१६–३२ असार २०६७ | 30 June-16 July 2010

राष्ट्रसंघमा माओवादी बाल छापामारको बयान

Share:
  
- एकल सिलवाल
महासचिव वान की मूनको युद्धमा बालबालिका प्रयोगको अपराधसम्बन्धी प्रतिवेदन पारित गर्ने सुरक्षापरिषद् बैठकमा नेपालकी सीता तामाङको उपस्थिति र माओवादी ज्यादतीको भण्डाफोर ।

चितवनकी १८ वर्षीया सीता तामाङ गएको २८ जेठ बिहान सधैँभन्दा चाँडो उठिन् । उनलाई बिहान पाँचै बजे काठमाडौंको बस समात्नुथियो । एक साताका लागि हिँडेकी छोरीलाई बाबुआमाले ‘उतै नबस्नू, पढाइ छुट्छ, चाँडै फर्कनू’ भनेर बिदा गरे । बसबाट काठमाडौं ओर्लनासाथ उनी सरासर पुल्चोकस्थित राष्ट्रसंघको कार्यालय गइन् । नेपालका लागि संयुक्त राष्ट्रसंघीय मिसन, अनमिन प्रमुख करिन लेनग्रेन र संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) प्रतिनिधि जिलियन मेलसोप उनको प्रतीक्षामा थिए । दुवैले उनलाई स्नेहपूर्वक स्वागत गरे । लेनग्रेनले ‘आफ्ना कुरा नडराई राख्नु भनेर’ सम्झइन् । जिलियनले सफल यात्राको कामना गरिन् ।

सीताको मनमा कुनै डर थिएन, सानैदेखि सुनेको अमेरिकाबारे थुप्रै खुल्दुली भने थियो । भोलिपल्ट बेलुका पाँच बजे उनी अनमिनकै एक कर्मचारीका साथ काठमाडौंबाट उडिन् । बस पनि कहिलेकाहीं मात्र चढेकी सीतालाई हवाईजहाजमा रिँगटा लागेर वान्ता होला कि भन्ने डर थियो, तर केही भएन । उनीहरू चार घण्टाको यात्रापछि राति १० बजे कतारको दोहामा पुगेर होटलमा बसे । सीतालाई कतार देश टाढा जस्तो लागेन । भोलिपल्ट बिहान दोहाबाट अर्को विमानमा समुद्र माथिमाथि १५ घण्टा उड्दा चाहिँ अमेरिका भन्ने देश निकै टाढा रहेछ भन्ने लाग्यो । तर, विमानमा राम्रैसँग निद्रा लागेकाले समय काट्न गाह्रो भएन ।

अमेरिकाको न्युयोर्कमा रैथाने जस्तै भइसकेका एक नेपालीकै घरमा सीतालाई बस्ने बन्दोवस्त मिलाइएको रहेछ । विमानस्थलबाट ट्याक्सीमा आधा घण्टापछि बस्ने ठाउँ पुग्दा उनलाई खासै बिरानो लागेन, तर दैनिकी परिवर्तनले केही बिरामी बनायो । रातको साटो दिनमा निद्रा लाग्ने, टाउको दुख्ने, ज्वरो आउने भएपछि लगातार दुई दिन घरमै आराम गरिन् । तेस्रो दिन महासचिव वान की मूनका बालबालिका तथा सशस्त्र द्वन्द्वसम्बन्धी विशेष प्रतिनिधिका रूपमा कार्यरत श्रीलङ्काकी प्रखर प्राज्ञ तथा चर्चित अधिकारकर्मी राधिका कुमारास्वामीसँग भेट गर्न राष्ट्रसंघको मुख्यालय गइन् । कुमारास्वामीका लागि माओवादीद्वारा पटक–पटक अपहरित (हे.हिमाल, १६–२९ माघ २०६६) सीता निकै महŒवपूर्ण अतिथि थिइन् । भोलिपल्ट हुने राष्ट्रसंघीय सुरक्षापरिषद्को ६३४१ औं बैठकमा विशेष वक्ताका रूपमा न्यूयोर्क पुगेकी सीता, कुमारास्वामीकै कार्यालयको निम्तालु पनि थिइन् । कुमारास्वामीले नेपालमा नेकपा माओवादीले १०वर्षे हिंसात्मक विद्रोहकालमा गरेको बालअधिकार हनन् र आफ्नो भोगाइबारे नडराई बोल्न प्रोत्साहित गरिन् ।

