१५ बैशाख २०७० | 28 April 2013

जुर्मुराउँदै भलिबल

Share:
  
१६ वर्षसम्म निष्त्रि्कय झै रहेको नेपाल भलिबल संघलाई नयाँ नेतृत्वले तरङ्गित पारेको छ।

तस्वीर: तुफान न्यौपाने
७ चैतमा कञ्चनपुरमा सम्पन्न इन्डो–नेपाल अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता।
गएको जेठमा चीनमा भएको तेस्रो एशियन बिच भलिबल प्रतियोगितामा पुरुषका दुई र महिलाका एक टीम पदकविहीन भए पनि नेपाल अन्तर्राष्ट्रिय 'र्‍याङ्किङ'मा पर्‍यो, सहभागिताकै कारण। त्यसलगत्तै जेठमा कीर्तिपुरस्थित नवनिर्मित कोर्टमा दोस्रो राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता र भदौमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा

'एनभीए राष्ट्रिय क्लब च्याम्पियनसीप' भयो। कभर्डहलमा भलिबल संघले आठ वर्षपछि गरेको राष्ट्रिय प्रतियोगिता थियो, त्यो। विभागीय टोली सशस्त्र प्रहरी बलको समेत जिम्मेवारी सम्हालेका भलिबलका वरिष्ठ प्रशिक्षक कपिल श्रेष्ठ भन्छन्, “संघले नयाँ नेतृत्व पाएसँगै नेपाली भलिबल जुर्मुराउन थालेको छ।”

नेपाल भलिबल संघका महासचिव जितेन्द्र चन्दका अनुसार, यो वर्ष पुरुषतर्फ १२ र महिलाका आठ गरी २० वटा राष्ट्रियस्तरका प्रतियोगिता भए। पछिल्लो आठ वर्षमा नभएका प्रतियोगिताहरू एक वर्षमा गराएको छ, नयाँ कार्यसमितिले। प्रतियोगिताहरू वार्षिक क्यालेण्डर अनुसार गरिएकाले खेलाडीले अब दुई वर्षमा एकपटक राखेपले आयोजना गर्ने राष्ट्रिय खेलकुद र दक्षिण एशियाली खेलकुद कुरेर बस्नुपर्ने छैन। संघको नयाँ नेतृत्व प्रायोजक खोजेर घरेलु र क्लबस्तरीय प्रतियोगिताहरू गर्ने योजनामा छ।

नेपाली भलिबल टीमले सन् १९८६ मा दक्षिण कोरियाको सोलमा भएको एशियन प्रतियोगितामा सहभागिता जनाएयता एशियन गेमको अनुभव लिन पाएको छैन। संघका अध्यक्ष दानबहादुर तामाङ आगामी वर्ष सोलमा हुने एशियन गेममा टीम पठाउने पहल भइरहेको बताउँछन्। तर, राष्ट्रिय टीमका सहायक प्रशिक्षक जगदीश भट्ट उचाइ भएका खेलाडी खोजेर नियमित प्रशिक्षण र अनुभवका लागि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगितामा सहभागिता नबढाएसम्म पदक नभित्रिने बताउँछन्।

नेपालमा २०३३ सालमा भलिबल संघ गठन भएको थियो भने २०३४ मा वीरेन्द्र रनिङ शिल्ड शुरू भएपछि विद्यालय तहबाट खेलाडी उत्पादन हुन थालेका थिए। त्यसपछि, हिमालय सिमेण्ट, कृषि विकास ब्याङ्क, नेपाल आयल निगम, विद्युत् प्राधिकरण, नेपाल वायु सेवा निगम, जनकपुर चुरोट कारखाना, दूरसञ्चार संस्थानलगायतले भलिबल खेलाडीलाई जागिर दिएरै टीम बनाउन थाले। तर, २०५२/५३ सम्म चलेको त्यो क्रम भलिबल संघ निष्त्रि्कय बनेपछि रोकियो। र, खेलाडीहरू पलायन हुन बाध्य भए। त्यो अवस्थालाई परिवर्तन गर्न कटिबद्ध भलिबल संघका महासचिव चन्द भन्छन्, “राष्ट्रिय खेलकुद परिषद्को बाटो हेरेर मात्र अब हुँदैन।”

उर्वर सुदूरपश्चिम

धेरै क्षेत्रमा पछि रहेको सुदूरपश्चिम भलिबल खेलमा भने निकै अगाडि रहेको पुरुष र महिला राष्ट्रिय टीमका कप्तान त्यहींका हुनुले देखाउँछ। १६ वर्षदेखि पुरुष राष्ट्रिय टीमको कप्तान रहेका भरत शाह र महिला टीमकी कप्तान नीता शाह अछामका हुन्। राष्ट्रिय टीमका जगदीश भट्ट, सहदेव बिष्ट, रमा बडु, हीरा पन्त, धनमाया कठायत, टीका चौधरी, जनक बिष्ट, धनसिंह रावल, जितेन्द्र चन्द, दौलत बिष्ट, कैलाश भट्ट, कर्ण श्रेष्ठ, दीपेन्द्र भट्ट, नरेन्द्र शाही, दीपक जोशी, प्रेम थापा, तेजबहादुर रानालगायत सबै सुदूरपश्चिमकै हुन् भने महिला टीममा दुईबाहेक सबै खेलाडी त्यही क्षेत्रकै छन्। भलिबलका पाँच प्रशिक्षक र २० राष्ट्रिय रेफ्री पनि सुदूरपश्चिमकै छन्।

भलिबलमा अघि बढ्न सुदूरपश्चिमले मिहिनेत पनि गरेको छ। महेन्द्रनगरमा १० वर्षदेखि निरन्तर प्रशिक्षण चलेको छ, जसबाट उत्पादन भएका १७० खेलाडीमध्ये ५० जनाले विभागीय टीमबाट खेलेका छन्। कञ्चनपुरको भलिबल संघद्वारा ७ चैतमा सम्पन्न नेपाल र भारतका तीन–तीन टीम सहभागी गराएर इण्डो–नेपाल अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता गरेकोमा उत्साही वरिष्ठ प्रशिक्षक कपिल श्रेष्ठ राज्यले सुदूरपश्चिममा भलिबल परियोजना चलाउने र क्लबहरूले त्यहाँ उत्पादन भएका खेलाडी लिने हो भने नेपाली भलिबल अघि बढ्ने बताउँछन्।

तुफान न्यौपाने, नेपालगञ्ज

comments powered by Disqus

रमझम