९ -१५ साउन २०७३ | 24-30 July 2016

जोगाउनै गाह्रो

Share:
  
- सन्त गाहा मगर
व्यस्त तथा तनावपूर्ण जीवनशैली, विषादीयुक्त खाना, वंशाणुगत समस्यालगायतका कारण हरेक पाँचमध्ये एक महिलाको गर्भ खेर गइरहेको छ।

भानु भट्टराई
गर्भ बसेको साढे दुई महीनामा अचानक तल्लो पेट दुख्न थालेपछि मोरङ, विराटनगरकी ३५ वर्षीया सम्झ्ना थापा (नाम परिवर्तन) ललितपुरस्थित पाटन अस्पताल पुगिन्। परीक्षणपछि थाहा भयो, उनको गर्भ खेर गइसकेको रहेछ। नेपाल सेनामा कार्यरत श्रीमान्सँग ललितपुरको सातदोबाटोमा डेरामा बस्दै आएकी उनले गर्भ बसे यता न गह्रौं भारी उचालेकी न त लामो यात्रा नै गरेकी थिइन्। एक पटक मोटरसाइकल चढेको भने उनलाई सम्झ्ना छ। चिकित्सकले उनलाई कम्तीमा ६ महीनासम्म अर्को गर्भको योजना नबनाउन सल्लाह दिएका छन्। थापा दम्पतीको पहिलो सन्तानको सपना यसरी तुहियो।

काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालमा गर्भ खेर गएका यस्ता बिरामीको संख्यामा ह्वात्तै वृद्धि भएको छ। २०७१ सालसम्म वार्षिक ९०–९५ जना गर्भ तुहिएका बिरामी आउनेमा जेठ २०७२ यता यो संख्या १८२ पुगेको छ। विभिन्न अध्ययनहरूले देशभरि १५ देखि २० प्रतिशतसम्म महिलाको गर्भ खेर जाने गरेको देखाएका छन्।

किन तुहिन्छ गर्भ?

गर्भ बसेको तीन महीनाभन्दा पहिलेको करीब एक सय ग्राम तौलसम्मको शिशुको भ्रूण बाहिरिएको अवस्थालाई गर्भपतन वा गर्भे शिशु खेर गएको भनिन्छ। चिकित्सकहरूका अनुसार गर्भ खेर जाने अनेक कारण छन्। मूलतः खानपान, जीवनशैली, वंशाणुगत, चोटपटक, संक्रमण आदि गर्भ खेर जाने कारण हुन्। नेपाल स्त्री तथा प्रसूति रोग समाज (नेसोज) का महासचिव प्रा.डा. गणेश दंगाल भन्छन्, “विकलाङ्ग बच्चा जन्मिने संभावना छ भने प्रकृतिले नै गर्भ तुहाउँछ। त्यसबाहेकको गर्भपातमा भने हामी नै जिम्मेवार छौं।” उनका अनुसार पछिल्लो समय चुरोट, रक्सीलगायतका नसालु पदार्थको सेवनले गर्भपात बढाएको छ। अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले २०१५ सेप्टेम्बरमा गरेको अध्ययनमा गर्भ खेर जानुको एउटा महत्वपूर्ण कारण मदिरा सेवन रहेको निष्कर्ष निकालेको छ।

चिकित्सकहरूका अनुसार गर्भवती हुने सबैभन्दा उपयुक्त उमेर २० देखि ३० वर्ष हो। उमेर नपुगी वा बढी उमेरमा गरिने गर्भधारण तुहिने जोखिम बढी हुन्छ। सन् २०११ मा गरिएको नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्भे (एनडीएचएस) ले २०–३४ वर्ष उमेर समूहमा सबैभन्दा कम गर्भ खेर गएको देखाएको छ। प्रतिवेदनका अनुसार, ३५–४९ वर्षमा १० प्रतिशत, २० वर्ष भन्दा कम उमेरमा ८ प्रतिशत र २०–३४ वर्षमा ६ प्रतिशत गर्भ खेर गएको थियो।

आश्चर्य चाहिं के छ भने मेलापात, उकालो–ओरालो र स्वास्थ्य सुविधाबाट बञ्चित गाउँभन्दा शहरमा बढी गर्भ खेर जाने गरेको छ। एनडीएचएसका अनुसार गर्भ खेर जाने दर शहरमा ८.२ प्रतिशत र गाउँमा ६.६ प्रतिशत छ। चिकित्सकहरूका बुझाइमा यसको प्रमुख कारण अति व्यस्त र तनावपूर्ण जीवनशैली र विषादीयुक्त खानाको प्रयोग हो। काम र घरको दोहोरो जिम्मेवारीले शहरिया महिलामा आरामको अवसर कमै हुन्छ। “घर र कार्यालयको काम आफैं सम्हाल्ने महिलामा यस्तो समस्या बढी देखिन्छ” धुलिखेल अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. सुमनराज ताम्राकार भन्छन्, “शहरको तुलनामा गाउँले जीवनमा तनाव कम देखिन्छ।”

गर्भ खेर जानुको अर्को प्रमुख कारण गर्भपतन हो। गर्भपतन गराएपछि यो सम्भावना २५ देखि ३० प्रतिशतसम्म बढी हुने चिकित्सकहरू बताउँछन्। शहरमा बढी गर्भ खेर जानुमा गर्भपतन पनि जिम्मेवार छ। किनकि गाउँको तुलनामा शहरमा गर्भपतनको अनुपात दोब्बर छ। एनडीएचएस प्रतिवेदन अनुसार शहरमा गर्भपतनको दर १५ प्रतिशत र गाउँमा ७ प्रतिशत छ।