३ असार (१६ जून) बिहान ठीक १०ः१५ बजे राष्ट्रसंघ मुख्यालयमा संसारभरका द्वन्द्वपीडित बालबालिकाबारे ६० देशका प्रतिनिधिको उपस्थिति भएको सुरक्षापरिषद् बैठक शुरु हुँदा कुमारास्वामीसँगै संसारकै शक्तिकेन्द्रका रूपमा रहेको सुपरिचित सुरक्षापरिषद् चेम्बरमा बसेकी सीता राष्ट्रसंघले छानेको हिंसात्मक द्वन्द्वको चपेटामा परेका विश्वभरका बालबालिकाको प्रतिनिधिपात्र थिइन् । कुमारास्वामीले आफ्नो मन्तव्यको क्रममा सीताको उपस्थितिको महŒव प्रस्ट्याउँदै नेपालको सशस्त्र द्वन्द्वमा प्रयोग भएका बालसैन्यको पुनस्र्थापना प्रक्रिया जटिल भएको धारणा राखिन् । त्यसपछि शुरु भयो, माओवादीको बाल सैनिक दस्तामा सीताले बेहोर्नुपरेको तीनवर्षे सास्तीको बयान । उनले अभिभावक, साथीसँगको बिछोड, कडा शारीरिक श्रम, कठोर सैन्य तालिम, भागे मारिदिने धम्की, सरकारी सेनाले थाहा पाए आमाबाबु समेतलाई मार्न सक्ने त्रास, फुत्किएर घर फर्केपछि परिवार र समाजले गरेको चित्त दुख्ने व्यवहार, फेरि माओवादीमा फर्कंदा खेपेको यातना आदि सुनाउँदा सिङ्गो बैठक स्तब्ध बन्यो । २० मिनेटको आफ्नो नेपाली मन्तव्य उनले माओवादीको बालसैन्य प्रयोग र तिनीहरूमाथि भएको अन्तर्राष्ट्रिय कानून र मानवीयता विरुद्धको ज्यादतीलाई दोभाषेको सहयोगमा विश्वको अगाडि राखिन् ।

त्यसपछिका वक्ताहरूले सीताकै बयानमा आधारित भएर बालसैन्य प्रयोग गर्ने पक्षहरूलाई जिम्मेवार बनाउन सुरक्षापरिषद्ले कडा प्रस्ताव पारित गर्नुपर्ने धारणा राखे । बैठकमा अमेरिकाकी स्थायी प्रतिनिधि (एम्बेसडर) सुसन राइसले १९औं शताब्दीका युद्धविरोधी दार्शनिक फ्रेडरिक डग्लसलाई उद्धृत गर्दै ‘बिग्रेका मान्छेहरूलाई सुधार्नुभन्दा बालबालिकालाई बलियो बनाउन सजिलो हुन्छ’ भनेर भविष्यप्रति आशा जगाउन खोजिन् । संसारका सशस्त्र द्वन्द्वमा फँसाइएका बालबालिकालाई सीताको बाटोमा ल्याउन राष्ट्रहरू एकजुट हुनुपर्ने आशय व्यक्त गर्दै उनले सीताको प्रशंसा गरिन् । हिंसात्मक द्वन्द्वमा अधिकार हनन् भएका बालबालिकालाई पुग्ने दीर्घकालीन चोट, मानसिक आघात र सामाजिक–बौद्धिक क्षतिले जीवनभर पछ्याइरहने उनको भनाइ थियो ।

बैठकको अध्यक्षता गरिरहेकी मेक्सिकोकी वैदेशिक मामिला सचिव प्याट्रिसिया एस्पिनोसा क्यान्टेलानोले सशस्त्र द्वन्द्वमा बालबालिकाविरुद्ध हुने अपराध, युद्ध–अपराध भएको स्मरण गराउँदै बालअधिकार मिच्न नछाडेका पक्षहरूविरुद्ध कडा अन्तर्राष्ट्रिय अभियोजनको प्रस्ताव गरिन् । केही वक्ताले शान्ति प्रक्रियामा आएको नेपालको माओवादीले आफूलाई बालअधिकार हनन् गर्ने पक्ष नभएको प्रमाणित गर्न धेरै काम गर्न बाँकी रहेको बताए । केहीले सीताको प्रस्तुतिलाई प्रमाण बनाएर दोषीहरूमाथि युद्ध–अपराधको अभियोगमा कारबाही चलाउनुपर्ने धारणा राखे । बैठकमा हिंसात्मक द्वन्द्व र बालबालिकासम्बन्धी विशेष बैठकमा राष्ट्रसंघको सर्वोच्च अङ्ग सुरक्षापरिषद्का १५ सदस्य राष्ट्रमध्ये निषेधाधिकार प्राप्त पाँच स्थायी सदस्य अमेरिका, बेलायत, फ्रान्स, रूसी महासंघ र चीनसहित ६० देशका ५९ प्रतिनिधिले आ–आफ्ना धारणा राखेका थिए ।

