१५ बैशाख २०७० | 28 April 2013

समाजसेवी सुजाता

Share:
  

चार्टर्ड एकाउन्टेन्ट (सीए) पढ्न भारतको दिल्ली गएकी सुजाता बोहरा (२४) उतैबाट एक वर्षमै अमेरिका पुगेको सुनेकाहरू पाँच वर्षपछि महेन्द्रनगरस्थित घर फर्केपछिका व्यवहारले आश्चर्यमा थिए। न उनमा अमेरिकाबाट फर्कनेको जस्तो हाउभाउ थियो न त ठाँटबाँट नै। दुई महीनाको घरबसाइँमा उनी प्रायः हरेक दिन अनाथहरूलाई माया दर्साउन र सहयोग गर्न महेन्द्रनगरको महाकाली अञ्चल बाल अनाथालय गइन्। भारतबाट दैनिक उपभोग्य सामान बोकेर आउँदा नेपाली महिलाले बेहोर्ने कष्ट र झञ्झट बुझ्न नेपाल―भारत सीमाको गड्डाचौकी पुगिन् र पहिलेदेखि आफूबाट पढ्न सहयोग पाइरहेकी मुक्त कमैयाकी छोरी अमिषा चौधरी (८) लाई भेट्न गाउँ गइन्।

अमेरिकाको सनफ्रान्सिस्को स्टेट युनिभर्सिटीमा स्नातक अन्तिम वर्ष पढ्दै कलेज अफ एलामिडामा 'असिस्टेन्ट टिचर' सुजाता 'लिभिङ पोजिटिभ' संस्थाबाट 'महिला सशक्तिकरण' बारे अध्ययन गर्न अफ्रिकी मुलुक केन्या पुगेकी र त्यहाँबाट मोरक्को जाने क्रममा घर आएकी हुन्। वैशाख दोस्रो साता अमेरिका जाँदै गरेकी उनको कलेजका प्रोफेसर र विद्यार्थी सहयात्रीसँग केन्यासहित नेपाली महिलाको समस्या र पीडाबारे विमर्श गर्ने योजना छ।

उदाहरणीय सेवा

दुबईमा मृत्युदण्ड पाएका दार्चुलाका अमर बमको परिवारलाई अमेरिकाको सडक–पेटीमा आफ्ना गहना बेचेर आएको रु.५३ हजार ८०० सहयोग गर्नुले नै देखाउँछ, सुजाताको समाजसेवी मन। सुजाता भन्छिन्, “अमरकी श्रीमतीले फोन गरेर धन्यवाद दिएपछि राम्रै गरेछु भन्ने लाग्यो।”
अमेरिका पुगेपछि सिंगो समाजका लागि केही गर्नुपर्छ भन्ने विचार राख्न थालेकी सुजाताले दुःख पाएकालाई सहयोग जुटाउन कफी पिउन समेत छाडिन्। कफीमा दैनिक खर्च हुने रकम उनले आमा जानकीमार्फत स्कूल पढ्ने दुई बालिकालाई किताब, कापी र कलम किन्न पठाइरहेकी छन्। यसका लागि उनले साथी र नातागोताको जन्मदिन, चाडपर्व, भोजभतेरमा उपहार दिन समेत छाडेकी छन्। “कमजोर अवस्था भएकालाई सहयोग होला भनेर धेरै खर्च कटाएकी छु”, उनी भन्छिन्।

उनले पठाएको पैसाबाट अमिषा स्थानीय ग्लोबल एकेडेमीमा कक्षा दुई र एकल आमाकी छोरी अर्की बालिका मनिषा ऐर (१०) कक्षा ४ मा पढिरहेका छन्। अमिषा आफ्नै परिवारसँग बस्छिन् भने मनिषालाई सुजाताकी आमाले घरमै राखेकी छिन्।

अध्ययन सकेपछि नेपाल फर्किने सोचमा रहेकी सुजाता अरूलाई गाली गरेर भन्दा काम गरेर देशको अवस्था सुधार्न प्रयास गर्नुपर्ने पक्षमा छिन्। “यो भएन भन्नुभन्दा हामीले देशका लागि के गर्‍यौं भनेर सोच्नुपर्छ”, उनले भनिन्।

बच्चु विक, धनगढी

comments powered by Disqus

रमझम