९ -१५ साउन २०७३ | 24-30 July 2016

दाहालको चाल

Share:
  
- विष्णु रिजाल
पुष्पकमल दाहालको अवसरवादी, अविश्वसनीय र अस्थिर चालले सिंगो मुलुकलाई शिकार बनाएको छ।

विक्रम राई
“...हामी चुक्यौं। नेपाली कांग्रेस नराम्रोसँग चुक्यो, मलाई दुःख छ। ...नेपाली कांग्रेसका तमाम साथीहरूले छातीमा हात राखेर सोच्नुपर्छ, हामी मातृकाको बाटोमा कि बीपीको? जंगबहादुरको बाटो कि भीमसेन थापाको बाटो?” नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २४ असोज २०७२ मा व्यवस्थापिका संसद्को रोष्ट्रमबाट यसो भनिरहँदा नेपाली कांग्रेसका नेताहरूले सीधा हेर्न सकिरहेका थिएनन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री निर्वाचित गरियोस् भनेर प्रस्तावकका रूपमा दाहालले भारतको उक्साहटमा नेपाली कांग्रेसले ओलीलाई प्रधानमन्त्री बनाउने सहमति तोडेको आरोपसहित नेपालको इतिहास केलाएका थिए। जंगबहादुर राणा र मातृकाप्रसाद कोइरालाले भारतसँग झुक्ने नीति लिएको अनि भीमसेन थापा, विश्वेश्वरप्रसाद कोइराला, पुष्पलाल र मदन भण्डारीले स्वाभिमानको बाटो रोजेको भन्दै दाहालले कांग्रेसलाई प्रश्न गरेका थिए।

नौ महीनापछि दाहाल स्वयम् कठघरामा छन्। संविधान जारी गर्ने बेलादेखि नै मन नपराइएका केपी ओलीलाई विदा गर्न दाहाल गोटीका रूपमा प्रयोग भएको तथ्यहरू एकपछि अर्को गर्दै बेपर्दा हुँदै गएका छन्। जुन शक्तिले हिजो राष्ट्रिय सहमति बनाउन दिएन भनेर उनले संसद्मा आवाज रेकर्ड गराएका थिए, आज त्यही शक्तिले उनका लागि सत्ताको मण्डप तयार गरेको छ। विवाहका बेला सम्बन्धविच्छेदको कुरा अप्रासंगिक भए झैं आज दाहालको सत्तारोहणको समयमा यी कुराहरू बेमतलब लागे पनि इतिहासप्रति जवाफदेही हुन यिनलाई मुखर बनाउन जरूरी छ।

सुरुङदेखि सत्ता समीकरणसम्म

लोकतन्त्रमा सरकार ढल्ने र नयाँ बन्ने प्रक्रिया चलिरहन्छ। अझ् तेस्रो विश्वका त्रिशंकु संसद्मा त नेताहरूको मुख्य खेतीपाती नै त्यही हुन्छ। तर, आफ्नै निकट विगतलाई गिज्याउने गरी दाहालले चालेका कदमले उनको अवसरवादी, अविश्वसनीय र अस्थिर चरित्रलाई उजागर गरेको छ, जसको शिकार सिंगो मुलुक भइरहेको छ।

दाहालले कोशिश गरेको भए गत असोजमै साँच्चै सहमतिको सरकार बन्थ्यो। नेपाली कांग्रेसलाई दुई दल पहिल्यै मिलिसके भन्ने नपरेको भए ऊ पनि सरकारमा आउन सक्थ्यो। एमालेलाई अहिले त्यस्तै सकसमा पारिएको छ र संकट सिर्जना गरेर छलाङ मार्ने सिद्धान्तका अनुयायी दाहालका कारण गणतन्त्रकालीन राजनीतिले पनि सङ्लिने मौका पाइरहेको छैन।