बैठकमा राष्ट्रसंघीय बालकोष युनिसेफका उपकार्यकारी निर्देशक हिल्डे जोन्सनले द्वन्द्वका बेला बालअधिकार हनन् गर्नेहरूलाई जवाफदेही बनाउन अनुगमन संयन्त्र बलियो बनाई तथ्यपूर्ण विवरण जुटाउनुपर्ने सुझव सदस्य राष्ट्रहरूलाई दिए । यसैगरी, शान्ति स्थापना कार्यक्रमका लागि राष्ट्रसंघीय सहायक महासचिव अतुल खेरले सशस्त्र द्वन्द्वमा परेका बालबालिकाहरूको मुद्दालाई शान्ति स्थापनाका सबै तहमा स्थापित गर्न संसारका नौ वटा राष्ट्रसंघीय मिसनमा सल्लाहकारको व्यवस्था गरिएको जानकारी दिए, जसमा नेपालको अनमिन पनि पर्छ । तर, बैठककी विशेष वक्ता सीताप्रति आफ्नै देशका सरकारी प्रतिनिधि शङ्करदास बैरागीले यति उपेक्षाभाव देखाए कि धन्यवादसम्म नदिएर उनको उपस्थितिप्रति असन्तुष्टि जनाएको सङ्केत दिए । यसबारे केही महिला सहभागीले आफूसँग अनौपचारिक टिप्पणी गर्दा लज्जित हुनुपरेको सीताले बताइन् ।

चितवन—न्यूयोर्क—चितवन

जेवी पुन मगर
एमाओवादीले सात महिनाअघि नेपाल सरकार र राष्ट्रसंघसँग बाल सैनिक पुनस्र्थापना कार्ययोजनामा सम्झैता गरेर आफ्ना सात मुख्य र २१ सहायक शिविरका १८ वर्षमुनिका २३९४ पूर्व लडाकूलाई बिदा गरेको छ । तर, यो नै मात्र पनि काफी भने होइन । किनकि, बाल सेनाको गलत अभ्यास भिœयाएको उसले यस विषयमा नेपालमा सुरक्षापरिषद्को ध्यानाकृष्ट गरिसकेको छ । कुल ४००८ त्यस्ता लडाकूमध्ये १६१४ जनाले यसअघि नै शिविर छाडेको बताइयो । कतिपय अवस्थामा संयुक्त राष्ट्रसंघको साधारणसभाको निर्णयलाई अटेर गर्न सकिए पनि सुरक्षापरिषद्ले नै चासो राखिसकेको विषयलाई सदस्य राष्ट्रहरूले अनिवार्य अवलम्बन गर्र्छन् । राष्ट्रसंघका लागि नेपालका पूर्व स्थायी प्रतिनिधि जयराज आचार्यका भनाइमा, अब सबैखाले बालअधिकार रक्षाको ग्यारेन्टी नै विश्व निगरानीबाट बच्ने उपाय हुनसक्छ । उनी भन्छन्, “यस्ता विषयमा मानवअधिकारका क्षेत्रमा कार्यरत गैरसरकारी सङ्गठनहरूको लवी पनि कुनै शक्तिशाली राष्ट्रको जस्तै प्रभावशाली हुन्छ, जसले नेपाललाई अन्तर्राष्ट्रिय आलोचना र बद्नामीको तारो बनाइरहन सक्छ ।”

