२२ वैशाख २०७० | 5 May 2013

जात होइन कर्म

Share:
  
- सञ्जय घिमिरे
राजनीतिक नेतृत्वले नयाँ पुस्तालाई जातीय र क्षेत्रीयताको भावनात्मक भारी होइन, सीप र दक्षताको सरल बाटो देखाइदिनुपर्दछ ।

तस्वीर: दिवाकर क्षेत्री
युनिभर्सिटी अफ वाशिङ्गटन कमन ल्याङ्गवेज प्रोग्रामको अनुमान अनुसार सन् २०२५ सम्ममा चीनमा अंगे्रजी बोल्नेको संख्या संसारमा पहिलो भाषाको रूपमा अंग्रेजी बोल्नेहरूको भन्दा बढी हुनेछ। चीनमा अंगे्रजी मातृभाषी कम्पनीहरू ओइरिइरहेकाले यसमा विश्वव्यापीकरण, समयको आवश्यकता र उपयोगिताको सिद्धान्त लागू भएको छ। आफ्ना मूल्यमान्यतामा जति कट्टर भए पनि अमेरिकी कम्पनीका लागि आइफोन र आइप्याड बनाउन जान्ने पुस्ता तयार हुनु चिनियाँहरूका लागि गर्वको विषय हो। यी र यस्तै कारणले चीन विश्वको एउटा प्रभावशाली राष्ट्रको रूपमा उभिएको छ।

धार्मिक वा भौगोलिक पहिचानका हिसाबले तिब्बत संसारकै नमूना हो, तर विकासका दृष्टिले त्यस्तो हुनसकेको छैन। जम्मा आठ प्रतिशत मातृभाषी भएको उर्दू पाकिस्तानको आधिकारिक भाषा हो। त्यहाँ करीब ४५ प्रतिशत पञ्जाबीभाषी छन्, तर उर्दूपछि अंग्रेजी सरकारी कामकाजको भाषा छ।

जातीय, क्षेत्रीय वा भाषिक पहिचान आत्मरतिका विषय हुन्, विकासको अकाट्य आधार होइनन्। जातीय र क्षेत्रीय धार मात्रै समातेर बसेको भए आजको काठमाडौं खोकना जस्तै हुन्थ्यो, आधुनिक चकाचौंधसहितको कस्मोपोलिटन शहर बन्दैनथ्यो; नाम्चे र खुम्बू उपल्लो डोल्पा जस्तो मात्रै हुन्थ्यो, जहाँका केटाकेटीको विदेशमा पढ्ने हैसियत हुँदैनथ्यो। व्यक्तिगत पहिचान मह140वपूर्ण विषय हो। जात र थर त श्राद्ध गरेजस्तो मात्रै हुन्, जसको कुनै विज्ञानसम्मत तुक छैन। हामी स्वीट्जरल्याण्ड बन्न खोज्दैछौं, तर ठेकी र मदानीमा गर्व गरेर।

सत्य र तथ्य सरल छन्, तर नेपालमा यसलाई जटिल र बङ्ग्याइएको छ। आफ्नोप्रति मोह हुनु स्वाभाविक हो। तर अंगे्रजी भाषा मात्र होइन, अब चिनियाँ र स्पेनिस भाषा सिक्दा जति बिकाउ भइन्छ, एक–दुई प्रतिशतले बोल्ने भाषा नै मेरो पहिचान भन्ने अड्डीले बजार भेटिंदैन। उदारताकै कारण, अंग्रेजी अन्तर्राष्ट्रिय भाषा भएको हो। नेपालका केही जातिवादीको बुझ्ाइ अनुसार संस्कृत बाहुनको भाषा हो भन्ने जस्तो कट्टरता साँधेको भए अंग्रेजीमा संस्कृतका शब्दले स्थान पाउँदैनथे।

व्यर्थको बहस

नेपालको जातीय, क्षेत्रीय र भाषिक बहसमा विना अध्ययन लहडका भरमा विरोधाभास खडा गरिंदैछ। यसो गर्नेमा हिजो सत्ताको वरिपरि बसेर सामान्य जनताका लागि सिन्को नभाँच्ने, बाँचुञ्जेल पुनः सत्तामा रमाउन चाहने र आफ्नो शक्ति गुम्ने डर पाल्ने ४५ नाघेका व्यक्तिहरू छन्। आफ्नो क्षमतामा विश्वास नभएकाहरू यस्तै कमजोर विषय पक्रेर चर्का नारा लगाउँछन्। यिनलाई बिर्सने हो भने नेपालमा जातीय बहस यति ठूलो विषय हुँदै होइन।

नेपालमा पहिचानको बहस भइरहँदा स्पष्ट नपारिएको प्रश्न यो आत्मरतिका लागि कि प्रगतिका लागि भन्ने हो। आत्मरतिका लागि हो भने आज लगाइएका नारा ठीकै होलान्, तर प्रगतिका लागि सान्दर्भिक छैनन्।

नेपालमा चर्काइएको नाराले कुन व्यक्ति कुन जातको भन्नेमा चासो राख्छ, उसले के जान्दछ भन्नेमा होइन। दाँज्ने कुरा त होइन, तर यहाँनेर सान्दर्भिक हुनसक्छ― अमेरिकी पहिचान। अमेरिकीहरू नौलो व्यक्तिलाई ऊ के हो भनेर सोध्दैनन्; उसको सीप, क्षमता वा कलाबारे जिज्ञासु हुन्छन्र त्यस हिसाबले उपयोगी व्यक्तिलाई तुरुन्तै स्वागत गर्छन्। यसो गर्दा उनीहरू आफ्नो पहिचानमा ठेस पुगेको ठान्दैनन्। धार्मिक र जातीय पहिचानको होइन, व्यक्तिगत विचार र क्षमताको सम्मान अमेरिकीहरूको पहिचान हो। यसैले आज अमेरिकीको कुनै एउटै तस्वीर भेटिंदैन।

नेपालमा चाहिएको एउटा कुरा छ, तर खोजी र बहस अर्कैतिर भएको छ। हामीलाई चाहिएको जातको होइन, कर्मको पहिचान हो; सडक र अस्पताल, विद्यालय र बत्ती, प्रविधि र सीप हो। विल गेट्स जहाँका भए पनि माइक्रोसफ्ट उनको पहिचान हो। स्टिभ जब्स कहाँका हुन् कमैलाई थाहा होला, तर आइफोन चिन्ने कति छन् कति। आजका किशोर–किशोरी भावनाको संसारमा होइन, यथार्थ धरातलमा हिंड्न चाहन्छन्। कुन थरको वा कुन क्षेत्रको मान्छेले मातृभाषामा चर्को भाषण गर्‍यो भन्दा पनि कस्तो आइफोन वा कस्तो टेब्ल्वायड आयो भन्नेमा उनीहरूको चासो बढी देखिन्छ। राजनीतिक नेतृत्वले आउने पुस्तालाई जातीय र क्षेत्रीयताको बोझिलो भारी होइन, सीप र दक्षताको सरल बाटो देखाइदिनुपर्दछ। बाँचुञ्जेल फेरि पनि जातका नाममा राज गर्ने सपना देखेकाहरू टेब्ल्वायड जमानाका पुस्ताको विचारका निर्णायक हुन सक्दैनन्, भोलिको देश र समाज कस्तो बनाउने भन्ने निर्णयको अधिकार नयाँ पुस्ताको हुनुपर्छ।

comments powered by Disqus

रमझम