२९ बैशाख २०७० | 12 May 2013

अफगान अफिम र नेपाली रक्सी

Share:
  
- मिलन बगाले

फाइल तस्वीर
पर्सामा लगाइएको अफिम खेती।
चैत अन्तिम साताको समाचार अनुसार, लडाइँबाट जर्जर अफगानिस्तान अफिमको नशामा पनि डुब्न लागेको छ। साढे तीन करोड जनसंख्या भएको अफगानिस्तानमा संसारकै ९० प्रतिशत अफिम उत्पादन भइरहेको छ र करीब १० लाख अफगानहरू त्यसको अम्मली भएका छन्, जसमा युवाको संख्या अधिक छ। उत्रन गाह्रो पर्ने गरी नशामा फसिसकेको अफगानिस्तानको राजधानी काबुलमा खानेकुराको पसलसरह अफिम पसल खुलेका छन्। समाचार अनुसार, युवालाई अफिमको नशामा लट्ठ पारेर आत्मघाती आक्रमणहरूमा परिचालित गरिन्छ।

नेपालमा पनि तराई–मधेशबाट शुरू भएको अफिम खेती पहाडसम्म पुगेको छ। तीन वर्षअघि पर्साको अफिम खेतीलाई 'कभर' बनाएको हिमाल ले ८ वैशाख २०७० को अंकमा बाजुराको कोल्टीमा अफिम छर्न बारी जोतिरहेका किसानको तस्वीर भित्री पेजमा छाप्यो। तर, नेपालका लागि अफिमभन्दा रक्सीको नशा बढी खतरनाक बनिसकेको छ। नेपाली चाडपर्व, जात्रा र उत्सवहरू रक्सी महोत्सवमा परिणत भएका देखिन्छन्। बिहेभोज त बिहेभोजै भयो; बालबालिकाको जन्मदिनमा पनि निम्तालुलाई रक्सी खुवाउन थालेका छन्, शहरवासी नेपाली। रक्सी वर्जित सांस्कृतिक परम्परा भएकाहरू समेत यस्तो अनर्थमा रमाएका देखिन्छन्।

सक्ने भयो रक्सीले

खोजी पस्दा, नेपालमा वर्षेनि अनेक किसिमका ३५ लाख लिटर रक्सी र तीन करोड ५० लाख बोतल बियर उत्पादन हुने गरेको तथ्यांक भेटिन्छ। युरिया मल मिसाइएको रक्सी गाउँ–गाउँमा बन्छ। वर्षेनि रक्सीमा बग्ने रु.३० अर्बमध्ये केही अर्ब विदेश पुग्छ। वर्षेनि भोकमरीमा टाक्सिने जिल्लाहरू पनि रक्सीमा बाह्रै महीना आत्मनिर्भर छन्। प्रशासनले अनिकालमा अन्नको रक्सी पार्नुहुन्न भन्यो भने ढुंगामुढा हुन्छ, जिल्लाहरूमा।

जिल्लाको के कुरा, मापसे गरेर सवारी हाँक्न नपाउँदा राजधानीवासीहरू नै ट्राफिक प्रहरीसँग क्रूद्ध छन्। पाँच हजार रुपैयाँसम्मको मापसे गर्ने ग्राहक पाए गाडीमा राखेर घरसम्मै सवारी चलाउने 'अफर' ल्याएका होटल–रेस्टुरेण्टवालाहरू त झ्नै आगो छन्। प्रतिव्यक्ति मदिरा खपतको हिसाबले संसारकै नम्बर एक जँड्याहाको ताजपोस चेक रिपब्लिकनहरूबाट खोसेर नेपालीको शिरमा पहिर्‍याइदिने उनीहरूको सदासय जो छ। तर, विज्ञानसम्मत तरिकाले मूल्यांकन गर्ने हो भने रक्सी खाएर असामाजिक काम गर्ने मामिलामा नेपालीहरू अहिले नै नम्बर वान भइसकेको परिणाम आउन बेर छैन।

सुनसरीमा घरेलु रक्सी बनाइँदै।
नेपालीहरू रक्सी पार्न असाध्यै सिपालु छन्। उनीहरू मोजा, नानीका थाङ्नालगायतका थोत्रा कपडाबाट समेत खरो रक्सी निकाल्न सिद्धहस्त छन् भन्ने तथ्य बौद्धमा तीनपाने बनाइरहेको टेलिभिजनका दृश्यले स्थापित गरिसकेकै छ। त्यस्ता पदार्थबाट समेत रक्सी झार्न सक्नेहरूका लागि खाद्यान्न र कुहेका फलफूलमा युरिया घोलेर रक्सी बनाउनु बायाँहातको खेल भइहाल्यो। पुलिसलाई हप्तावारी बुझाएर त्यस्तो 'माल' बजारमा पुर्‍याइन्छ।

गत मंसीरमा तोपेथोक (ताप्लेजुङ) का मनकुमार फोम्बे (७४) ले ७० वर्षीया पत्नी मनमायालाई अगुल्टाले हिर्काएर ठहरै पारेको रक्सीले छाडेपछि मात्र थाहा पाए। रक्सीको उन्मादमा नपरेको भए जीवनसाथीको महत्व सबभन्दा राम्ररी बुझने उमेरमा उनीबाट कदापि त्यो पाप हुने थिएन होला। रक्सीजनित अपराधको पराकाष्ठा बुझाउन यो घटना काफी छ। नेपाली महिलामाथि हुने हिंसाको ४२ प्रतिशत हिस्सा रक्सीसँग जोडिएको तथ्य एक अध्ययनले देखाएको छ। सडक दुर्घटना र झ्गडा–फसादको मुख्य कारक रक्सी नै हो। खाने जति सबै हिंस्रक नबन्लान्, तर सबैखाले हिंसाको जड रक्सी नै बनेको छ।

नेपाली समाजको कतिपय तप्कामा रक्सीको सांस्कृतिक महत्व छ। बिहे–पर्वमा मात्र हैन, जन्म र मृत्युमा समेत रक्सीले चोखिने संस्कृति भएका समुदायलाई अरूले 'रक्सी पार्दै नपार, खाँदै नखाऊ' भन्न मिल्दैन। सांस्कृतिक कार्जेहरूमा जाँडरक्सीलाई सांकेतिक प्रयोगमा मात्र सीमित गर्ने पहल सम्बन्धित समुदायकै अगुवाबाट हुनुपर्छ। अन्न सखाप पार्ने घरेलु भट्टीलाई नियन्त्रण गर्दै सिलबन्दी रक्सीमा कर बढाएर नेपालीलाई रक्सीको लतबाट जोगाउन ढिला हुनलागेको छ। रक्सी, अफिमलगायत सबैखाले कुलतबाट जोगिने र जोगाउनेको जय होस्।

comments powered by Disqus

रमझम