२९ बैशाख २०७० | 12 May 2013

डेकेन्द्रका हत्यारालाई के गर्ने?

Share:
  

साप्ताहिक खबरपत्रिका हिमाल (२२ वैशाख) मा प्रकाशित अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष हिमाल शर्माको तर्कमा नैतिकता र जिम्मेवारी देखिएन। सशस्त्र द्वन्द्वको समयमा विद्रोही र सरकारी पक्षबाट धेरै मानिस मारिए, घरबारविहीन भए। तर यसरी पुरानो घाउ खोतल्दै जाने हो भने सेलाएका धेरै घटना बाहिर आउनेछन्। त्यसले मुलुकलाई झ्न् बर्बादी र अन्योलतातर्फ धकेल्न सक्छ।

शर्माको पार्टी एमाओवादी पनि त्यस्ता घटनामा संलग्न थियो। बेपत्ता, सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी अध्यादेश जारी भइसक्दा पनि शर्माले चाहिं संयुक्त राष्ट्रसंघीय मानवअधिकार समितिमा उजुरी हाल्नुको अर्थ के हुन सक्छ? यसरी दुवै पक्षका पीडितले उजुरी हाल्दै जाने हो भने समितिमा उजुरीको चाङ लाग्नेछ। एमाओवादीलाई मात्र न्याय चाहिने हो भने पत्रकार डेकेन्द्र थापाका हत्याराबाट डेकेन्द्रको आत्माले शान्ति पाउनकै लागि भए पनि सजाय भोग्न तयार भएको अभिव्यक्ति आइरहँदा एमाओवादीका शीर्षस्थ नेताहरू चाहिं किन संरक्षणमा लागिपरेका हुन त? के एमाओवादीले मात्र न्याय पाउनुपर्ने अरू चाहिं मानिस होइनन्! त्यसैले पुरानो घाउ कोट्याउनुको साटो सम्बन्धित पक्षले नैतिक जिम्मेवारी लिई देश निर्माणमा लाग्नु राम्रो होला।

नवीन गुरुङ, खाँदबारी–१, संखुवासभा

ज्ञानेन्द्रको जस्तै विलासिता!

साप्ताहिक खबरपत्रिका हिमाल (२२ वैशाख) मा छापिएको 'प्रचण्डपथीय सर्वहाराकरण' शीर्षकको लेख राम्रो लाग्यो। तर हामी जान्न चाहन्छौं, पुष्पकमल दाहालले यो लेख पढेर लेखकले अभिव्यक्त गरेका कुरा व्यवहारमा कार्यान्वयन गर्लान्? र यो पनि जान्न चाहन्छौं कि यस्तै नेताको विश्वासमा लेखक जस्ताले गरीब नेपालीको नाममा राज्यको ढुकुटी रित्याएको र जनताको रगत बगाएको होइन र?

श्यामप्रसाद अधिकारी र द्वारिकानाथ ढुंगेल, काठमाडौं

नेपाली राजनीतिमा यो पनि भनिन्छ, पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र र दाहालका छोराले पूर्व युवराजको भन्दा उच्च जीवन बिताइरहेका छन्। पूर्व राजाहरूले दुई शताब्दीमा बिताए जस्तो जीवन कमरेडहरूले दुई दशकमै बिताइसकेका छन्। गरीब नेपालीको नाममा कमरेडहरूले पैसा थुपारेर अर्बपतिहरूको जस्तो विलासी जीवन बिताउनमा केन्द्रित छन्।

प्रकाश, इमेलबाट

खोलो तर्‍यो लठ्ठी बिर्स्यो

साप्ताहिक खबरपत्रिका हिमाल (१८ चैत) मा प्रकाशित 'मर्न मात्र बाँकी छ' शीर्षकको रिपोर्टले झ्सङ्ग बनाएको छ। गाउँका सोझ्ासीधालाई युद्धमा जबर्जस्ती लैजाँदा माओवादीले आफूलाई गरीब र दुःखीको पार्टी भएको दाबी गरेको थियो। उसले आफ्नो नेतृत्वमा सरकार गठन भएपछि समाजमा विद्यमान धनी र गरीबको खाडल पुरेर सबैलाई समान बनाउने झूटो आश्वासन दिएको कुरा बल्ल प्रष्ट भएको छ। यस्तै सपना बाँडेर गरीब र दुःखी जनताको अमूल्य मत पाएको माओवादी पटक–पटक सत्तामा पुगिसकेको छ। तर उसले हिजोका सबै आश्वासन बिर्सिसकेको छ। खोलो तरेपछि लठ्ठी बिर्सने माओवादीको यस्तो प्रवृत्ति रहेसम्म उच्चवर्गको दमन, शोषणबाट निम्न वर्गले कहिले मुक्ति पाउलान्? हुन त १० वर्षसम्म आफूले बुईं चढेका लडाकूको समस्या समाधान गर्न नसक्ने माओवादीले अरूको समस्या बुझोस् पनि कसरी!

सुवास संगालो कुलुङ, गुदेल―४ संगमचोक, सोलुखुम्वु

सकारात्मक कामको सिको गरौं

साप्ताहिक खबरपत्रिका हिमाल (१८ चैत) मा प्रकाशित 'फोहोरबाट इट्टा' शीर्षकको समाचार पढेपछि सानो प्रयासबाट पनि ठूलो काम हुने प्रष्ट भएको छ। राजधानी काठमाडौंमा थुप्रिने फोहोरलाई सानो प्रयासले पनि व्यवस्थापन गर्न सकिन्छ भन्ने सन्देश दिन सफल भएकोमा अमेरिकी नागरिक जइसे ब्रिनेट धन्यवादका पात्र हुनुहुन्छ। यस्ता असल कामको अरूले पनि सिको गर्नुपर्छ।

हृदयप्रसाद श्रेष्ठ ,जोमसोम―७ मुस्ताङ

comments powered by Disqus

रमझम