२२ वैशाख २०७० | 5 May 2013

एक तोला सुन

Share:
  

म सानो छँदा महिलालाई सुत्केरी व्यथा लाग्दा अस्पताल वा स्वास्थ्यचौकी लैजाने चलन थिएन। किनभने त्यतिखेर नजिकै अस्पताल र स्वास्थ्यचौकी नै थिएनन्, मानिसमा चेतना पनि थिएन। कोहीकोही घरमै सुँडिनी बोलाएर सुत्केरी गराउँथे। सुँडिनी पनि भनेको बेला उपलब्ध हुँदैनथे। गाउँघरका जान्ने र अनुभवी महिलाहरूले सुत्केरी गराउँथे। हिजोआज त धेरैजसो गाउँघरमा पनि स्वास्थ्यचौकी र अस्पतालमा लगेर सुत्केरी गराउने सुविधा भइसकेको छ। हिजोआज पहुँचवाला ज्योतिषीको सल्लाहअनुसार यति बजेर यति मिनेट जाँदा बच्चा जन्मायो भने राजयोग र भाग्यमानी हुन्छ भनेर पेट चिरेर बच्चा झ्िक्ने पनि गर्छन्। तर, त्यस्ता बच्चा पनि नपढ्ने, बदमास, धुन्धुकारी भएर निस्किएका छन्।

चिना बिग्रिएकाले पनि ग्रहशान्ति गरेर आफ्नो भाग्य सुधार्ने प्रयास गर्छन्। तर, जे हुनु छ, भएरै छाड्दोरहेछ। जीवन त नमिलेकै हुँदो रहेछ। मानिसले एकातिरबाट मिलाउन खोज्छ तर जीवन अर्कोतिरबाट बिग्रिरहेको हुँदो रहेछ। जीवन भोग्दै जाने क्रममा मानिस कहिले अति भौतिकवादी र कहिले अति अध्यात्मवादी पनि हुँदो रहेछ। जीवन बाँच्न मानिसले विज्ञानको मात्र होइन, रहस्यवादको पनि सहारा लिंदो रहेछ।

त्यसैले होला, हाम्रो देशका वामपन्थी नेताहरू लुकीलुकी मन्दिर गएको, ग्रहशान्ति गरेको, घरमा लुकाएर देवीदेवताको पूजा गरेको समाचार बेलाबेला आउने गर्छ। शायद उनीहरूलाई भौतिकवादी विचारले मात्र सुखशान्ति दिएन होला र त त्यसो गरे होलान्।

जीवन भौतिकवाद र रहस्यवादको बीच बाटोबाट हिंड्दो रहेछ। हिंड्दै जाँदा कहिले भौतिकवादको बाटोतिर चिप्लिएर पुगिंदो रहेछ, कहिले रहस्यवादको बाटोतिर।

म एघार वर्षको थिएँ। बाआमाले पहिल्यै मेरो चिना बनाएर राख्नुभएको थियो। भगवानले रक्षा गरून् भनेर उहाँहरूले चिनामा एक तोला सुनमा भगवान्को प्रतिमा कुँदेर राख्नुभएको रहेछ। आमा बितेपछि कसैले 'चिनामा सुन छ' भन्ने थाहा पाएर सुन चोर्दा चिनासमेत चोरेर लगेछ। त्यसैले ज्योतिषीसँग 'मेरो भविष्य कस्तो छ?' भनेर कहिल्यै सोध्न पाइनँ।

मेरो मात्र होइन, संसारमा जति मान्छे छन्, सबैको चिना हराएको छ। ज्योतिषीले बनाएको चिना भएर पनि भविष्य रहस्यमय छ। भोलि के हुन्छ? कतिखेर कोसँग मिलन हुन्छ र कतिखेर कोसँग विछोड, केही थाहा हुँदैन। यहाँ चिना हुने मान्छेहरूको पनि चिना हराएको छ।

आमा बित्नुहुँदा, ओहो! कत्ति मान्छे भेट्न आएका। कोही मिश्री, कोही फलफूल र कोही घिउ ल्याउँथे।

