२९ बैशाख २०७० | 12 May 2013

कान्दाका स्याउमा पालुवा

Share:
  
- एकल सिलवाल

तस्वीर: एकल सिलवाल
साप्ताहिक खबरपत्रिका हिमाल (१३ फागुन) को देश–दृष्टि स्तम्भमा मिलन बगालेले चितवनको कान्दा गाउँमा रोपिएको स्याउलाई स्थानीय सीमान्तकृत चेपाङहरूको सपनासँग जोडेर चर्चा गरेका थिए। त्यसपछिको अंकमा नेपालमा स्याउखेतीबारे लामो अध्ययन–अनुभव भएका मदन राईको रचनात्मक प्रतिक्रिया पढ्न पाइयो। दुई वर्षदेखि कान्दाकेन्द्रित आत्मनिर्भर अभियान चलाइरहेको मितेरी फाउण्डेशन नेपाललाई काठमाडौंको लक्ष्मी प्रतिष्ठानले जुम्लाबाट स्याउका बिरुवा झ्िकाएर रोप्न सहयोग गरेको थियो।

भोको पेट बाँचिरहेका कान्दावासीलाई आत्मनिर्भर बनाउने कल्याणकारी अभियानसँगै जन्मिएको मितेरी फाउण्डेशन ढुसी रोग, कत्ले कीरा, बोक्रा पाप्रिने (पेपरी बार्क), ध्वाँसे ढुसी (सुटी मोल्ड), रुट रट (जरा कुहिने) आदि रोगबारे स्याउविज्ञ राईले उठाएका चासो र चिन्ताप्रति सचेत छ। राईले उल्लेख गर्नुभए झै कान्दामा ज्यादै असिना पर्ने भएकाले फुल्ने–फल्ने बेला सत्यानाश पारिदिने वा फललाई बिरुप पारिदिने कुरामा पनि सचेत छौं। भारतको हिमाञ्चल प्रदेशदेखि नेपालको जुम्लासम्मका स्याउलाई सताइरहेको गभारो र भुवादार लाहीले कान्दालाई त्यसै नछाड्ला भन्नेमा हामी सम्भाव्यता अध्ययनकै बेलादेखि सतर्क थियौं। हामीले जोखिम र चुनौतीविनाको प्रतिफल नखोजी अनुभवबाट पाठ सिक्दै अघि बढ्ने बाटो रोजेका हौं।

जुम्लाका बागवानी प्राविधिक श्रीबहादुर भण्डारीले कान्दाको स्याउमा जरा कुहिने समस्या सितिमित्ति नदेखिने बताएका छन्। बिरुवा सार्नुअघि नै मौसम र माटोबारे बुझेका भण्डारीले ढुसी, गभारो र भुवादार लाही कीराप्रति भने सचेत हुन भनेका छन्। कान्दामा स्याउका लागि सिंचाइको समस्या चाहिं चर्कै छ। र पनि, किसानले गाग्रामा बोकेको पानी हाल्दै गत माघमा सारिएका बिरुवामध्ये धेरैजसो सरेका छन् र अब तिनलाई निरोगी बनाएर हुर्काउने चुनौती छ।

रोग कीराको प्रकोप त मनाङ, मुस्ताङ, जुम्ला सबैतिर देखिएकै छ। जुनसुकै रोग कीरा लागे पनि नियमित औषधि र हेरचाहबाट नियन्त्रण गर्न सकिएला भन्ने लागेको कान्दामा गोल्डेन डेलिसियस, रेड डेलिसियस, जोनाथन र अन्ना भेरिड स्याउका बिरुवा लगाइएको छ– गाउँको माथिल्लो भागमा 'हाई चिलिङ' र तल 'लो चिलिङ' जात मिलाएर। कुनै एउटा जातलाई रोग कीराबाट बचाउन नसकिए अर्को जात जोगिएला भन्ने आशा छ।

चितवन भित्री मधेशको जिल्ला भएकोले पहाडी खण्डमा घाम नलागेर दाना चम्किलो नहोला भन्ने चिन्ता छैन। असिनाबाट जोगाउन चाहिं फुल्ने र फल लाग्ने बेलामा रूखमा झुल हाल्ने उपाय बागवानी प्राविधिक भण्डारीले बिरुवा रोप्नुअघि नै सुझाएका छन्। सामान्यतया स्याउ खेती १६०० मिटर भन्दा माथिको उचाइमा गर्न सकिने रहेछ। कालीकोट र दैलेखका किसानहरूले त १२०० मिटर उचाइका गाउँहरूमै 'लो चिलिङ' जातका स्याउ फलाएका छन्। १६०० देखि १९०० मिटरसम्मको कान्दामा चुनौती आएछन् भने चिर्दै जाउँला।

कान्दामा स्याउ फलाएर मनग्गे आम्दानी गराउने भन्दा पनि गाउँलेलाई स्याउको स्वाद चखाउने हाम्रो मूल उद्देश्य हो। वर्षको नौ महीनासम्म सिस्नो र जङ्गली कन्दमूलमा आश्रित हुनुपर्दा विषालु च्याउको शिकार हुने गरेका सीमान्तकृत चेपाङ समुदायलाई एक छाक विषालु च्याउको विकल्प एक दाना स्वस्थकर स्याउ बन्न सक्छ भन्ने सन्देश मात्र दिन सके पनि हामी सन्तोष मान्नेछौं। त्यसबाहेक कान्दामा नासपाती, निबुवा, ओखर, कागती, अम्बा, किबी जस्ता अन्य नगदेबालीको बन्दोबस्त मिलाउने कसरत पनि गरिरहेका छौं।

हामी नेपालका अति विपन्न गाउँलाई आत्मनिर्भर बनाउन आफूले सक्ने बाटो खन्ने प्रयत्नमा छौं। मदन राईका जस्ता परिपक्व सुझ्ावहरू हाम्रा लागि मार्गदर्शन हुनेछन्।

मितेरी फाउण्डेशन नेपाल, चितवन

comments powered by Disqus

रमझम