पुष्पकमल दाहाल दुई दशकयता नेपाली राजनीतिको केन्द्रमा छन्। हिजो भारतमा आश्रय लिएर बस्दा होस् वा त्यही भारत विरुद्ध रोल्पा–रुकुमतिर खाल्डो खन्दै गर्दा, शान्ति प्रक्रियामा आउँदा होस् वा संविधानसभाको निर्वाचनमा भाग लिंदा, राजनीतिको केन्द्रमा उनै थिए। नेपाली राजनीतिको विडम्बना पनि त्यही बनेको छ। दाहालले एकातिर टाल्न अर्कातिर भ्वाङ पार्दा नेपाल इतिहासमा कहिल्यै नभएको विदेशीको खेलमैदान बनेको छ, अरूका अजेन्डामा हिंड्न अभिशप्त बनेको छ।

एउटा शक्तिका विरुद्ध अर्कोलाई उपयोग गर्ने दाहालको पुरानै सूत्र हो। बहुदलीय व्यवस्थाका विरुद्ध राजा वीरेन्द्रसँग कार्यगत एकता गर्नेदेखि २०६१ माघमा ज्ञानेन्द्रले आत्मघाती कदम नचालेको भए उनीसँग मिलेर सरकार बनाउनेसम्मका दाहालका योजनाहरूबीच कतै संगति भेटिंदैन। यी सबै घटनाक्रममा भारतसँग दाहालको उतारचढावपूर्ण सम्बन्ध रह्यो। 'जनयुद्ध' थाल्नुपूर्व तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ४० बुँदे ज्ञापनपत्रदेखि अहिलेको सत्ता समीकरणसम्म आइपुग्दा भारतसँग दाहालको बुझिनसक्नु चरित्रको सम्बन्ध भेटिन्छ।

दाहाल र उनका घनिष्ट सहयोद्धा बाबुराम भट्टराईले १० वर्षे 'जनयुद्ध' कालको साढे आठ वर्ष दिल्लीको गुडगाउँ र नोयडा आसपासमा सपरिवार सुविधाजनक जीवन बिताए। सन् २००४ मा उनीहरूले आन्तरिक गुप्तचर संस्था आईबीमार्फत भारतको हितविरुद्ध कुनै काम गर्दैनौं भन्दै प्रधानमन्त्री कार्यालयमा निवेदन दिएको त्यसका सूत्रधार एसडी मुनिबाटै सार्वजनिक भइसकेको छ। त्यसलगत्तै के कुरा नमिलेर हो, भारतसँग सुरुङ युद्ध लड्ने भन्दै दाहालले आफ्ना कार्यकर्तालाई बारीमा खाल्डा खन्न लगाएको इतिहासको अभिलेखमा सुरक्षित छ।

प्रधानमन्त्री भएको बेला ठीक ढंगले शासकीय क्षमता देखाउन नसक्दा प्रधानसेनापति काण्ड भयो र दाहालले राजीनामा दिनुपर्‍यो। त्यसको पीरले यति धेरै लखेट्यो, कुनै 'प्रभु' सामु झ्ुक्दैनौं भन्दै उनले सडक आन्दोलन थाले। स्वाभाविक प्रक्रियाबाट आएको माधवकुमार नेपाल नेतृत्वको सरकारलाई कठपुतलीको संज्ञा दिंदै दाहालले नोकरसँग होइन, सीधै मालिक (भारत) सँग वार्ता गर्ने उद्घोष गरे, बानेश्वरको सडकबाट। भारतविरुद्ध आन्दोलनमा उत्रिएको बताउने उनले कति व्यग्रताका साथ सम्बन्ध बढाए भन्ने खुल्न धेरै कुर्नु परेन।

२०६७ सालमा झ्लनाथ खनाललाई प्रधानमन्त्री बनाउँदा 'नेपाली माटोको उत्पादन' भनेर विज्ञापन गरेका दाहाल त्यसमा सात महीना पनि अडिन नसकी उतैको योजना अनुसार बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन बाध्य भए। त्यतिले मात्र पुगेन, प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउने उतैको अजेन्डालाई पार्टीको हेटौंडा महाधिवेशनबाट पारित गराए। आफ्नै प्रस्तावमा बनेको त्यो सरकारले गराएको निर्वाचनमा पराजित हुँदा धाँधली भएको आरोप लगाउन पनि पछि परेनन्। केपी ओलीको नेतृत्वमा गठबन्धन बन्दाका पुष्पकमल दाहालका अभिव्यक्तिहरूलाई अहिलेका घटनाक्रमहरूसँग दाँजेर हेर्दा प्रश्न गर्न करै लाग्छ– एउटै दाहाल हुन् यी?