म एघार वर्षको फुच्चे, रुन परै जाओस् फुर्किएछु, लाडिएछु। बच्चाहरूलाई आफ्नो घरमा पाहुना आएको असाध्यै मन पर्छ। मलाई पनि रमाइलो लाग्यो, आमा बितेको। तर, जब तेह्र दिनको काम सकियो, विस्तारै विस्तारै मान्छेहरू घट्दै गए। पछि त मान्छे आउनै छाडे, कोही पनि आएनन्। त्यसपछि पो थाहा भयो मेरी आमा मर्नुभएछ। तेह्र दिनपछि भने म आमा सम्झ्ेर रुन थालें।

मान्छे आउन छाडे। आफन्त पनि टाढिए। माया गर्नेले गाली गर्न थाले, हेप्न थाले। आमा नभएको चोरले पनि थाहा पाउँदो रहेछ 'यो घरको मान्छे मरेकाले यहाँ बच्चाहरू मात्रै बस्छन्' भनेर।

गायत्री, गीता, सप्तरुपा तिनोटी दिदीहरूको बिहे भइसकेको थियो। भाउजूहरूको परिवार पनि ठूलो भइसकेको थियो। हामी सबै एउटै घरमा अटाउँदैनथ्यौं। भाउजूहरू नजिकै अर्को घर किनेर सरेका थिए। अब घरमा हामी तीन जना मात्र हुन पुग्यौं– दिदीहरू जानदेवी, बिन्दु अनि म।

घर पुरानो भएर ठाउँठाउँमा चर्किसकेको थियो। त्यसमाथि भाउजूहरूको पनि भाग दिनुपर्थ्यो। अब घर कि बनाउनुपर्ने भयो कि बेच्नुपर्ने। घर बनाउन हामीसँग पैसा थिएन। भाउजूहरूको पनि ठूलो परिवार, अभावै अभाव थियो। हामीलाई गरीबीले तातो पानीमा चोपल्दै निकाल्दै गर्थ्यो– न आमा, न बा, न आयस्रोत, केही पनि थिएन। भत्किनै लागेको पुरानो, सानो घरको भुईंतलामा राडीपाखी बुन्ने एउटा तामाङ परिवार बहालमा बस्थ्यो– महीनाको तीस–चालीस रुपैयाँ भाडा आउँथ्यो।

संवत् २०२९ तिरको काठमाडौं शहर अलि शून्य थियो। पाँच–छ बजेपछि मान्छे हिंड्दैनथे बाटामा। हामी तीन जना दिदीभाइ एउटै पलङमा सुत्थ्यौं। चर्पी टाढा बारीमा थियो। राति त्यहाँ जाने आँट आउँदैनथ्यो। म केटो भएकोले झयालबाट पिसाब फेर्थें। दिदीहरू मटानको कोपरामा पिसाब फेरेर झयालबाट मिल्काउँथे।

कोठा र मटान सल्लाको काठले बारेको थियो। एउटा बिजुलीको चिम झ्ुण्ड्यायो भने कोठामा पनि उज्यालो हुन्थ्यो। मटानमा, भर्‍याङमा पनि उज्यालो हुन्छ भनेर काठको बारमा माथितिर बिजुलीको बल्ब झ्ुण्ड्याउने एउटा प्वाल राखेको थियो कोठाभित्र। त्यसको ठीक मुनि पित्तलको कोपरा राखिएको थियो।

एक रात मेरो पेट बेस्कन दुख्यो। दिसा गर्न जान मन लाग्यो। दिदीहरू सुतिरहेका थिए। भुईंमा कोपरा थियो, त्यसैमा बसें। त्यसको ठीक माथि कठबारको बिजुली बत्ती झुण्ड्याउने प्वाल र ठीक अगाडि कोठामा ड्रेसिङ टेबल राखिएको थियो।

घरमा चोर पसेको रहेछ। कोठामा खत्र्याकखुत्रुक गरेको, टुकी बालेको देखेर चोरले कठबारको प्वालबाट भित्र हेर्दोरहेछ। मैले अगाडि भएको ड्रेसिङ टेबलको ऐनामा मुखमा आधी रातो, आधी कालो रङ लगाएको मान्छे देखें। 'त्यो मान्छे हो कि भूत?' छुट्याउन गाह्रो भयो मलाई।

म आत्तिएर कराएँ। मेरा दिदीहरू पनि उठे। आखिर त्यो चोर नै रहेछ। मटानको झयालबाट चोर हामफालेर भाग्यो। हामीले करायौं– 'चोर आयो, चोर आयो!'

