९ -१५ साउन २०७३ | 24-30 July 2016

वाल फेसन

Share:
  

काठमाडौं सुकेधारस्थित विष्णु बस्नेतको घर।
'घर सजाउनु' नयाँ कुरा होइन। आफूसँग उपलब्ध सामग्री र आर्थिक हैसियत अनुसार सबैले घर सजाएकै हुन्छन्। तर, बदलिंदो समयसँगै शृगारका तौरतरिका फेरिएका छन्। फ्रेम गरिएका तस्वीर र पेन्टिङले भरिने कोठाका भित्ता अब हिमाल, पर्वत, झरना, फूल जस्ता मन परेका चित्रले भरिन थालेको छ।

सुकेधारा, काठमाडौंका विष्णु बस्नेतले घरको लिभिङ रुममा सगरमाथा र टेलिभिजन हेर्ने कोठामा अन्नपूर्ण हिमालसँगै घान्द्रुक झल्काउने चित्र बनाएका छन्। व्यवसायी बस्नेतले यूरोप यात्राका क्रममा घरमै बनाइएको यसखाले चित्रकला देखेका थिए। त्यसबाट लोभिएका उनले दुई महीनाअघि मात्र देश झल्काउने चित्र बनाउन लगाए। “घरमा आउने सबै चित्र देख्नेवित्तिकै खुशी हुँदै प्रशंसा गर्छन्” बस्नेत भन्छन्, “आफू बस्दा पनि आनन्द लाग्छ।”

कोठा आकर्षक बनाउन विभिन्न सजावटका सामग्री झुण्ड्याउने, फोटो वा मनमोहक दृश्यका पोष्टर टाँस्ने प्रचलन पहिलेदेखिकै हो। तर, पछिल्लो समय कोठाका भित्तामा पेन्टिङ गर्ने, वाल पेपरले सजाउने, बुट्टा भएका रङ लगाउने जस्ता प्रयोग गर्न थालिएको छ।

कोठाका पर्खाललाई रचनात्मक, आकर्षक र सुन्दर देखाउने कोशिश नै 'वाल फेसन' हो। इन्टेरियर डिजाइनर एसोसिएसनका अध्यक्ष सानुराजा शिल्पकारका अनुसार, वाल फेसनका विभिन्न तरीका छन्। जसमध्ये म्युरल पेन्ट, वाल पेपर तथा सुन्दर दृश्य बनाउने क्रम बढेको छ। वालको आकार, रकम र आयुलाई ध्यानमा राखी कस्तो सामग्री प्रयोग गर्ने निर्क्योल गर्न सकिन्छ। “छोटो अवधिका लागि वाल पेपर र पछिसम्मका लागि रङको प्रयोग उपयुक्त हुन्छ”, शिल्पकार भन्छन्। भित्तालाई आकर्षक बनाउन रङको संयोजन महत्वपूर्ण हुन्छ। त्यसैले रङको प्रकार मात्र होइन गुणस्तरमा पनि सचेत हुनुपर्छ।

पेन्टर ओमबहादुर विश्वकर्मा सौखिनका घरका भित्ता हिमाल, झरना तथा प्राकृतिक सौन्दर्यले सजिन थालेको बताउँछन् । भन्छन्, “धेरैले ग्राफिक तथा थ्रीडी पेन्टिङ गर्न लगाउँछन्।” विश्वकर्माका अनुसार, कोठाको एकातर्फको वालमा बनाइने यस्तो पेन्टिङका लागि चित्र, रङ र समयको लगानी अनुसार रु.८ हजारदेखि रु.४५ हजारसम्म लाग्छ।

म्युरल पेन्टिङ

भित्तामा चाहे अनुसारको कला बनाउनुलाई म्युरल पेन्टिङ भनिन्छ। लामो समय चित्रलाई भित्तामा राखिरहन चाहनेले म्युरल पेन्टिङकै सहायता लिनसक्छन्। यसरी बनाइएको पेन्टिङ कम्तीमा १० वर्षसम्म टिक्दछ। तर, कालिगड भने दक्ष हुनुपर्छ।

वाल पेपर

छोटो समयका लागि म्युरल पेन्टिङभन्दा वाल पेपरकै प्रयोग उचित मानिन्छ। यसलाई भित्तामा पूरै वा आवश्यकता अनुसार टाँस्न सकिन्छ। बजारमा विभिन्न दृश्य, रङ तथा आकारका वाल पेपर पाइन्छ। रङ लगाउन मिल्ने पेपर पनि आउन थालेको छ।

सविता श्रेष्ठ

comments powered by Disqus

रमझम