१५ बैशाख २०७० | 28 April 2013

आर्थिक कूटनीति कमजोर भयो

Share:
  

नेपाल समुद्रपार निकासी पैठारी संघका पूर्वअध्यक्ष अखिल चापागाई नेपाल–टर्की र नेपाल–अष्ट्रेलिया चेम्बर अफ कमर्सका अध्यक्ष छन्। विगत २५ वर्षदेखि अखिल ट्रेडिङ कन्सर्नमार्फत आयात–निर्यात व्यापारमा सक्रिय चापागाई विदेशस्थित नेपाली कूटनीतिक नियोगको कमजोरीका कारण नेपाली उत्पादनले अन्तर्राष्ट्रिय बजार पाउन नसकेको बताउँछन्। हिमाल का प्रभात भट्टराई र रमेश कुमारले नेपालको अन्तर्राष्ट्रिय व्यापारबारे उनीसँग गरेको कुराकानीको सारः

तस्वीर: मीनरत्न बज्राचार्य
विदेशी सामान ल्याउने होडमा निर्यात भन्दा आयात व्यापार निक्कै बढेको हो?

आयात घटाउन उत्पादन बढाउनुपर्छ। त्यसका लागि स्वदेशी उद्योगधन्दामा लगानी गर्न व्यवसायीको आत्मबल बलियो हुनुपर्छ। जुन अहिलेको राजनीतिक अस्थिरतामा सम्भव छैन। उत्पादन नभए पनि मानिसले उपभोग्य वस्तु त खोज्छन् नै। आम मानिस धनी भएर नभई जनसंख्या वृद्धिले माग बढाएकाले आयात बढेको हो। उद्योगधन्दाको विकासमा भन्दा आयातीत वस्तुबाट प्राप्त हुने राजस्व केन्द्रित नीति अद्यापि कायम छ। धेरै भन्सार तिरेर महङ्गो सामान ल्याइदिंदा अर्थमन्त्रालयका अधिकारीहरू राजस्व बढ्यो भनेर मक्ख पर्छन्। त्यसैले लगानीको वातावरण नबनाउन्जेल आयात झनै बढ्ने देखिन्छ।

विलासी वस्तुको आयात चाहिं किन धेरै बढेको?

महङ्गा गाडी तथा विद्युतीय उपकरण बाहेकका विलासी सामान त्यति धेरै आएका छैनन्। धेरैजसो दैनिक उपभोग्य वस्तु छन्। जस्तो दाल, चामल, तरकारी जस्ता अपरिहार्य वस्तुकै आयात धेरै छ नि! फेरि हिजो विलासिताको वस्तु मानिने मोटरसाइकल आज त धेरैका लागि अपरिहार्य वस्तु भएको छ। त्यसैले केलाई विलासी, केलाई अपरिहार्य भन्ने मनोविज्ञानमा परिवर्तन जरुरी छ।

तपाईं चाहिं के–के आयात गर्नुहुन्छ?

२५ वर्षदेखि आयात–निर्यात व्यापारमा छौं। शुरूका केही वर्ष जर्मनीमा गलैंचा निर्यात गरेकोमा बजार नबढेपछि छोड्यौं। विगत पाँच वर्षदेखि कागजबाट निर्मित सामान फ्रान्समा निर्यात गर्दै आएका छौं। अहिले हामी करीब १५ मुलुकबाट फाष्ट मुभिङ कन्जुमर गुड्स (एफएमसीजी), तयारी पोशाक, फर्निचरलगायतका वस्तु आयात गर्छौं। विश्वमा ख्यातिप्राप्त करीब एक दर्जन वस्तुको हामी आधिकारिक बिक्रेता छौं। हामीले थाइल्याण्डबाट आयात गरेको खाओसाङ ब्राण्डको तयारी कफी नेपालको बजारमा दोस्रो नम्बरमा छ। सुभारी, रोडीमुड, कोलिन्सलगायतका ब्राण्डको कपडा आयात गर्छौं भने टर्कीको विश्व प्रसिद्ध फर्निचर इस्टिकबाल शोरुम युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा स्थापना गरेका छौं।

हस्तकलाको निर्यात बढाउन तपाईंहरू जस्ता अन्तर्राष्ट्रिय नेटवर्क भएका व्यवसायीबाट कस्तो पहल भएको छ?

