२२ वैशाख २०७० | 5 May 2013

पौभामा प्रयोग

Share:
  

थाङ्का, पौभा जस्ता परम्परागत चित्रकलाको क्षेत्रमा काम गर्ने कलाकारको संख्या घट्दो छ। आधुनिक कला पढेका रानीबारी काठमाडौंका समुन्द्रमान सिंह श्रेष्ठ (३३) भने पौभामा जमेका छन्। बौद्धमार्गीहरूको परम्परागत कला अन्तर्गतको पौभामा उनका सिर्जनाहरू उच्चस्तरका मानिएका छन्। “पौभामा १५औं र २०औं शताब्दीको सिर्जना एउटै भए” यी प्रयोगधर्मी कलाकार भन्छन्, “मैले यसमा नयाँपन दिन खोजेको छु, जुन सर्वस्वीकृत भएको छ।”

नेवारी समुदायको चित्रकार र त्यसमा पनि पाकाहरूको कला मानिन्छ पौभा कलालाई। समुन्द्रमानले भने यसमा नयाँ शैली र आयाम थपेका छन्। ललितकलाको चित्रकलामा स्नातक उनी पौभामा समयको छाप अत्यावश्यक भएको बताउँछन्, जसले यसलाई अझ लोकप्रिय बनाउन सघाओस्। उनी भन्छन्, “संसारका अरू उन्नत मुलुकजस्तै नेपाल परिवर्तनशील छ भने यसको धर्म, संस्कृति र कला पनि जड भएर बस्न सक्दैन।”

तस्वीर: ऋषिराम कट्टेल

विदेशमा नेपाली पेन्टिङ भन्नासाथ कि थाङ्का कि त पौभा बुझिन्छ। तर, नेपालमा यी परम्परागत कलाको अभ्यास हराउँदै गएको छ। यो कुराले छोएर पनि यसमा हात बसाएका समुन्द्रमान पौभाकै माध्यमबाट जापान, बेलायत, अमेरिका र चीनसम्मका कला पारखीबीच परिचित भइसकेका छन्। उनी महँगा कलाकार मानिन्छन्। गत वर्ष उनको पेन्टिङ बज्रपानी भैरव रु.८ लाखमा बिक्री भयो। जसलाई काठमाडौंकै बोधिसत्व आर्ट ग्यालरीका पूर्णमान शाक्यले किनेका थिए। उनका चित्रहरू फूल टिपाइ भएका छन्। यही कारण, यत्रो वर्ष काम गरे पनि धेरै पेन्टिङ नहुँदा समुन्द्रमानले एकल प्रदर्शनी गर्न सकेका छैनन्।

ऋषिराम कट्टेल

comments powered by Disqus

रमझम