२२ वैशाख २०७० | 5 May 2013

'दुवै पक्षले ज्यादती स्वीकारुन्'

Share:
  

माओवादी द्वन्द्वकालमा राज्यपक्षले २७ महीना गैर–न्यायिक थुनामा राखेर यातना दिएको भन्दै संयुक्त राष्ट्रसंघीय मानवअधिकार समितिमा उजुरी दिएका अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष हिमाल शर्मा भन्छन्, “नख्खु जेल लैजानुअघिको मेरो सवा दुई वर्ष नामेट नपारियोस् भन्ने मेरो माग हो।”

बेपत्ता, सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी अध्यादेश जारी भइसक्दा पनि संयुक्त राष्ट्रसंघ किन गुहार्नुपर्‍यो?

मेरो पार्टी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनेदेखि नै यो विषयमा आवाज उठाएँ। सर्वोच्च अदालतमा पनि रिट दायर गरें। तर भैरवनाथ गणमा थुनेर यातना दिइएको राज्यले नस्वीकारेकाले राष्ट्रसंघ गुहारेको हुँ। गैर–न्यायिक थुनामा राखेको र यातना दिएको त स्वीकार्नु पर्‍यो नि!

त्यतिबेला के भएको हो?

त्यो घटनापछि बाँचेर पनि म मरिरहेको छु। कहिलेकाहीं त मारेको भए नै जाती हुन्थ्यो जस्तो पनि लाग्छ। ३ कात्तिक २०६० मा मलाई काठमाडौंबाट पक्राउ गरेर २७ महीना अमानवीय यातना दिए। शिवरात्रिको दिनमा हिटरमा पिसाब फेर्न लगाएर मलाई नपुंसक बनाए। १३ दिन बेहोस भएँ।

राष्ट्रसंघसँग तपाईंको अपेक्षा के हो?

नख्खु जेल लैजानुअघिको मेरो सवा दुई वर्ष नामेट नपारियोस् भन्ने मेरो माग हो। त्यसपछि मात्र दोषीमाथि कारबाही र क्षतिपूर्तिको कुरा आउँछ। मेरो उजुरी प्रमाणित गरेर दर्ता गर्नु पनि एक चरणको जित हो।

यसपछि माओवादीको तर्फबाट भएका यस्तै घटनाबारे पनि उजुरी हालियो भने तपाईंको पार्टीले भने जस्तो शान्ति प्रक्रियामा असर पर्दैन?

शान्ति प्रक्रियालाई असर पार्न नभएर न्यायको लागि उजुरी दिएको हुँ। माओवादी र राज्य जसले ज्यादती गरेको भए पनि स्वीकार्नुपर्छ। सत्य पत्ता लागेपछि मात्र माफी दिने कि कारबाही गर्ने भन्ने निर्णय हुन्छ।

नैतिक दबाब मात्र दिने राष्ट्रसंघीय मानव अधिकार समितिको निर्देशनले फरक पर्ला र?

मसहित ४९ साथीलाई बेपत्ता पारिएको अवधि राजनीतिक जीवनका लागि पनि महत्वपूर्ण छ। त्यतिबेला मलाई समात्नै हुँदैनथ्यो भन्ने होइन। त्यत्रो अवधिको यातनालाई गुमनाम राख्न पाइँदैन भन्ने मात्र हो।

comments powered by Disqus

रमझम