गरेर बनाइएको एप्पल आइक्लाउडमा पाँच गिगाबाइट स्पेस सित्तैंमा पाइन्छ। थप २० जीबीका लागि वार्षिक ४० डलर तिर्नुपर्छ। एप्पल आइक्लाउड एप्पलका विभिन्न एप्लिकेशनसँग समायोजन गरेर चलाउन सकिन्छ। www.apple.com वा आइक्लाउडको एप्लिकेशनमा गएर आफ्ना फाइलहरू स्टोर र एक्सेस गर्न सकिन्छ।

comments powered by Disqus

रमझम