सखारै बिहान
सुनगाभाको शीतले
आँखा पखाल्दै
सूर्य–किरणहरू
बग्न थाल्दछन् माटोमा जब
म माटोसँगै
देश बगेको पीडाले
आफैंभित्र बग्न थाल्छु
निरन्तर बग्न थाल्छु ...।
–रमेश श्रेष्ठ (चराको पहाड कविता संग्रह, २०५५)
नेपालको नियतिलाई फर्केर हेर्दा 'देश बगेको पीडा' लाई अझ् तीव्र पारेर गएको छ, २०६९ साल। देश बग्नु भनेको माटोसँगै सम्पदा बग्नु हो, सुनाखरीहरू पनि बग्नु हो। विश्व पुष्प व्यापारमा सुनाखरी ज्यादै आकर्षक बिरुवा हो। तीस–पैंतीस वर्ष पहिले नेपालका नर्सरीबाट सिक्किमदेखि दार्जीलिङ, सिंगापुर र थाइल्याण्डसम्म पुग्थे सुनाखरी। व्यापारिक प्रयोजनका लागि वनजङ्गल र प्रकृतिबाट अत्यधिक दोहन हुनाका कारण सुनाखरी परिवार 'अर्किडेसी' का सबै वनस्पति प्रजातिलाई आयात–निर्यात दुवैमा राज्यले स्वीकृति दिएको अवस्थामा मात्र लेनदेन गर्न पाउने व्यवस्था अन्तर्राष्ट्रिय महासन्धि 'साइटिस' ले गरेको छ।
नेपाल भने अवैध व्यापारीका लागि भू–सेतु र वैधका लागि भूपरिवेष्ट सावित भएको छ। चीनको चिरुको भुत्ला होस् वा भारतको रक्तचन्दन वा नेपालको गैंडा खाग र बाघका हड्डी बेलाबखत बरामद हुने गरेको छ। केही वर्षयता सुनाखरीको तस्करी ह्वात्तै बढेको छ। र, त्यो तस्करी पुष्प गुणका लागि नभई परम्परागत चिनियाँ औषधि बनाउन हुने गरेको छ। चीनको युनान प्रान्तमा पाइने सुनाखरीको एउटा प्रजाति सुनको मूल्यमा बिक्री हुने कुनमिनका प्राध्यापकले मलाई बताएका थिए। उनका अनुसार, त्यो सुनाखरीको सानो कुट्का मुखमा राखेर ओपेरा गायकहरू घण्टौं गाउन सक्छन्, स्वर बस्दैन। त्यो सुनाखरी प्रजाति नेपाल, भुटान र सिक्किमतिर पाइन्छ भन्ने चाल पाएपछि चिनियाँ व्यापारीहरू यता पसेका हुन सक्छन्। सुनाखरीका तस्करहरूले हाम्रा वनपाखाहरू रित्याउँदै लगेका छन्।
सुनाखरीलाई 'डेण्ड्रोवियम' भनिन्छ, वैज्ञानिक शब्दावलीमा। 'डेण्ड्रो' को अर्थ वृक्ष र 'विओस्' भनेको जीवन हो। सुनाखरीहरू रूखको काँध चढेर जीवनयापन गर्दछन्। नेपालमा 'डेण्ड्रोवियम' जाति भित्र २६ प्रजातिका सुनाखरी छन्। तीमध्ये १२ प्रजातिमा जडीबुटीको गुण पाइन्छ। ती सबै सुनाखरी अवैध व्यापारको शिकार बनेकाले तिनको जाति–प्रजाति र भविष्यबारे चासो लिने बेला आएको छ। डा. विजया पन्त र भक्तबहादुर रास्कोटीको पुस्तक 'मेडिसिनल अर्किड्स अफ नेपाल' मा तिनको सचित्र वर्णन छ। पुस्तकबाट विद्यार्थी, अनुसन्धाता, व्यापारी एवं संरक्षण र सम्वर्द्धनमा लागेका सबै लाभान्वित हुने नै छन्।
'डेण्ड्रोवियम'का अरू लोकप्रिय प्रजातिमा सुनको गहना जस्तो लटरम्म लर्कने सुनगाभालाई 'डेन्सीफ्लोरम' भनिन्छ। यसको मध्यभागमा केही लाली चढेको भए पनि सबै तरेलीहरू सुनौला हुन्छन्। फूलका झुप्पाहरू घोगाको आकृतिमा भुईंतिर लत्रेर फुल्छन्। यो वनस्पतिको चारपाटे मोटो डाँठ हुन्छ। फूल लटरम्म हुँदा चिल्लापातहरूले शोभा थप्छन्। यसका पहेंला प्रतिस्पर्धी सुनाखरीमध्ये डे. क्रिसान्थम, डे. फिम्ब्रियाटम, डे. क्राइसियम र डे. जिब्सोनी उल्लेखनीय छन्। विछट्टै राम्रो प्याजी रङको डे. नोविले पनि सबैको प्यारो सुनाखरी हो। सुन्दरताका शिकारीहरूबाट यी फूलहरू सुरक्षित छैनन्, हाम्रो देशमा। त्यसमाथि तिनमा औषधिको गुण पनि रहेछ भन्ने ज्ञान भएपछि सुनाखरीको लुट शुरू भएको छ।
सुनाखरीमध्ये जिवन्ती नामले प्रख्यात 'डेण्ड्रोवियम माकाराई' ३०/३५ वर्ष पहिले नै त्रिभुवन राजपथबाट ट्रकका ट्रक निकासी हुन्थे। च्यवनप्रासलगायत विभिन्न आयुर्वेदिक औषधिमा प्रयोग हुने यो सुनाखरी आजभोलि प्रायः लोप भएको छ। जिवन्ती नामबाट प्रयोग हुने अरू बिरुवा पनि छन्, तर बढी प्रहार भएको सम्पदा सुनाखरीको प्रजाति नै हो। सुनाखरी दम, खोकी, घाँटी दुखेको तथा ज्वरोमा प्रयोग हुन्छ। यौनवर्द्धक औषधिको रूपमा पनि यसको प्रयोग गरिन्छ। औषधि गुणकै कारण लोपोन्मुख हत्ताजडी (पाँचऔंले) अर्किड परिवारकै वनस्पति हो, तर यो जमिनमा आलु फलेझै फल्छ, उच्च लेकाली क्षेत्रमा।
अन्त्यमा, अचेल अन्तरिक्ष चित्रले माटोसँगै देश बगेको छर्लङ्ग पार्ने गरेको छ। चुरेभावरको बीभत्स विनास कम्प्युटरको पर्दामा सोझ्ै हेरेर देश बगेको पीडामा हामी बाँचेका छौं। हाम्रा दुर्लभ सम्पदा जडीबुटी, वनस्पति तथा वन्यजन्तुका अङ्ग–प्रत्यङ्गहरू बगेर जाँदैछन्– कुनै उत्तरतिर, कुनै दक्षिणतिर र कुनै दुवैतिर। राजनेताहरू पनि त्यसैगरी बग्दैछन्– कोही उत्तरतिर, कोही दक्षिणतिर र कोही दुवैतिर। देश बगेका यी पीडाले आफैंभित्र बग्न थालेका नेपाली जनताको जुर्मुराउने दिन नजिकिंदै होला। सम्वत् २०६९ लाई यत्तिकै विदा दिने सिरहाका सुनगाभाले २०७० साललाई निश्चय पनि त्यत्तिकै छोड्ने छैन होला। १ वैशाख २०७१ सालमा त सुनगाभा फुल्नै पर्छ।