२९ बैशाख २०७० | 12 May 2013

हत्यामा 'हिटम्यान'

Share:
  
- डम्बरकृष्ण श्रेष्ठ
अन्तर्राष्ट्रिय अपराधमा पैसा दिएर हत्या गराउने चर्चित 'कण्ट्रयाक किलिङ'को सिकोले नेपाललाई पनि पिरोल्न थालेको छ।

युनुस अन्सारीमाथि गोली प्रहार गर्ने सार्प सूटर जगजीत सिंह।

महोत्तरीका पंकज यादव र किशोरी यादवका हत्याराहरु।

रु.१ लाख ७५ हजार लिएर रोजी महर्जनलाई गोली हान्ने सूटर कुमार तामाङ।

रु.२ लाख ५० हजार लिएर काठमाडौंका फुदोर्ची शेर्पाको हत्या गर्ने फुर्तेन्जी शेर्पा र नीरकुमार कार्की (तल)।

रु.३ लाख रकमको कण्ट्र्याक्टमा मोरङका राजमणि राईको हत्या गर्ने युवाहरु।

६ वैशाखमा स्कुटरमा घर फर्किरहेकी राजधानीको युरो किड्स इन्टरनेशनल स्कूलकी प्रिन्सिपल रमा भट्टराईमाथि मोटरसाइकलमा आएका दुई जनाले पेप्सीकोलामा गोली प्रहार गरे। करोडौं रुपैयाँको ढुकुटी समेत खेलाउँदै आएकी रमामाथि लेनदेनको कुरालाई 'कण्ट्रयाक किलर' हरूले हमला गरेको प्रहरीको आशंका छ। प्रिमियम कलेज सञ्चालक र अखिल नेपाल फूटबल संघ (एन्फा) महिला विभाग उपाध्यक्ष समेत रहेकी उनी अहिले बीएण्डबी अस्पतालमा उपचाररत छिन्। उपत्यकाका प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) नवराज ढकाल फरार अपराधीहरू कसैबाट परिचालित भएको अनुमान लगाउँछन्।

नेपालमा अन्तर्राष्ट्रिय भूमिगत आपराधिक गिरोह (अण्डर वर्ल्ड)ले २०५५–२०६७ बीचमा सार्प सूटर, हिटम्यान समेत भनिने 'कण्ट्रयाक्ट किलर' प्रयोग गरेर ६ जनाको हत्या गरेको र दुई वटा हत्या प्रयास असफल भएको देखिन्छ। त्यसअघि २० भदौ २०४३ मा पत्रकार पदम ठकुराठीको पनि भाडाका 'सूटर' बाटै हत्या प्रयास भएको थियो। त्यस घटनामा समातिएका विकास गुरुङले पैसा लिएर गोली हानेको बयान दिएका थिए। पञ्चायतकालमा तत्कालीन अधिराजकुमारहरू ज्ञानेन्द्र र धीरेन्द्रले चलाएको भनिएको 'भूमिगत गिरोह'को विरोध गरेकाले ठकुराठीलाई मार्न विकास गुरुङ प्रयोग भएका थिए।