नेपाल–टर्की चेम्बर अफ कमर्सका सदस्यहरूले गत वर्ष कम्तीमा एक लाख डलरको तयारी पोशाक, विभिन्न डिजाइनका टोपी जस्ता वस्तु निर्यात गरे। हाम्रो जोड निर्यातमा नै हो। जस्तो फ्रान्सबाट वाइन आयात गर्न थालेपछि नेपाली कागजको झोला निर्यात गरिरहेका छौं। त्यही कागजमा उनीहरूले वाइनको बोतल ग्राहकलाई र्‍याप गरेर दिन्छन्। लगानी ल्याउन र उद्योगधन्दा विस्तारमा पनि पहल भइरहेको छ। तर, त्यसका लागि हाम्रो राजनीति सकारात्मक भइदिएन। तीन/चार वर्षअघि नेपाल उद्योग वाणिज्य महासंघ र टर्की चेम्बर अफ कमर्सबीचको छलफलमा नेपालमा प्रशस्त सम्भावना भएको बताएपछि उनीहरुले लगानीको संभाव्यता अध्ययनका लागि तत्कालै आउने बताएका थिए। तर हामी फर्केलगत्तै भएको लगातारको ५/६ दिन बन्द–हड्तालको खबर सुनेपछि उनीहरूले आउन नसक्ने सन्देश पठाए।

निर्यात व्यापारको बढोत्तरीका लागि तपाईंले नै प्रतिनिधित्व गर्ने द्विराष्ट्रिय चेम्बर अफ कमर्सहरूको भूमिका चाहिं कस्तो हुन्छ?

यस्ता चेम्बर अफ कमर्सका भूमिका दुई देशबीच मात्र सीमित हुन्छन्। कार्टेलिङ र सिण्डिकेट विरुद्ध काम गर्ने हामीले चाहेको तथ्याङ्क तुरुन्त पाउन सक्दैनौं। जस्तै नेपालमा टर्कीबाट के के आयात हुन्छ भनेर जानकारी माग्यौं भने ६ महीना पुरानो तथ्याङ्क पाउँछौं तर टर्कीका व्यापारीसँग माग्दा ताजा तथ्यांक दिन्छन्। यसरी सूचनाको कमीले पनि हामीलाई अपडेट हुन तथा समस्या समाधान गर्न अप्ठेरो पारेको छ।

स्वदेशी वस्तुको अन्तर्राष्ट्रिय प्रबर्द्धन र स्वदेशमा लगानी भित्र्याउन विदेशस्थित कूटनीतिक नियोगको प्रयास कस्तो पाउनुभएको छ?

दूतावासहरूले विदेशमा नेपाली वस्तुको बजार खोज्न सकिरहेका छैनन्। विदेशमा नेपाली उत्पादनको मार्केटिङ गर्ने व्यवसायीबाहेक अरू छैनन्। नेपाली उत्पादनलाई व्यापारीको सम्पत्तिको रूपमा लिने दूतावासको सोचले गर्दा हाम्रो आर्थिक कूटनीति फितलो भएको हो। नेपालमै भएका विदेशी दूतावासहरू आफ्ना देशका वस्तु ल्याउन हामीसँग आग्रह गर्छन्। विदेशी कम्पनीमा केही समस्या आउनासाथ ती देशका राजदूतको सक्रियता बढेको नेपालमा देखेकै छौं। जुन काम हाम्रा नियोगहरुले गर्न सकेका छैनन्। दूतावासको रिसेप्सनमा दुई वटा दराज राखेर नेपाली पस्मिना, हस्तकलालगायतका सामान राखौं, विदेशीलाई चिनाऔं भनेर प्रस्ताव गर्दा कतिपयले 'मान्छे बस्ने त ठाउँ छैन दराज राख्ने' भन्दै उल्टो जवाफ दिने गरेका छन्।

नेपाल विश्व व्यापार संगठन (डब्लुटीओ) को सदस्य भएपछि भन्सारका अप्ठ्यारा घटेका छन् त?

डब्लुटीओमा प्रवेशपछि भन्सार दर कम हुँदै जानुपर्छ र भ्याट प्रणाली बलियो बनाउनुपर्छ। तर, हामीकहाँ अन्तर्राष्ट्रिय प्रतिबद्धता बमोजिम भन्सार महसुल अझ्ौ नघटाएको मात्र होइन, अन्तशुल्क जस्ता अतिरिक्त कर समेत लगाउँदै आएको छ। त्यसैले एकातिर भन्सारको उच्च दर र अर्कोतिर खुला सिमानाका कारण भारतबाट तस्करी भएर आउने सामानसँगको प्रतिस्पर्धाले गर्दा कानूनको सीमाभित्र रहेर व्यवसाय गर्नेसँग धेरै कठिनाइ छन्।

अब कुन क्षेत्रमा लगानी गर्ने योजना छ? पर्यटन र कृषिमा लगानी गर्न लागेका छौं। नेपालका लागि विदेशी मुद्रा आर्जन गर्ने भरपर्दो माध्यम पर्यटन नै हो। पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले 'रिक्रियसनल प्याकेज' सहित काभे्रमा रिसोर्ट सञ्चालन गर्ने र आधुनिक कृषि फर्म खोल्ने तयारीमा छौं।

comments powered by Disqus

रमझम