प्रयोग गर्ने र प्रयोग हुने मामिलामा माहिर दाहालका निर्णयहरू समयक्रममा उनकै लागि घातक सावित भएका अनेक दृष्टान्त छन्। २०६५ सालमा माधवकुमार नेपाललाई राष्ट्रपति बनाउन एमालेसँग लेखेको दस्तावेज कपाल फुलेको एक व्यक्तिसँग मध्यरातमा मन्त्रणा गरेपछि रद्दीको टोकरीमा फ्याँकियो। त्यसको सजाय भोग्न उनले नौ महीनाभन्दा बढी कुर्नै परेन। अनि माधवकुमार नेपालले नै उनलाई बालुवाटारबाट विस्थापित गरे।

कुनै पनि दललाई गठबन्धन बनाउने वा भत्काउने स्वतन्त्रता छ। के गर्दा आफूलाई अनुकूल पर्छ, त्यही आधारमा यस्तो निर्णय हुन्छ। सार्वजनिक संस्था भएकाले दलहरूले त्यस्तो निर्णय गर्दा जनताप्रति जवाफदेही भने हुनैपर्छ। यो सन्दर्भमा पुष्पकमल दाहालले जवाफ दिनैपर्छ– केपी ओलीलाई प्रधानमन्त्री बनाउँदा दिएका अभिव्यक्तिहरू सही हुन् कि अहिलेका? भारतले नाकाबन्दी लगाउँदा साइकल चढिन्छ भन्ने दाहाल ठीक हो कि अहिले ओली सरकारले छिमेकीसँग कूटनीतिक सन्तुलन कायम गर्न सकेन भन्ने भनाइ?

'कोर्स करेक्सन' गरे त?

निश्चय पनि नेताहरूलाई सत्ताको लोभ लाग्छ। कुनै राजनीतिज्ञसँग तपाईं मन्त्री रोज्नुहुन्छ कि प्रधानमन्त्री भनेर प्रश्न सोध्नु नै निरर्थक हुन्छ। केपी ओलीको मातहतमा रोज्जा मन्त्रालयहरू लिएर बस्नुभन्दा आफ्नो नेतृत्वमा सरकार बनाउने मौकाले पुष्पकमल दाहाललाई प्रेरित गरेको हुन सक्छ। तर, जिज्ञासा यत्तिमै किन मेटिन्न भने उनी यही गठबन्धनबाटै प्रधानमन्त्री बन्ने प्रबल सम्भावना थियो। केही समय पर्खेको भए वा गठबन्धनभित्रै बलियोसँग कुरा राखेको भए दाहालका पक्षमा सजिलै निर्णय हुने अवस्था थियो। तर, नयाँ गठबन्धनको अर्थ उनी यो गठबन्धन बनाएर गल्ती गरियो भन्ने निष्कर्षमा पुगेका रहेछन् भन्ने हुन्छ।

मुखले वामपन्थी जनमत भन्ने तर सत्ता पाउँदा गैर–वामपन्थीलाई प्राथमिकता दिने प्रवृत्तिलाई अवसरवाद बाहेक केही भन्न सकिन्न। यी तमाम घटनाक्रमले दाहालका कुनै कामका बीच संगति देखाउँदैन। उनले भारतसँग बनाएको सम्बन्धको बाटोमा निकै खाल्डाखुल्डी र घुम्ती छन्। यसबीचका केही घटनाक्रमहरूले त्यसलाई सम्याउन खोजेको प्रतीत हुन्छ। दाहालले विगतका तिक्तता, गुनासा र घुर्कीहरू समाधान गरेर 'कोर्स करेक्सन' गरेका हुन् त? नौ महीनाअघि आफैंले आदर्शका रूपमा चर्चा गरेका भीमसेन, बीपी, पुष्पलाल र मदन भण्डारीको बाटो दाहाललाई अप्रिय लागेकै हो त? जवाफका लागि धेरै दिन कुर्नु नपर्ला।

comments powered by Disqus

रमझम