पछिल्लो समय नेपाली समाजमा पेशेवर अपराधीलाई रकम दिएर कसैको हत्या गर्ने 'कण्ट्रयाक किलिङ' का घटनाहरू बढेका छन्। यस्तो आपराधिक कार्यको सिको जिल्लाहरूमा समेत खतरनाक रूपमा भइरहेको छ। पारिवारिक सम्बन्ध बिग्रँदा, व्यक्तिगत रीसईवी र चाँडै पैसा कमाउने लोभका कारण 'कण्ट्रयाक्ट किलिङ' बढेको हालसम्मको घटना प्रवृत्तिले देखाउँछ। यस्तो अपराधमा आपराधिक पृष्ठभूमिका व्यक्तिहरूको सम्पर्कबाट उपलब्ध हुने 'कण्ट्रयाक किलर'हरूलाई पैसा दिएर हत्या गराइन्छ। यस्ता घटनामा हत्यारा पक्राउ परे पनि योजनाकार र रकम दिने मुख्य व्यक्ति पहिचान गर्न गाह्रो हुन्छ, 'कण्ट्रयाक किलर' ले मुख खोलेन भने।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का पूर्व प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उपेन्द्रकान्त अर्याल पहिले छिमेकी मुलुकतिर भएको सुनिने 'कण्ट्रयाक किलिङ' अहिले नेपालमा बढेको बताउँछन्। उनका भनाइमा, व्यावसायिक अपराधी बन्ने बढ्दो क्रमसँगै उनीहरूको माग पनि बढेको छ र राजनीतिकदेखि लेनदेन र पारिवारिक विचलनसम्मको मामलामा भाडाका हत्याराको प्रयोग हुन थालेको छ। डीआईजी अर्याल भन्छन्, “यस्तो अपराधमा योजनाकारदेखि पैसा दिने र गोली हान्नेसम्मको तह हुने भएकोले गहिरो अनुसन्धानबाट मात्र मुख्य अपराधीसम्म पुग्न सकिन्छ।”

तराई–मधेशका जिल्लाहरूमा 'कण्ट्रयाक किलिङ' को सहमतिलाई भारततिर जस्तै 'सुपारी दिनु' भनिन्छ। तराईमा भारतीय अपराधी र सशस्त्र समूहहरूलाई 'सुपारी' दिने चलन सामान्य जस्तै भइसकेको छ। तर, श्रीमतीले श्रीमान्, प्रेमीले प्रेमिकाको हत्या गर्न 'सुपारी' दिएर फिल्मी शैलीमा जघन्य अपराध गरेको घटनाहरू अब मधेशमा मात्र सीमित छैन।

श्रीमान् र प्रेमिका मार्नेहरू

काठमाडौं, चपलीकी पासाङ याङ्जी शेर्पाले रु.२ लाख ५० हजार खर्चेर २३ पुस २०६९ मा आफ्नै श्रीमान् फुदोर्ची शेर्पाको बीभत्स हत्या गराइन्। पासाङ नामका अर्का युवकसँग गोप्य सम्बन्ध भएकी याङ्जीले यो कुरा श्रीमान्ले थाहा पाएर झ्गडा गर्न थालेपछि प्रेमीसँग मिलेर 'कण्ट्रयाक किलिङ' को योजना बनाएकी थिइन्। त्यो अपराधको 'कण्ट्रयाक' पूरा गरेका पूर्व माओवादी लडाकू निरकुमार कार्की र फुर्तेन्जी शेर्पासहित याङ्जी र पासाङ अहिले जेलमा छन्।

प्रेमी पासाङ निमा शेर्पा (दायाँ) सँगको मिलेमतोमा पासाङ याङ्जी (बीच)ले आफ्नै पति फुदोर्जी शेर्पा (बायाँ)को हत्या कण्ट्रयाक्ट किलरहरुमार्फत गराएकी थिइन्।

त्यसअघि, १ फागुन २०६८ मा मोरङको लेटाङमा भारतीय गोर्खा सैनिक राजमणि राई (४५) को हत्या उनकै श्रीमती र छोरीले गराएका थिए। राजमणिले दोस्रो विवाह गरेर आफूहरूलाई हेलाँ गरेको झोंकमा श्रीमती सुन्दरी राई (३९) र छोरी सुभद्री (२३) ले छिमेकी हीरालाल सेवामार्फत सुनसरी, तरहराका किरण बुढाथोकी (१७), डिल्ली देवान (२०) र प्रताप राई (१८)लाई रु.३ लाखको 'सुपारी' दिएर हत्या गराएका थिए।

यस्तै, २० साउन २०६८ मा बानेश्वरका सुवास उप्रेतीले रु.१ लाख ७५ हजार खर्चमा ललितपुरकी रोजी महर्जनको हत्या गराए। प्रेम सम्बन्धमा आएको मनमुटावको झोंकमा सुवास आफैंले रोजीलाई ललितपुरको लेले जंगलमा पुर्‍याएर हत्यारालाई सुम्पेका थिए। साथीहरू सञ्चित खड्का र हुसेन राईको साथ पाएका उनले यो हत्याका लागि कुमार तामाङ र राजु लोहारलाई प्रयोग गरेका थिए।

