२२ वैशाख २०७० | 5 May 2013

पुनहरू छुट्टिएका होइनन्

Share:
  

हिमाल (१५ वैशाख) मा प्रकाशित जेवी पुन मगरको 'बाहुन क्षेत्री पनि लफडामा' शीर्षकको लेखमा 'मगरभित्रका पुन, रोङ, राईभित्रका कुलुङलगायत गुरुङभित्रका घलेहरू समुदायबाट छुट्टिएर गइसके' भन्ने वाक्यांश पुनहरूको सन्दर्भमा आपत्तिजनक छ। पुनहरू मगरबाट अलग भएका छैनन् र हुँदैनन् पनि। अलग हुनका लागि आदिवासी पुनः सूचीकरण आयोगमा पुन मगरहरूले निवेदन दिएको कुरा साँचो हो। त्यहाँ सूचीकरण भएपछि पनि मगरै भइन्छ भन्ने उनीहरूमा भ्रम थियो। यस्तो अवस्थामा हिमाल जस्तो पत्रिकाले वास्तविकता बुझेर मात्रै लेख प्रकाशित गरिदिएको भए राम्रो हुनेथियो!

'पुन मगर समाज'को नाम संशोधन गरी 'पुन समाज नेपाल' भनी लेख्ने भन्ने एक समूह र पहिलेकै नाम लेख्ने भन्ने विषयमा पुन मगरहरूको पोखरा अधिवेशनको विधानमा विवाद भएको देखिन्छ। दुवैलाई मिलाउन 'पुन समाज' लेख्ने र त्यसको व्याख्यामा पुन भनेको मगर जातिको एक उपथर हो भनी लेख्ने प्रस्ताव गरिएको छ। यसलाई दुवै पक्षले स्वीकारेको अवस्थामा छुट्टिए भनेर कसरी भन्न सकिन्छ?

यामबहादुर पुन मगर, लुलाङ–१, म्याग्दी

'बाहुन क्षेत्री पनि लफडामा' शीर्षकको लेख धेरै राम्रो लाग्यो। खासगरी आदिवासी जनजातिहरूले यो लेख पढ्नै पर्छ। आशा छ यो लेख पढेर सबैले वास्तविकता बुझने छन्। लेखका लागि हिमाल र लेखकलाई धन्यवाद।

बिके थापा मगर, इमेलबाट

मन छुने लेख

हिमाल (१ वैशाख) मा छापिएको नयाँ वर्षमा छोरालाई शुभकामना धेरै राम्रो लाग्यो। लेखमा जीवनको यथार्थता चित्रण गरिएको छ। लेखकको लामो अनुभवले पनि लेख मन छुने बनेको छ। हिमाल मा यस्ता लेखहरू नियमित पढ्न पाइयोस्।

अलि असगर, इमेलबाट

राज्यको मात्र मुख नताकौं

हिमाल (१ वैशाख) मा प्रकाशित 'छैन राज्य' पढेपछि केही लेख्न मन लाग्यो। मुगुको मुर्मा गाउँमा ढलेको विद्युत्को पोल ठड्याउन राज्य नै पुग्नुपर्छ भन्ने मान्यता गलत हो। लघु विद्युत् आयोजना मर्मत गर्ने जिम्मेवारी विद्युत् प्रयोग गर्नेहरूको पनि हो। साना भन्दा साना कुरामा राज्यलाई दोष दिएर कोही पनि जिम्मेवारीबाट पन्छिन खोज्नुहुँदैन। एक्लै पक्कै गर्न नसकिएला तर समुदाय मिलेर गर्ने हो भने ढलेको पोल ठाडो पार्न नसकिने होइन। तर यसको मतलब कर्णालीका जनताको दुःख, पीडाप्रति म संवेदनशील छैन भन्ने होइन।

भरत फुयाल, इमेलबाट

ड्यास र क्यासको आतंक

सशस्त्र द्वन्द्वकालमा माओवादीको बुझाइमा धनीहरू सबै भ्रष्टाचारी ठहरिए। समाज रूपान्तरणका नाममा जाँड र रक्सीका भाँडाहरू घोप्ट्याएका थिए। तिहारमा कौडा खेल्नेहरूलाई कौडै निल्न लगाए, तास पानीसँग चपाउन पठाए। कतिपय शिक्षकहरू अपहरणमा परे, शायद उनीहरूको पेट ठूलो भएकोले होला। माओवादीको अर्को तारो थियो संस्कृत शिक्षा। पुरोहित र पण्डितहरू जोगिएर हिंड्नुपर्थ्यो। माओवादी त्रासका कारण कतिपयले निधारमा टीका लगाउन छाडे। गरीबलाई आश्वासनका पोका बाँडेका माओवादीले धनीका कञ्चटमा पेस्तोल तेर्स्याए। शान्ति प्रक्रियामा आएपछि पनि मिडियामा छाइरहन कुनै कलाकार भन्दा कम छैन माओवादी, आमाको काख रित्याएर होस् वा नेपाली धर्म संस्कृतिको विखण्डन गराएर।

हिजो तास चपाउन लगाउने माओवादी अहिले जुवाघर पस्ने बानी सिकाउँदैछ। नेपाली संस्कृति, रीतिरिवाज र परम्परालाई 'आउटडेटेड' भन्दै पाश्चात्य संस्कृतिमा रम्न सिकाउँदैछ। चन्दा, लुटपाट र हत्यामा सिपालु माओवादीले यहाँको व्यापार व्यवसाय चौपट पारेको छ। यी र यस्तै धेरै गुणले भरिपूर्ण माओवादी कहिले 'ड्यास' त कहिले 'क्यास' को नाममा आतंक मच्चाउँदैछ।

हिमाल घिमिरे, बरुणेश्वर–१, ओखलढुङ्गा

comments powered by Disqus

रमझम