२२ वैशाख २०७० | 5 May 2013

हिन्दी पार्श्वगायनकी जग

Share:
  

१४ अप्रिल १९१९–२३ अप्रिल २०१३
'ओ ले के पहला पहला प्यार भर के आँखो मे खुमार, जादु नगरी से आया है कोइ जादुगर!' मजरुह सुल्तानपुरीले लेखेको र ओ पी नैय्यरद्वारा सङ्गीतबद्ध सन् १९५६ मा प्रदर्शित सीआईडी फिल्मको यो गीत उसबेला उल्कैसित हिट भएको थियो। यस गीतलाई गाएकी थिइन् समशाद बेगमले। फिल्ममा यो गीत सडकमा नाचगान गर्ने नर्तकीले गाएको र त्यसको सहारामा नायक देव आनन्द नायिका सकिलालाई रिझाउने प्रयत्नमा रहेको देखाइएको छ। ओ पीको तरोताजा सङ्गीत र समशाद बेगमको गायकीको जोडले गीत लोकप्रिय हुन गएको थियो। त्यसो त त्यस फिल्ममा समशाद बेगमको स्वरमा 'कहीं पे निगाहें, कहीं पे निसाना' र 'बूझ मेरा क्या नाम रे' भन्ने अरू दुई गीत पनि थिए, जसलाई श्रोताहरूले उत्तिकै मन पराएका थिए।

सन् पचासको दशकको अन्त्यतिर हेर्न पाएका थियौं– त्यस फिल्मलाई हामीले उसबेलाको सानो नगर धरानमा बनेको शिव सिनेमा हलमा।

त्यतिञ्जेलमा बम्बईको फिल्मी पार्श्वगायनमा लता मंगेशकरको जोडदार स्थान बनिसकेको थियो। उनीभन्दा पहिले फिल्मी दुनियाँलाई आफ्नो स्वरले वशीभूत पार्ने समशाद बेगमको जोड पनि हराइसकेको थिएन। उनले ओ पी नैय्यरकै सङ्गीतमा गाएको आरपार फिल्मको 'कभी आर कभी पार' र नयाँ दौर फिल्मको 'रेशमी सलवार कुर्ता जालीका' बोलको गीतले पनि श्रोताको मन जितेका थिए।

नुरजहाँ फिल्मी पार्श्वगायनमा समशाद बेगमपछि आए पनि गायन र अभिनयलाई मिसाएर उनले आफ्नै पहिचान बनाइन्। तर, सन् १९४७ मा पाकिस्तान बनेपछि नुरजहाँ बम्बई छाडेर उतै गइन्। त्यसपछि समशादको एकछत्र राज चलेको थियो, बम्बईको फिल्मी पार्श्वगायनमा। उनीसित सुरैया र गीता दत्तको जोड चल्दैनथ्यो। संगीत निर्देशकहरू लता मंगेशकर र आशा भोसले दिदीबहिनीलाई समशाद बेगमको जस्तै हल्का नाके स्वरमा गाउन भन्थे रे! उसबेला पुरुष स्वरमा के एल सहगलकोनक्कल उतार्ने कोशिश हुन्थ्यो। मुकेशको मात्र होइन मोहम्मद रफीका पनि शुरू–शुरूका गीतहरूमा यसको झलक पाइन्छ।

समशादले धेरै सङ्गीतकारसित काम गरिन्, तर उनको गायकीसित विशेषगरी नौशाद, सचिनदेव बर्मन, सी रामचन्द्र र ओ पी नैय्यरको नाम जोडिन्छ। ओ पीलाई त उनले शुरूदेखि नै टेवा दिइन्। मनमुटावका कारण लता मंगेशकरसित काम नगर्ने अठोट लिएका ओ पीका दुइटा बैसाखीमा गीता दत्त र समशाद बेगम थिइन्। ओ पीले आशा भोसले अघि यिनै दुईको सहारामा आफूलाई अघि बढाएका थिए। उनका धेरै हिट गीत समशादकै स्वरमा आए।

समशाद बेगमले शास्त्रीय सङ्गीतको विधिवत् प्रशिक्षण पाएकी थिइनन्। उनीसित थियो त केवल कुदरती प्रतिभा। त्यसैको भरमा उनी सन् चालीसको दशकमा शीर्ष स्थानमा रहिन्।

तर समयले एकताकाकी यी शीर्ष गायिकालाई ओझेलमा पुर्‍यायो।

सन् साठीको मध्यतिर हिन्दी फिल्म संगीतका प्रेमी हामी धराने ठिटाहरूमाझ बहस चल्थ्यो– सुमन कल्याणपुर लता मंगेशकरको टक्करकी गायिका हुन् वा आशा भोसलेलाई पनि लताभन्दा कम मान्न मिल्दैन भनेर। समशाद बेगमको नाम त्यस्तो चर्चामा उल्लेखै हुँदैनथ्यो। त्यति बेलासम्ममा फिल्म सङ्गीतमा उनी केवल कव्वाली टाइपका गायनमा सीमित हुन पुगेकी थिइन्। हाम्रो पुस्ताले झट्ट सम्झने समशादको गीत भनेको फिल्म किश्मत को 'कजरा मोहब्बतवाला' हो।

जान्नेसुन्ने धेरैले समशाद बेगमको निधनबाट हिन्दी फिल्म सङ्गीतको एक युगको अन्त्य भयो भनेका छन्। ठीकै हो, एउटा युगको अन्त्यबाटै अर्को युगको सुरुआत हुन्छ। पुरानो जगमा नै नयाँ भवन बन्छ। आज हिन्दी फिल्म पार्श्वगायनको जुन भव्य अट्टालिका खडा छ, त्यसको आधारशिला समशाद बेगमहरूले नै तयार पारेका हुन् भन्ने नबिर्सौं।

वसन्त थापा

comments powered by Disqus

रमझम