'सुपारी' मा राजनीतिक रङ

तराईका जिल्लाहरूमा अपराधीलाई 'सुपारी' दिएर हत्या गर्ने अनि सशस्त्र समूहलाई जिम्मेवारी लिन लगाउने घटना प्रशस्तै भएको पाइन्छ। सिरहा, सप्तरी, धनुषा, बारा, पर्सादेखि बाँके, बर्दियासम्मका सीमावर्ती क्षेत्रमा यस्ता अपराधले जरा गाडेको छ। वीरगञ्ज, जनकपुर, विराटनगर, नेपालगञ्ज आसपासका क्षेत्रमा बढी भारतीय 'कण्ट्रयाक किलर' हरू प्रयोग हुने गरेको प्रहरी बताउँछ।

३ वैशाखमा जनकपुरको रामजानकी मेडिकल कलेजका सञ्चालकमध्येका एक अशोक सिन्हाका सहायक ओपेन्द्र ओझालाई मोटरसाइकलमा आएका दुई जनाले सिन्हाकै घरमा गोली हानी हत्या गरेर फरार भए। घटनामा महोत्तरीको बथनाहाका दीपक सिंह र दीपेन्द्र ठाकुर प्रयोग भएको सुरक्षा स्रोतको दाबी छ। घटनाको जिम्मेवारी भने जनतान्त्रिक तराई मुक्ति मोर्चाका राजन मुक्तिले लिए।

१३ मंसीर २०६९ मा महोत्तरीको एभरेष्ट चिनी मिलमा ऊखु 'अनलोड' गरेर फर्किंदै गर्दा ट्रकसहित अपहरणमा परेका धनुषाको रमदैया भवाडी–३ का किशोरी यादवको शव १० पुसमा सर्लाहीको भक्तिपुर जंगलमा फेला पर्‍यो। महोत्तरीको सुन्दरपुर–१ का विद्यार्थी पंकज यादव जनकपुरबाट मोटरसाइकलसहित अपहरणमा परेको भोलिपल्ट ५ चैतमा उनकै मोबाइलबाट रु.५० लाख फिरौती मागियो। बाबु श्याम यादवले रु.७ लाख फिरौती बुझाइसकेको अवस्थामा पंकजको शव चैत तेस्रो साता महोत्तरीको रातु खोलामा फेला पर्‍यो। पंकजको हत्या कर्तव्य ज्यान मुद्दामा जलेश्वर कारागारमा रहेका भारतीय नागरिक शशिनाथ झाले रु.२ लाखको 'कण्ट्रयाक्ट'मा गराएको पछि सार्वजनिक भयो। किशोरी यादवको हत्या पनि शशिनाथकै 'कण्ट्रयाक्ट'मा भएको प्रहरीको अनुसन्धानले देखाएको छ। दुवै हत्याको 'सुपारी' आफूले लिएको सिरहाका गणेश महतोले स्वीकारेका थिए।

१६ जेठ २०६९ मा भएको नेपाल रेल्वेका महाप्रबन्धक सुरेश यादवको हत्या तारापट्टी गाविस–१ का हरेशिव यादवको 'कण्ट्रयाक्ट'मा भएको प्रहरीको अनुसन्धानले देखायो। हरेशिव ७ साउन २०६९ मा प्रहरी 'इन्काउन्टर' मा मारिए। त्यसअघि, २५ साउन २०६७ मा महोत्तरीका निमित्त शिक्षा अधिकारी रहेका लालकिशोर झालाई जनकपुरको पगलाबाबा धर्मशाला नजिकै गोली हानियो। रु.५० हजार नगद र नलकटुवासहित समातिएका झाका हत्याराहरूले रु.२ लाख 'सुपारी' लिएर अपराध गरेको स्वीकारेका थिए। सुनीलकुमार अधिकारी, राकेश पाण्डे, शिवकुमार ठाकुर र मनिष जयसवाल प्रयोग भएको झा हत्यामा शिवकुमार 'सूटर' थिए भने रतनसागर मन्दिरका महन्थ वैकुण्ठ दास प्रमुख योजनाकार। मनिष जयसवाल अझै फरार छन् भने प्रमुख योजनाकार दास तारेखमा रिहा भएका छन्।