सीता राष्ट्रसंघ–सरकार–माओवादी कार्ययोजना अन्तर्गत गत माघमा बाल छापामारहरूको पुनःस्थापनाअघि नै बन्दूकले तोडेको सपना जोड्न घर फर्किएकी थिइन् । तर, सुरक्षापरिषद् बैठकमा उनैलाई प्रस्तुत गरिएको घटनाले नेपालका माओवादीहरूबाट भएका र हुनसक्ने बालअधिकार हनन्प्रति शक्तिशाली विश्व संस्था कति गम्भीर छ भनेर बुझन सकिन्छ । यस हिसाबले सीताको कथा दोस्रो पटक सरकारको नेतृत्व गर्न अग्रसर एमाओवादीको राजनीतिक भविष्यलाई प्रभाव पार्न सक्ने कडी पनि हुन सक्छ । पोलिटब्यूरो सदस्य अग्नि सापकोटाले हालै अमेरिका भ्रमणको भिसा नपाएको घटनामा पनि माओवादीलाई हेर्ने अन्तर्राष्ट्रिय दृष्टि प्रतिविम्बित भएको हुनसक्छ ।

राष्ट्रसंघका महासचिव वान की मूनको सशस्त्र द्वन्द्व र बालबालिकासम्बन्धी एक महिनाअघि प्रकाशित प्रतिवेदनमा पछिल्लो पाँच वर्षमा बालसैन्य प्रयोग जारी राखेका एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका विभिन्न १६ सङ्गठन र सशस्त्र समूहको नाम परेको छ, जसमा एमाओवादी छँदैछ । तीमध्ये फिलिपिन्सको मोरो इस्लामिक मुक्ति मोर्चा, सुडानको जनमुक्ति सेना र नेपालको माओवादीले बाल सैनिक फिर्तामा सहमति जनाएका र तिनबाट १२ हजार ५०० बालबालिकाले समाजमा फर्कने अवसर पाएका छन् । अहिले यी तीन पूर्वविद्रोही समूह एउटै परीक्षामा छन् । किनकि, उनीहरू जिम्मेवार नहुँदासम्म पूर्व बाल छापामारहरूको सामाजिक जीवन सहज हुँदैन । यस हिसाबले सुरक्षापरिषद्मा सीताले खोतलेको इतिहास माओवादीलाई सुध्रने अवसर पनि हो ।

अपहरित भएर माओवादी सेनामा बिताएको तीनवर्षे बाल्यकाल सम्झ्ँदा अहिले पनि झ्स्किने सीतालाई राष्ट्रसंघको सुरक्षापरिषद्को बैठकमा उनी प्रस्तुत भएबाट उनको सुरक्षा जोखिम पनि बढाएको छ । सीतामाथिको एमाओवादी र उसका कार्यकर्ताहरूबाटको सम्भाव्य खतराको पूर्वानुमान गरेरै हुनसक्छ, राष्ट्रसंघले उनको अमेरिका यात्राबारे नेपालमा चलन विपरित धेरै प्रचारबाजी गरेन र उनलाई सुरक्षापरिषद्मा वास्तविक नाम परिवर्तन गर्दै ‘मञ्जु गुरुङ’का रूपमा प्रस्तुत गरेको बुझन सकिन्छ, तर यति नै पर्याप्त छैन । आफैँले उनको तस्बिर, भिडियो र उनी बारेको न्यूज रिपोर्ट सार्वजनिक गरिसकेको अवस्थामा नेपालका सञ्चारमाध्यमहरूले मात्र यो प्रकरणलाई सार्वजनिक नगरिदेओस् भनेर राष्ट्रसंघ उम्कन पाउँदैन । नाम उल्लेख गर्न नचाहने एक नेपाली विश्लेषक भन्छन्, “यहाँको आफ्नो काम देखाउन पूर्व बालसेनालाई न्यूयोर्कमा लगेर मार्केटिङ गर्ने अनि नेपाली जनताले चाहिँ थाहा नपाउन् भनेर आश गर्नु आफैँमा विरोधाभासपूर्ण कुरा हो ।” एमाओवादीले हालसम्म सहिष्णुता अङ्गीकार गरिनसकेको अवस्थामा सीताको सुरक्षाका लागि राष्ट्रसंघको जिम्मेवारी बढेको ती विश्लेषकको ठम्याइ छ ।

