२२ वैशाख २०७० | 5 May 2013

संस्कृतिका स्टार जोडी

Share:
  

तस्वीर: हिमग्याप टासी
गाना–बजाना भन्ने कुरा तरुनो–बरुनोको हो भनिन्छ, तर मुगुका सोनाम पाल्जोम (६३) र छोर्तेन लामा (६०) को जोडीले यसलाई बुढ्यौलीको चिज बनाएका छन्। यो जोडी टुङ्गनाको धुनमा गाउँदै–नाँच्दै मुगुदेखि देश–विदेशका महोत्सव र साङ्गीतिक कार्यक्रममा प्रस्तुत हुन्छ। गाउँका चाडपर्व र विवाहोत्सवहरूमा गाना–बजाना गर्दा गाउँलेले तारिफसँगै उत्साहित पारेपछि बाहिर निस्कन थालेको छोर्तेन बताउँछन्।

उनीहरूको गीत–संगीतमा मुगुको भाषा, संस्कृति र रीतिरिवाज भेटिने नै भयो। ६ वर्षअघि टालासिया (मुगाली भाषामा शुभकामना) नामको अल्बम निकालेर मुगाली समुदायलाई फराकिलो बनाएका छोर्तेनले साङ्गीतिक यात्रामा पनि जीवनसँगिनी सोनामलाई नै जोडी बनाएका छन्। यो जोडीले टालासिया पछि केसी फोयुल (मातृभूमि) र मुगुम (स्थानीयता बुझाउने मुगुको नाम) गीति अल्बम निकालेका छन्। मुगुको भाषा–संस्कृतिका ठेट गीतहरू गाएकाले धेरैले रुचाएको अनुभव छोर्तेन सुनाउँछन्।

छोर्तेन–सोनामको जोडी हिजोआज कहिले कर्णाली, कहिले काठमाडौं त कहिले विदेशमा प्रस्तुति दिइरहेका हुन्छ। कर्णालीमा ठूलो पर्यटक समूह आउने भएपछि यही जोडीलाई बोलाइन्छ। श्रीमती लिएर नयाँ–नयाँ ठाउँमा घुम्न पाएकोमा उनी खुशी छन्।

ऋषिराम कट्टेल

comments powered by Disqus

रमझम