भोलिपल्ट बिहान त्यहाँ एउटा चोर समातेको छ रे भन्ने सुनियो। म पनि हेर्न गएँ। जाँदा त त्यही मुखमा आधी रातो, आधी कालो रङ लगाएको, हाम्रो घरको कठबारको प्वालबाट चियाउने चोर पो रहेछ। त्यतिखेरै मैले भनिहालें– 'यो चोर त हिजो राति हाम्रो घरमा पनि आएको थियो।'

त्यसका हातखुट्टा बाँधिएका थिए डोरीले। 'उसो भए तिमी पनि दुई लात हान यसलाई' भने सबैले। मैले पनि बडो फुर्तीसँग हातखुट्टा बाँधिएको चोरलाई दुई लात हानें। चोरले पनि भन्यो– 'पख्लास्! मैले तँलाई चिन्या छु। तँलाई म के गर्छु हेर्दै जा।' मेरो सातोपुत्लो उड्यो।

हरेक दिन साँझ् पर्‍यो कि मलाई डर लाग्थ्यो– त्यो चोर मलाई पिट्न आउँछ कि भनेर। भर्‍याङ उक्लँदा पनि भर्‍याङमुनि त्यो चोर लुकेको छ कि, त्यसले मेरो खुट्टा च्याप्प समात्छ कि भनेर दुई–तीन खुट्किला एकै पटकमा उफ्रेर भाग्थें। तर, त्यो चोर मलाई कुट्न कहिल्यै आएन।

घर ज्यादै पुरानो भइसकेको थियो। पानी पर्दा पनि 'घर ढल्ला कि' भनेर हामी रातभरि सुत्दैनथ्यौं। त्यसबेला हाम्रो सहारा भनेकै हाम्री साहिंली सानिमा मात्र हुनुहुन्थ्यो। हामी डराउँछौं भनेर सानिमाका छोराहरू हरिहर र विष्णु ढकाल पालैपालो हाम्रो घरमा राति सुतिदिन बालुवाटारदेखि आउँथे। म १३ वर्षजतिको थिएँ। दशैंमा सबैले नयाँ–नयाँ लुगा सिलाउँथे। हामीसँग चाहिं पैसा थिएन।

गैह्रीधारा माधवशमशेरको घरमा दशैं–तिहारमा जुवाको ठूलो खाल जम्थ्यो। कीर्तिनिधि बिष्ट पनि त्यहाँ जुवा खेल्न आउनेमा प्रमुख थिए। हामी कसैले जित्यो भने जितौरी पाइन्छ कि भनेर खाल वरिपरि झुम्मिएर बस्थ्यौं र कसैको कौडाको दाउ पर्‍यो कि जितौरी माग्थ्यौं। दुई–चार रुपैयाँ पाउँथ्यौं। कीर्तिनिधि बिष्टले लगातार दाउ पारे। जसले दाउ पार्छ उसले चुरोट, रक्सी आदि किनिदिनुपर्ने रहेछ। त्यसबखत गैह्रीधारामा ५५५ चुरोट किन्न पाइँदैनथ्यो, नक्साल पुग्नुपर्थ्यो। 'नक्साल गएर चुरोट किनेर कसले ल्याउँछ?' भनेर सोधे। 'म ल्याउँछु' भनेर मैले हात उठाएँ।

'५५५ चुरोट अनि अरू पनि के के सामान किनेर ल्याउनु' भनेर तीन सय रुपैयाँ दिए। तर, पैसा पाएपछि चुरोट किन्न नक्साल जाँदै गइनँ। घरमै दुई–तीन दिन लुकेर बसें र दशैंमा मजाले लुगा किनें त्यो पैसाले। दिदीहरूले 'पैसा कहाँबाट ल्याइस्' भनेर केरकार गरे। मैले सत्य कुरा भन्दै भनिनँ। 'बाटोमा पाएको' भनेर टार्न खोजें तर पत्याएनन्।

हरिवंश आचार्यको संस्मरण चिना हराएको मान्छे बाट साभार।

comments powered by Disqus

रमझम