माओवादीको हिंसात्मक द्वन्द्वकालमा शारीरिक–मानसिक यातना भोगेका बालबालिका र तन्नेरीहरू देशभर भेटिन्छन्। तीमध्ये अधिकांशको मनमस्तिष्कमा हिंसाको कहिल्यै नमेटिने खिल गढेको छ। बाजुराको कोल्टीबाट मुगुको ताल्चा जाँदा यो सम्वाददाताले माओवादी हिंसाकालमा अनेक बर्बर घटनाका साक्षी बन्न बाध्य तीन तन्नेरीसँग कुरा गर्ने मौका पायो, जो त्यो दुःस्वप्नबाट कुशलतापूर्वक बाहिरिंदैछन्।
हिंसालाई 'बाईबाई'
मुगुको गम्थास्थित लोकप्रिय उच्च माविबाट २०६१ सालमा माओवादीले सामूहिक अपहरण गरेका १८ विद्यार्थीमध्ये एक थिए धनबहादुर थापा। एक्लो छोरा धनबहादुरले त्यसपछिको एक वर्षसम्म बुबाआमा र श्रीमतीसँग सम्पर्क भएन। त्यस अवधिमा उनलाई सानाठूला १४ आक्रमणमा सहभागी हुन बाध्य पारियो। उनी पश्चिम डिभिजन कमाण्डर प्रभाकरको नेतृत्वमा रुकुमको खारा, कैलाली मसुरिया, बर्दियाको रम्भापुर, सुर्खेतको भेरी पुल, कालीकोटको पिलीलगायतका लडाइँमा एलएमजी लिएर लडेका थिए। “नलडे मारिनुपर्ने स्थिति थियो”, धनबहादुर भन्छन्, “घरमा बाबुआमा र श्रीमती रुँदै पर्खिरहेका थिए।”
खारा भिडन्तमा बमको छर्रा लागेका उनी निको हुँदै गर्दा २०६२ भदौमा युद्धविराम भयो। त्यही मौका छोपेर घर आएका उनी त्यसपछि माओवादीमा फर्किएनन्। तर, घर बस्नु दुवैतर्फबाट खतरापूर्ण थियो। त्यसबाट जोगिन उनी भारतको उत्तराञ्चल पुगे। उत्तराञ्चलको चम्पावतमा दुई वर्षमा भारु ६० हजार कमाएर एक वर्ष सुर्खेतमा खुद्रा व्यापार गरे। त्यसपछि मुगुमै खच्चर व्यवसायी बनेका धनबहादुर अहिले माझ्चौरस्थित 'धन लक्ष्मी जनरल स्टोर र भेना, सालासाली रेष्टुरेण्ट एण्ड होटल' का मालिक छन्। मुगु उद्योग वाणिज्य संघमा दर्ता होटल, ६ वटा खच्चर र किराना पसल सञ्चालक धनबहादुर भन्छन्, “माओवादीको झोला नफालेको भए म अहिले कहाँ हुन्थें, थाहा छैन।”
माओवादीले लगेको सात वर्षमा लडाकू शिविरबाट बाहिरिएपछि सुर्खेतको भेरी नदीमा कम्ब्याट ड्रेस र बुट फ्याँकेर गत माघमा मुगुको श्रीकोट फर्किएका उब्जन बानियाँले गाउँमै किराना र चिया–खाजा पसल चलाएका छन्। ७ कक्षामा पढिरहेका बेला माओवादीले उनीसहित अमर बानिया, दिलबहादुर बानिया, सरिता बानिया र ललित बानिया गरी पाँच जनालाई सुर्खेत पुर्याएका थिए। शिविर छोड्दा रु.५ लाख पाए पनि उनको पढाइ चौपट भयो। “माओवादीले भविष्य चौपट पारिदियो, नेताहरूले आफ्नै पेट भरे”, उब्जन भन्छन्, “नेताहरू शहरमा मन्त्री, प्रधानमन्त्री भए, हामीलाई केवल लडाकू भन्ने बिल्ला लाग्यो।”
कोल्टीका भीमराज गिरी पनि माओवादीमा साढे तीन वर्षभन्दा बढी टिक्न सकेनन्। ९ वर्षअघि ६ कक्षामा पढिरहेका बेला साइनोमा काका पर्ने कृष्ण गिरी सदरमुकाम मार्तडीमा प्रहरी हवल्दार थिए। त्यही आधारमा माओवादीले उनलाई सुराकीको आरोपमा निर्घात कुटपिट गर्दै ज्यानै लिने धम्की दिएपछि उनी भारतको मुम्बई गएर होटलमा काम गरे। विदामा फर्कंदा सुर्खेतमा नेपाली सेनाको भर्ती खुलेको थियो। सेनामा लागेर ११ महिने तालीमलगत्तै भीमराज माओवादी विरुद्ध परिचालित भए। “महेन्द्रनगर, धनगढी, टीकापुर र मसुरियामा लड्दा मेरा पाँच साथी मरे”, भीमराज भन्छन्, “माओवादीतिर पनि मर्ने त नेपाली नै थिए।”
त्यसरी विरक्तिएका उनी २०६४ सालमा फेरि मुम्बई गएर होटलमा काम गर्दै कुक तालीमसमेत लिए। उनी चैतको अन्तिम साता घर आएर मुम्बई फर्कंदै थिए। माओवादीले पढाइ खोसिदिएको ठान्ने उनी विगत बिर्सेर भविष्य बनाउन चाहन्छन्। उनलाई लाग्छ, त्यो बेला पढाइ नबिथोलिएको भए न फौजी हुनुपर्थ्यो न त भारतमा कामदार। “गुमेको समय फर्केर आउँदैन” भीमराज भन्छन्, “माओवादीले हाम्रो पुस्ताको भविष्य त खोस्यो–खोस्यो, अब हिंसाको मार कसैमाथि नपरोस्।”