२२ वैशाख २०७० | 5 May 2013

सरकारी नीति आवश्यक

Share:
  
सजिवनको बायोडिजल सम्बन्धी सरकारी नीति नबनेकाले त्यसमा लागेका किसान उत्पादन बिक्री गर्न समस्या पर्ला भनेर चिन्तित छन्।

तस्वीर: किरण लोहनी
चितवन दारेचोकस्थित एभरेष्ट बायोडिजल कम्पनीले आफ्नै जग्गामा गरेको सजिवन खेती।
२३ साउन २०६५ मा पाल्पा मदनपोखराका केशव कार्कीले सजिवनको तेलबाट ट्रयाक्टर चलाएपछि बारीको कान्लामा उमि्रने सजिवन र उनी दुवै चर्चित बने। त्यसपछि किसानहरूमा भएका बिरुवा जोगाउने र नयाँ बिरुवा खोजेर लगाउने लहर नै शुरू भयो। किसानहरूको त्यो उत्साहलाई भरथेग गर्न अघि सर्‍यो, चितवन दारेचोकको कुरिनटारमा असार २०६६ मा स्थापना भएको एभरेष्ट बायोडिजल कम्पनी प्रालि। जसको सहयोगमा अहिले चितवन, धादिङ, गोरखा, तनहुँ, मकवानपुर र कास्कीका तीन हजार रोपनी जमिनमा सजिवन लगाइएको छ। तर, उत्साहले लगाइएको सजिवनले उत्पादन दिनै लाग्दा किसान भने बजार नपाइएला कि भनेर चिन्तित छन्।

एभरेष्ट बायोडिजलको परामर्शमा लगाइएको तीन हजार रोपनीमा तीन लाखभन्दा बढी बिरुवा हुर्कंदै छन्। एउटा बिरुवामा कम्तीमा पाँच किलोको दरले बियाँ फल्दा वार्षिक १५ हजार क्विन्टल उत्पादन हुने र त्यसबाट पाँच लाख लिटर बायोडिजल निस्कने देखिन्छ।

प्रमाणित भएन

किसानलाई सजिवन लगाउन सघाएको एभरेष्ट बायोडिजल कम्पनीका कार्यालय संयोजक कृष्ण धिताल पनि सजिवनबाट उत्पादन हुने बायोडिजललाई सरकारले प्रमाणित नगरेकाले बजारको समस्या हुने र किसानहरूको उत्साह सेलाउन सक्ने आशंका गर्छन्। सजिवनबाट उत्पादन हुने तेलसम्बन्धी नीति सरकारको कुन निकायले बनाउने भन्ने अझ्ैसम्म टुङ्गो लागेको छैन भने त्यस सम्बन्धी समस्या उद्योग, वाणिज्य, वन, भूसंरक्षण, विज्ञान प्रविधि वा वातावरणमध्ये कुन मन्त्रालयलाई सुनाउने भन्ने पनि सरकारले भनेको छैन।

सजिवनको बायोडिजलबाट ट्रयाक्टर चलाएका पाल्पाका कार्की सरकारको एउटा निकायले अर्को निकायलाई देखाउँदै पन्छिएकाले समस्या देखिएको बताउँछन्। सजिवनबारे सबै निर्णय गर्न सक्ने गरी त्यससँग सरोकार राख्ने सबै निकायलाई समेटेर छुट्टै बोर्ड गठन गर्दा मात्र समस्या समाधान हुनसक्ने उनको सुझाव छ।

तीन चार वर्षअघि रोपिएका सजिवनका बोटमा फल देखिन थाल्दासम्म सरकारी तहबाट त्यस सम्बन्धी कुनै नीति नबन्दा किसानहरूमा चिन्ता बढ्दो छ। २०० रोपनी जमिन भाडामा लिएर सजिवन खेती शुरू गरेका तनहुँको मंगलामाई सजिवन खेती विस्तार समूहका अध्यक्ष आइतबहादुर चेपाङ अरू खेती राम्रो नहुने जमिनमा पनि सजिवन राम्रो हुने भएकाले आफूहरू यो खेतीमा लागेको बताउँछन्। ४० रोपनी जमिनमा सजिवन लगाएका गोरखा भूङ्लीचोकका तुलबहादुर थापा भने एभरेष्ट बायोडिजलले उत्पादन किनिदिने आश्वासन दिए पनि ढुक्क हुन नसकेको धारणा राख्छन्। उनीहरू सरकारले नै बहुउपयोगी सजिवनको बिरुवा बाँडेर उत्पादन पनि किनिदिंदा राम्रो हुने ठान्छन्।

उत्पादन शुरू

एउटा बोटमा वर्षमा १० किलोसम्म फल्ने सजिवनको बियाँ एभरेष्ट बायोडिजलले गत वर्ष प्रतिकिलो रु.३० को दरले ५ हजार २०० किलो किनेको थियो। यो वर्ष भने करीब १० हजार किलो सजिवन उत्पादन हुने उसको अनुमान छ। ३ किलो सजिवनबाट १ लिटर मात्र बायोडिजल आउने हुँदा खनिज डिजलसँग प्रतिस्पर्धा गर्न नसक्ला भन्ने आशंकाको जवाफमा पाल्पाका कार्की भन्छन्, “एक लिटर बायोडिजलसँगै रु.५०० प्रतिलिटर पर्ने ग्लिसिरिन पनि १० प्रतिशत निस्किने हुँदा घाटा हुँदैन।” उनी खनिज डिजलले भन्दा प्रतिलिटर दुई किमी बढी माइलेज दिने बायोडिजल उत्पादन गर्दा जैविक मलको रूपमा उपयोग गर्न सकिने पीना पनि निस्किने भएकाले मूल्यमा प्रतिस्पर्धा गर्न गाह्रो नपर्ने बताउँछन्।

एभरेष्ट बायोडिजलका धिताल पनि सजिवनको व्यावसायिक खेती बढ्दै जाँदा लागत कम हुने भएकाले खनिज डिजलसँग प्रतिस्पर्धा गर्न सकिने विश्वास गर्छन्। उनको भनाइमा नेपालमै उत्पादन भएको बायोडिजल प्रयोग गर्दा पैसा विदेश नजाने भएकाले त्यसबाट बहुआयामिक फाइदा हुनेछ।

किरण लोहनी, गोरखा

comments powered by Disqus

रमझम