जिविस धनुषाका निलम्बित सहायक लेखापाल जीवनाथ चौधरी चाहिं दुई पटकको गोली प्रहार र एक पटकको बम विस्फोटबाट जोगिएका भाग्यमानीमा पर्छन्। २०६६ सालमा जनकपुरको संकटमोचन मावि अगाडि छातीमा गोली लागेका चौधरीमाथि २०६७ मा कार्यालय जान लाग्दा दोस्रो पटक गोली प्रहार भयो। १८ वैशाख २०६९ मा रामानन्द चोकमा बम विस्फोट हुनुभन्दा दुई मिनेट अघि मात्रै अर्कैतिर लागेकाले उनी जोगिएका थिए। चौधरीले आफूलाई धनुषा निर्वाचन क्षेत्र नं ४ का पूर्व सभासद् संजय साहले पटक–पटक मार्न खोजेको आरोप सार्वजनिक रूपमै लगाउँदै आएका छन्। उनले तीन महीनाअघि नेपाल प्रहरीका प्रमुख कुवेरसिंह रानालाई समेत भेटेर साह विरुद्ध मौखिक उजुरी दिएका छन्।

स्पाइडर ग्रुपको नाममा फिरौती असुलीका लागि स्वदेशी युवाहरुलाई विभिन्न व्यक्तिको हत्या गर्न 'कण्ट्रयाक्ट' दिने सन्दिप पाठक भनिने मिलन लामा र उनका सहयोगी आकाश केसी (दायाँ)।

१७ फागुन २०६६ मा जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानियालाई शिव चोकमा होली खेलेर घर फर्किंदै गर्दा मोटरसाइकलमा आएका दुई जनाले रङ लगाइदिने वहानामा निधारमा गोली हानेका थिए। त्यसअघि, ५ पुस २०६५ मा पत्रकार उमा सिंहको हत्या भएको थियो। पछि सिंघानिया र उमासिंह हत्याको जिम्मेवारी स्वामीजी भनिने सिरहाका उमेश यादवले लिएका थिए। दुवै हत्यामा 'कण्ट्रयाक्ट किलर' प्रयोग भएको प्रहरी बताउँछ। प्रहरीका अनुसार, २९ असोज २०६७ मा भएको पतनुका–२, बनरझुल्लाका पुजारी हीरालाल महतो र २७ कात्तिक २०६७ मा भएको एमाओवादी जिल्ला नेता मुकेश दत्तको हत्या पनि 'कण्ट्रयाक्ट किलर' बाटै भएको थियो।

वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश खरेल आफू सिरहा र पर्सा जिल्लामा रहँदा 'कण्ट्रयाक्ट किलिङ'का धेरै घटनाहरू पाएको बताउँछन्। पेशेवर हत्यारालाई 'सुपारी' दिएर धेरै हत्याहरू गरिएको पाइए पनि सशस्त्र समूहहरूको राजनीतिक लेपले अनुसन्धानमा कठिनाइ हुने गरेको उनी सम्झ्न्छन्। “मान्छे मार्न ४/५ हजारमै 'कण्ट्रयाक्ट किलर'हरू तयार भएको घटनाहरू छन्”, एसएसपी खरेल भन्छन्, “तर, राजनीतिक दलहरूको संरक्षणका कारण अपराधी पक्राउ गर्न पनि समस्या हुने गरेको छ।”