सीतालाई अमेरिकाको वैभव दोहो¥याएर हेर्ने कुनै इच्छा छैन । बरु माओवादीले जस्तै संसारभर युद्धमा प्रयोग गरेका आफू जस्ता हजारौं बालबालिकाको भविष्य चुनौतीमुक्त भएको देख्ने चाहना भएको उनले हिमाल सँग बताइन् । अहिले उनी आफ्नै गाउँमा कक्षा ९ मा पढिरहेकी छन् । साथै एउटा क्लबमार्फत बालअधिकारको वकालत गर्ने र एचआईभी÷एड्सबारे जनचेतना जगाउने काममा पनि उनी सक्रिय छिन् । सीताले अन्तिम पटक माओवादी शिविर छाडेर शरण लिएको गैरसरकारी संस्थाले उनका बाबुआमालाई पनि आयआर्जनमा सघाएको छ । त्यसैको माध्यमबाट उनको घाँटीको अप्रेसन भइसकेको छ । आफ्नो झ्ुपडीबाट निस्किएको १० दिनमा न्यूयोर्कका गगनचुम्बी महलहरू नियालेर पूर्वी चितवनमा रहेका बाबुआमाकै काखमा फर्किएकी सीता भन्छिन्, “अबको लक्ष्य एउटै छ, पढ्ने र भविष्य बर्बाद भएका साथीहरूको जीवनमा उज्यालो छर्ने ।”


सीता तामाङको सुरक्षा

हिमाल ले १६–२९ माघको आवरण रिपोर्ट ‘होलटाइमरको चिठी’ मा पूर्व बाल लडाकू ‘सीता तामाङ’ बारे लेखेको थियो । माओवादीको हतियारधारी दस्ताबाट घर भाग्दा फर्कन दबाब परेकोदेखि उनको सामाजिक र पारिवारिक पुनस्र्थापनाको चर्चा थियो लेखमा । त्यही आवरण रिपोर्टमा प्रस्तुत अन्य पूर्व–छापामारहरूको दाँजोमा सीताको अवस्था उत्साहवद्र्धक थियो । संयुक्त राष्ट्रसंघ, युनिसेफको सहयोगमा उनी आफ्नो खुट्टामा उभिन सफल भएकी थिइन् ।

उनै सीता तामाङलाई ‘मञ्जु गुरुङ’ नाम दिएर संयुक्त राष्ट्रसंघको अनमिन र युनिसेफले पूरै संसारसामु प्रकट गरायो— आफ्नो बाल सैन्य भर्ती तथा युद्धको बेलाको पीडा सुनाउन । यसो गर्दा उनले संसारभर अमानवीय र गैरकानूनी हिसाबले लडाइँमा होमिन बाध्य पारिएका दशौं लाख बाल सैनिकको प्रतिनिधित्व गरिरहेकी थिइन् । औपचारिक क्रियाकलापमा यसअघि नेपाली पदाधिकारीले मात्र बस्न पाएको सुरक्षापरिषद्को ‘राउण्ड टेबुल’ मा पूर्वी चितवनकी यी युवाले आफ्नो विचार खुलस्त राखिन् ।

वयस्क भइसकेकी १८ वर्षीया ती युवतीले आफ्नो नाम प्रयोग गर्न हामीलाई अनुमति दिएको भएपनि सीता तामाङको यो अनुभवलाई यस अङ्कमा प्रस्तुत गर्दा हिमाल सम्पादक मण्डललाई उनको सुरक्षाबारे चिन्ता हुनु स्वाभाविक थियो । वास्तवमा ‘मञ्जु गुरुङ’ले सुरक्षापरिषद्सामु दिएको विस्तृत बयान राष्ट्रसंघको सशक्त सञ्चारमाध्यमद्वारा तस्बिर र भिडियोको रूपमा संसारसामु पेश भइसकेको र इन्टरनेटमा पनि उपलब्ध छ । संसारलाई उपलब्ध सीता तामाङको विचार नेपाली जनतासामु पनि राख्नुपर्छ भन्ने हाम्रो मान्यता रह्यो । त्यो किनपनि भने, यी साहसी युवाको अनुभवको सबैभन्दा बढी सरोकार शान्तिप्रक्रिया नटुङ्गिइसकेको अवस्थामा रहेको नेपाली जनसमुदायको हो ।

