१५ बैशाख २०७० | 28 April 2013

सन ग्लासको सान

Share:
  
- देवयानी सिवाकोटी

तस्वीरः देवयानी सिवाकोटी
कुमारीपाटी ललितपुरकी सुष्मा शर्मा (२२) सन ग्लास की सौखिन हुन्। उनीसँग रेवनलगायत विभिन्न ब्राण्डका अनेक डिजाइन र कलरका १५ थान सन ग्लास छन्, मौसम अनुसार लगाउने। मोडलिङमा रुचि राख्ने सुष्मा चर्को घाममा रेवन र अरुबेला स्टाइलिष्ट देखिन भर्साचे ब्राण्डको चस्मा लगाउँछिन्। सन ग्लासमा उनलाई कलरफुल फ्रेमहरु मन पर्छ।

ललितपुर, झ्ाम्सीखेलकी विजया प्रधान (२६) र पबी केसी (२७) भने ओल्ड स्कूल ब्राण्डका पारखी हुन्। विजया पुरानो ब्राण्ड भए पनि ती सन ग्लास फेशनेवलसँगै आँखाको रक्षक हुने बताउँछिन्। पहिले ब्राण्ड नहेरी अनेकथरी सन ग्लास लगाउँदा आँखामा असर परेको बताउने पबीको भनाइमा, कतिपय चस्माले आँखा पोल्ने, टाउको दुख्ने जस्ता समस्या निम्त्याउँछन्। यी युवतीको भनाइबाट तन्नेरीहरुमा विभिन्न डिजाइन र ब्राण्डका सन ग्लासको प्रयोग बढ्दो रहेको बुझ्न सकिन्छ।

आँखालाई जोगाउन र व्यक्तित्व बढाउनमा चस्माको भूमिका हुन्छ नै। मौसम परिवर्तनसँगै अहिले राजधानीका फूटपाथदेखि ठूला शपिङ मलसम्म सन ग्लासको व्यापार बढेको छ। काठमाडौंका फूटपाथमा रु.२५० देखि रु.६५० सम्म पर्ने चीनबाट आयातीत चस्मा पाइन्छन् भने मलहरुमा रु.२७० देखि रु.२७ हजारसम्मका ब्राण्डेड। कतिपय ब्राण्डका डुब्लीकेट चस्माले ग्राहकलाई झुक्याउने गरेको छ। जस्तो, रु.४ हजारदेखि रु.१२ हजारसम्म पर्ने रेवनको डुब्लीकेट रु.५०० देखि रु.२००० सम्ममा पाइन्छ, तर सोझो ग्राहकलाई पसलेले त्यत्तिमै दिन्छन् भन्ने छैन।

सुन्धारास्थित सिभिल मलको सेलिब्रेसन शपमा रेवन, प्राडा, अरमानी, भर्साचे, भग जस्ता ब्राण्डेड चस्माहरु बेच्ने अर्जुन नेपाल (३५) प्लाष्टिक कोटेड र युभी रे प्रोटेक्सन नहुने चस्माले निम्त्याउन सक्ने खराबीप्रति ग्राहक सचेत हुनुपर्ने बताउँछन्। “ब्राण्डेड चस्माहरुले स्टाइलसँगै आँखाको रक्षा पनि हुने कुरामा सौखिनहरु सचेत देखिन्छन्”, अर्जुन भन्छन्।

ललितपुर, जावलाखेलको ओम चस्मा पसलका सञ्चालक परशुराम शर्मा (२८) भने धेरैजसो ग्राहक ग्लास भन्दा पनि फ्रेमको डिजाइन र लगाउँदा सुहाउने नसुहाउनेमा बढी ध्यान दिने बताउँछन्। उनको भनाइमा, स्टाइलिष्ट फ्रेममा मिक्स कलर अनि चस्माको पावरलाई समेत ध्यान दिने हो भने कम मूल्यका चस्माहरुले पनि ब्राण्डेडलाई माथ खुवाउन सक्छ।

comments powered by Disqus

रमझम