७ भदौ २०६९ मा मधेशी जनअधिकार फोरमको मजदूर युनियनका केन्द्रीय महासचिव रामाशंकर मण्डलमाथि दुई युवकले वीरगञ्जको मुरलीचोकमा गोली प्रहार गरेर फरार भए। ५ माघ २०६९ मा वीरगञ्जको घण्टाघर नजिकै रेडरोज गेष्ट हाउसबाट पक्राउ परेका पाँच भारतीय पेशेवर अपराधीबाट एक थान कटुवा र ८ राउण्ड गोली बरामद भएको थियो। यी सबै अभियुक्तहरू 'कण्ट्रयाक्ट किलिङ' मा सक्रिय रहेको पर्साका प्रहरी उपरीक्षक पीताम्बर अधिकारीले हिमाल लाई बताए।

नेपालमा 'कण्ट्रयाक किलिङ'

१४ वर्षअघि भएको तत्कालीन सांसद् मिर्जा दिलसाद बेगको हत्या नेपाली अपराधमा 'कण्ट्रयाक किलिङ'को सुरुआत थियो। १८ जेठ २०६९ को दिनदहाडै गोली हानेर सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या गरियो। हालसम्म हत्यारा र योजनाकारको पहिचान नभएको त्यो हत्यालाई 'कण्ट्रयाक किलिङ'को ज्वलन्त उदाहरण मान्छन्, अपराधशास्त्री रजितभक्त प्रधानाङ्ग। उनी नेपालमा यो समस्या खासगरी २०६२/६३ पछि बढेको बताउँछन्। माओवादी सशस्त्र द्वन्द्व स्थगित भएपछि समाजमा यस्ता अपराध झाङ्गिदै गएको बताउँदै प्रधानाङ्ग भन्छन्, “अरू सशस्त्र समूहका व्यक्ति र भगौडाहरू प्रयोग हुँदा यो समस्या गहिरिएको छ।” (हे. छुट्टै टिप्पणी)

२०६३ सालतिर राजधानीमा विभिन्न घराना तथा व्यवसायीहरूलाई रकम माग गर्दै नदिए हत्या गर्ने धम्की दिने 'ब्ल्याक स्पाइडर' समूहका नाइके मिलन लामाले भारतमै बसीबसी 'कण्ट्रयाक किलर'हरूको प्रयोग गरेका थिए। उनको समूहमा प्रहरी र सेनाका भगौडाहरू पनि भएको वैदेशिक रोजगार व्यवसायी एलपी साँवा सम्झ्न्छन् (हे.बक्स)। सन्दीप पाठक पनि भनिने मिलन लामाले साँवा, काठमाडौं मेडिकल कलेज (केएमसी) का प्रिन्सिपल डा. हेमाङ्ग दीक्षित र सञ्चालक डा. वीरमानशमशेर राणामाथि गोली प्रहार गराएका थिए।

कण्ट्रयाक्ट किलरमार्फत ललितपुरकी रोजी महर्जनको हत्या गराउने सुवास उप्रेती।

धम्की, अपहरण, लागूऔषध र हत्या प्रयास लगायतका २० वटा अभियोग लागेपछि दिल्लीमा लुकेका लामालाई समात्न प्रहरी प्रधान कार्यालयले इन्टरपोलको सहयोग लिएको थियो। २०६७ मंसीरमा लामा पक्राउ परेपछि मात्र नेपालमा उनको समूहको आतंक रोकिएको थियो। उनको 'ब्ल्याक स्पाइडर' समूहले डाक्टर, अस्पताल सञ्चालक, वैदेशिक रोजगार व्यवसायी र अन्य व्यवसायीहरूलाई धम्की दिएर मोटो रकम असुल्थ्यो। लामाले डा. दीक्षितसँग रु.२ करोड र एलपी साँवासँग रु.४ करोड माग गर्दा नदिएपछि 'कण्ट्रयाक किलर' परिचालन गरेका थिए।