संसारसामु प्रस्तुत सीता तामाङको तस्बिरलाई नेपालमा ‘मञ्जु गुरुङ’ भनेर बताउन हामीले उचित ठानेनौं, र केही गहिरो चिन्तनपश्चात् उनले अनुमति दिएको सन्दर्भमा वास्तविक नाम प्रयोग गर्ने निर्णय ग¥यौं । फेरि उतिबेला हामीले नचिनिउन् भनेर आधा अनुहार देखिने गरी तस्बिर छापेको सीताको बुझ्निे गरीको तस्बिर राष्ट्रसंघले नै सार्वजनिक गरिदिएकाले उनको पहिचानलाई ‘गोपनीय’ नै बनाइराख्नुपर्ने हिजोको सन्दर्भ पनि अब रहेन । यति हुँदाहुँदै पनि यी साहसी पूर्व लडाकूको सुरक्षाका लागि सरकारी संयन्त्रको जिम्मेवारी त छँदैछ, न्यूयोर्कसम्म लगेर सुरक्षापरिषद्मा प्रस्तुत गर्ने अनमिन तथा युनिसेफले पनि यसबारे विशेष ध्यान दिनैपर्ने हुन्छ । आखिर तस्बिर र भिडियो सार्वजनिक गरिसकेपछि ‘सीता’ बाट ‘मञ्जु’ र ‘तामाङ’ बाट ‘गुरुङ’ बनाइदिँदा मात्र राष्ट्रसंघले आफ्नो अभिभारा पूरा गरेको भन्न मिल्दैन ।

सीता तामाङको सामाजिक पुनस्र्थापनका लागि यसअघि पनि युनिसेफले राम्रो भूमिका निर्वाह गरेको हो । पूरै विश्वका बाल योद्धाहरूको प्रयोग र पीडाबारे संसारकै रङ्गमञ्चमा सशक्त प्रतिनिधित्व गरेकी सीताको सुरक्षाका लागि मात्र नभई उनको पठनपाठन तथा जीवन उत्थानको लागि राष्ट्रसंघ तथा विभिन्न राष्ट्रिय संघसंस्थाहरू क्रियाशील हुनुपर्छ भन्ने हाम्रो ठम्याइ हो । यतिको साहसी र सक्षम महिलाको नेपाली शान्ति प्रक्रिया र विश्व शान्तिको लागि योगदान ‘अनाम पात्र’ को रूपमा बिर्सने अवस्था उत्पन्न हुन दिनुहुन्न भन्ने पनि हाम्रो विचार रह्यो । अतः यस रिपोर्टकी मूल पात्रको अनुमति तथा माथिका तर्कसहित नाम खुलासा गर्ने निर्णयमा हामी पुग्यौं ।

सम्पादक


‘दुःखी, निराश र बर्बाद बनाए’

मैले सबभन्दा पहिला २०५९ सालतिर माओवादीहरूलाई देखेकी थिएँ । त्यसबेला कक्षा ४ मा पढिरहेकी म शायद ११ वर्ष जतिकी थिएँ । त्यतिखेर उनीहरूले ‘एक घर, एक सदस्य’ अभियान चलाएका थिए । छिमेकी गाउँमा उनीहरूले आयोजना गरेको कार्यक्रममा हरेक घरबाट एक जना अनिवार्य उपस्थित हुनुपर्ने उर्दी थियो । बा–आमा कामले नभ्याउने भएपछि म आफैं जान बाध्य भएँ । उनीहरूले ‘बुर्जुवा शिक्षाको काम छैन, हामीसँग हिँड’ भन्दै फर्कन दिएनन् ।

त्यसपछि कता–कता डुलाए थाह छैन, तर सात दिनमा डिहीटारमा मेरै काकाको घर पु¥याए । म एकदमै डराएकी थिएँ । कसो–कसो आमालाई सानो चिठी लेख्न भ्याएँ । अर्को बिहान आमा आएर रोइकराई गरेर लैजानुभयो । एक दिन स्कूल गएको बेला दिउँसो माओवादीहरू घरैमा आएर ‘जसरी पनि लैजान्छौं, नमाने मारिदिन्छौं’ भनेर गएको थाहा पाएँ, झ्न् डर लाग्यो । स्कूल जान त छाडिनँ तर मन डराएकाले राम्ररी पढ्न सकिनँ ।