खासगरी व्यस्त जीवनशैली, तनाव र विषादीयुक्त खानाका कारण गर्भ खेर गइरहेका छन्।

प्रा.डा. गणेश दंगाल

धेरैबेर उभिइरहनुपर्ने सेक्युरिटी गार्ड, वेटर, नर्सलगायतका पेशाका महिलामा पनि गर्भ खेर जाने समस्या अन्यभन्दा बढी देखिएको छ। डा. ताम्राकार तरकारी, फलफूल, माछा, मासुलगायतका खाद्यान्नमा प्रयोग गरिने घातक विषादीको सीधा असर गर्भे शिशुमा पर्ने बताउँछन्। माछालाई दिइने फर्मालिन, कुखुरा फार्ममा प्रयोग हुने जेन्टामाइसिन, इनरोफ्लसासिन, टेट्रासाइक्लिन, अक्सिटेट्रासाइक्लिन, ईरीथ्रोमाइसिन, स्ट्रेप्टोमाइसिन, एमोक्सिलिन, डक्सिसाइक्लिन, नियोमाइसिन, सल्फाडाइजिन, टि्रफाडाइजिन, ट्राईमीथोप्राइम, नरफ्लोक्ससिन, अमिकासिन, कोलिस्टाइन, म्याक्रोलिड्स, अमिनो ग्लाकोसाइड्स, सल्फनामाइड, पेनिसिलिन जस्ता एन्टिबायोटिकले गर्भवतीको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने चिकित्सकको भनाइ छ।

नजिकको नातामा गरिएको विवाह, मोटोपना, उच्च रक्तचाप, चिल्लो खाना, जंकफूड, शारीरिक व्यायामको अभाव आदि पनि गर्भ खेर जाने कारण हुन्। यसका अलावा विभिन्न रोगहरू सिफिलिस, टोक्सोल्पास्मा, साइटो मेगालो भाइरस, रुबेला, हर्पिस, थाईराइड मधुमेहजस्ता रोगले पनि गर्भे शिशुको स्वास्थ्यमा असर गर्छ।

यसरी जोगाउने

गर्भ तुहिने थुप्रै कारण भएजस्तै गर्भ जोगाउने उपाय पनि अनेक छन्। चिकित्सकहरू केही आधारभूत कुरामा ध्यान पुर्‍याउन सके प्राकृतिक रूपमा तुहिने बाहेकका गर्भ भने बचाउन सकिने बताउँछन्। थापाथली प्रसूति गृहकी स्त्रीरोग विशेषज्ञ डा. सरोजा पाण्डे आफूकहाँ आउने अधिकांश महिलाले पहिलो गर्भ खेर गएको सुनाउने गरेको बताउँछिन्। सकेसम्म सन्तान जन्माउने योजना बनेपछि नै चिकित्सकको परामर्श लिनु उचित हुने उनको सुझ्ाव छ। (हे. बक्स) डा. पाण्डे भन्छिन्, “एक पटक गर्भपतन गरिसकेको वा खेर गएको छ भने त चिकित्सकको परामर्श लिनैपर्छ।” निसोजका महासचिव डा. दंगाल लगातार तीन पटक गर्भ खेर गएको छ भने चुनौतीको रूपमा लिनुपर्ने बताउँछन्।

गर्भ खेर गएपछि शरीर पहिलाकै अवस्थामा आउन समय लाग्ने भएकाले कम्तीमा ६ महीनासम्म अर्को गर्भको योजना बनाउन नहुने चिकित्सकहरू बताउँछन्। डा. ताम्राकार गर्भवती भएपछि पर्याप्त शारीरिक तथा मानसिक आराम गर्ने, लामो यात्रा नगर्ने, हाईहिल जुत्ता–चप्पल र कस्सिएका लुगा नलगाउने सुझाव दिन्छन्। होटल, रेस्टुरेन्टका खाना, जंक फूड, विषादीयुक्त खानाबाट समेत बच्नुपर्ने उनी बताउँछन्। गर्भ बसेपछिको शुरूको तीन महीना र पछिल्लो दुई महीना बढी संवेदनशील हुने भएकाले शारीरिक सम्पर्कबाट टाढा बस्न चिकित्सकहरू सुझाउँछन्।


महीनावारी रोकिनु पहिल्यै परामर्श

डा. सरोजा पाण्डे, स्त्रीरोग विशेषज्ञ

गर्भ तुहिनु आफैंमा ठूलो समस्या हो। तर, नेपालमा यसबारे विस्तृत अध्ययन गरिएको छैन। यो अध्ययन निकै खर्चिलो छ। वंशाणुगत, खानपान, जीवनशैली, संक्रमणलगायत विभिन्न कारणले गर्भ खेर जान्छ। केही सावधानी अपनाउन सके अनिच्छित गर्भपतनबाट जोगिन सकिन्छ।

अधिकांश महिला पहिलो गर्भ खेर गएर वा गर्भपतन गराएपछि अर्को गर्भ बसेको अवस्थामा मात्र परामर्श लिन आउने चलन छ। यतिबेलासम्म ढिलो भइसकेको हुन्छ। सम्भव भएसम्म गर्भ बस्नु अगावै चिकित्सकसँग परामर्श गर्नु उचित हुन्छ। केहीले यस्तो परामर्श लिन शुरु पनि गरेका छन्।

विवाहित जोडीले केही वर्ष बच्चा नजन्माउने हो भने परिवार नियोजनको साधन प्रयोग गर्नु राम्रो हो। किनभने गर्भपतन गराएपछि अर्कोपटक गर्भ खेर जाने जोखिम बढी हुन्छ। नगराई नहुने अवस्थामा मात्र सुरक्षित ठाउँमा गर्भपतन गराउनुपर्छ।

comments powered by Disqus

रमझम