युुद्धविरामका बेला २०६० को असारमा उनीहरूले नारायणगढमा आमसभा आयोजना गरे । स्वयम्सेवकका लागि विद्यार्थी पठाउन हाम्रो स्कूलमा पनि उर्दी लगाएपछि गएका हामीलाई कार्यक्रमपछि जबर्जस्ती धादिङतिर लगे । त्यहाँबाट धम्क्याउँदै रातदिन हिँडाए । यसरी हिँड्दा कहिलेकाहीँ बाटोमा बालबालिकाहरू स्कूल गएको देख्थेँ । आफू भने हतियारको भारी बोकेर हिँड्नुपथ्र्यो । त्यसबेला मलाई बालबालिकाको पनि अधिकार हुन्छ, १३ वर्षकी केटीलाई बाल सैनिक बनाउनु अपराध हो भन्ने कुरा थाहा थिएन । माओवादी कमाण्डरहरू गाउँका मानिसलाई आफ्नो पक्षमा पार्न हामीलाई सडक र खेतबारी खन्न लगाउँथे । ठूल्ठूला ढुङ्गा बोकाउँथे । गाउँलेहरूसँग खाना मागेर खान सिकाउँथे ।

६ महिनापछि तालिमका लागि कामीटार ल्याएको थाहा पाएर बुबा लिन आउनुभयो, तर उनीहरूले जान दिएनन् । त्यहाँ हामीलाई कठोर सैन्य तालिम दिए । भनेको नमाने वा भागे मारिदिने बताउँथे । त्यही क्रममा ६ फिट अग्लो ठाउँबाट हामफाल्दा नराम्ररी घाइते भएँ । त्यही घटनापछि मुटु दुख्ने रोग लाग्यो । त्यसमाथि, आँखामा मासु पलाउने र गलगाँडको समस्या थपिए । र पनि, मलाई तालिममा दोस्रो भयौ भन्दै धादिङ लगेर युद्धका लागि हौस्याउन सेक्सन कमाण्डर बनाए । लडाइँमा हामी जस्ता बाल सैनिकलाई अगाडि लगाएर कमाण्डरहरूले पछाडिबाट आदेश दिन्छन् भन्ने बुझ्सिकेकी थिएँ ।

प्रत्यक्ष लडाइँ गर्नु नपरे पनि बन्दूक, बम र बन्दोवस्तीका सामग्री बोकेर रातबिरात उकालो–ओरालो, भीरपहरा र डाँडापाखा गर्नुपथ्र्यो । यही क्रममा एकपटक बेहोस भएर लडेपछि उनीहरूले घटुवा गरेर भान्सेमा झरेका थिए । २०६१ को जेठमा फेरि युद्धविराम भएपछि चितवनमा क्याम्प बनाएर राखे । शान्तिसम्झैतापछि शक्तिखोर शिविरमा लगे । शक्तिखोरबाट तीन दिनको बिदा स्वीकृत गराएर फेरि नफर्कने र पढाइ थाल्ने सुरले घर फर्कें, तर दुःख गरेर तलब पाउने बेलामा नसकेर आ’की भन्दै गाउँमा सबैले कुरा काट्न थाले । आमाले पनि पढाउन नसक्ने भन्नुभयो । माओवादीले यसरी मलाई दुःखी, निराश र बर्बाद बनाएका थिए ।

त्यसरी दिक्क लागेर शिविरमा फर्कंदा ‘विवाह ग¥यौ भने रोगहरू निको हुन्छ’ भन्दै दबाब दिन थाले । नमान्दा बेस्सरी यातना दिएपछि फेरि ‘जेसुकै होस् घरमै मर्छु’ भन्ने सोचेर शिविर छाडेँ । तर, दिनदिनै फोन गरेर धम्क्याउन थाले । अटेर गरेर बसेकी थिएँ, एक दिन घरैमा आएर लिएर गए । शिविर पुगेपछि कारबाहीको कुरा गर्न थाले । त्यसको दुई दिनपछि बिरामी अवस्थामै नारायणगढ भागेँ । मनमा जसरी पनि पढ्छु भन्ने थियो । कसरी–कसरी त्यहाँ एउटा समुदायमा आधारित पुनस्र्थापना कार्यक्रमको सम्पर्कमा पुगेँ । सीपमूलक तालिम र पढाइमध्ये एउटा रोज्न लगाउँदा मैले पढाइ रोजें । कार्यक्रममार्फत नै आमाबुबालाई पनि आय वृद्धिका लागि बंगुरहरू उपलब्ध भयो । बाबुआमालाई बंगुरपालनमा सघाउँदै अहिले कक्षा ९ मा पढ्दैछु । बाल क्लबको अध्यक्ष पनि बनेकी छु । तर, माओवादीको डर भने अझ्ै पनि ज्यूँका त्यूँ छ ।

(सीताले सुरक्षापरिषद्मा दिएको बयानबाट)

comments powered by Disqus

रमझम