थाइल्याण्ड र भारतमा बसेर नेपालमा आतंक मच्चाउने गरेका लामा २०६४ कात्तिकमा पेस्तोलसहित पटनामा बिहार प्रहरीको हातमा परेपछि दिल्ली जेलमा २७ महीना थुनिएका थिए। त्यहाँबाट तारेखमा रिहा भएपछि उनी अपराधकै संसारमा फर्किए। उनीबाट भाटभटेनी सुपरमार्केट सञ्चालक मीनबहादुर गुरुङ, वैदेशिक रोजगार व्यवसायी निर्मल गुरुङ, शर्मा एण्ड शर्मा कम्पनीका रमेश शर्मा लगायतका १४ जना व्यवसायी पीडित थिए। लामा समातिएपछि धेरैलाई ढुक्क भएको प्रहरी अधिकृतहरू बताउँछन्। प्रहरीले १७ चैत २०६३ मा केदार श्रेष्ठ, मनोज तामाङ, वीरबहादुर खत्री (आकाश केसी), गणेशबहादुर लामाको समूहलाई पक्राउ गरेपछि दिल्लीमा मिलन लामा लुकेको ठाउँ ठेगाना खुलेको थियो।

उपत्यका प्रहरी प्रमुख एआईजी नवराज ढकाल अपराधमा बढ्दो युवा समूहहरूको सक्रियताले 'कण्ट्रयाक किलिङ' जस्तो अपराधले बढावा पाएको बताउँछन्। उनका भनाइमा, छिमेकी भारतमा धेरैअघि देखापरेको हत्याको लागि 'सुपारी' दिने चलनले नेपाली समाजमा पनि जरा गाडिसकेको छ (हे. बक्स)।

एसएसपी रमेश खरेल सामान्य लेनदेनको केसमा पैसा उठाउन प्रयोग हुने भाडाका गुण्डा विस्तारै 'हार्डकोर किलर' बन्दै जाने बताउँछन्। लेनदेनका मुद्दा प्रहरीले हेर्न नमिल्ने भएकाले गुण्डाहरूले यसको फाइदा लिएको र तिनलाई राजनीतिक पार्टीका भ्रातृ संगठनहरूले संरक्षण दिइरहेको एसएससी खरेल बताउँछन्। उनी भन्छन्, “पैसाको लेनदेनमा गुण्डाहरूको दबदबा बढ्दै जाँदा 'सूटर'हरू पनि बढ्दै जान्छन्।”

*साथमा ईश्वरचन्द्र झा जनकपुर, कमल रिमाल विराटनगर


'अपराधमा खतरनाक सिको बढेको छ'

नवराज ढकाल, एआईजी, उपत्यका प्रहरी प्रमुख

भारतको मुम्बई महानगरमा 'सुपारी' लिएर हत्या गरेको घटनाहरू धेरै अगाडि शुरू भएको हो। अरू मुलुकहरूमा पनि आफ्नो रीसईवी भएको व्यक्तिमाथि 'कण्ट्रयाक्ट किलर' लगाएको घटनाहरू धेरै छन्। अहिले त यो नेपालकै लागि पनि ठूलो समस्या भएको छ। फिल्म र मिडियाहरूमा आएका समाचारहरूले यसको सिको गर्न सजिलो बनाइदिएको छ। 'सूटर'हरूलाई पैसा दिएर हत्या गर्न लगाएको घटनाहरूसँगै श्रीमतीले श्रीमान्माथि 'कण्ट्रयाक्ट किलर' लगाएका घटनाहरू ज्यादै गम्भीर प्रकृतिका छन्।

बेरोजगार, लामो समय हिंसात्मक द्वन्द्वमा फसेर समाजमा पुनर्स्थापित हुन नसकेका र हतियारले पैसा कमाउँछ भन्ने मानसिकताका युवकहरू 'कण्ट्रयाक्ट किलर' बन्छन्। मुलुकको लामो संक्रमणकालीन राजनीतिक वातावरणका कारण हतियारको उपलब्धता पनि छ। जे गरेर भए पनि चाँडै पैसा कमाउने होडबाजीले युवा समूहलाई संगठित अपराधतर्फ धकेलेको छ। त्यस्ता युवकमा पैसाका लागि मान्छेको हत्या गर्ने आँट बढेको छ। द्वन्द्वकालमा हतियारको अनुभव सँगालेका र बेरोजगारीबाट आजित भएका युवालाई अपराधीहरूको सम्पर्कबाट जोगाउनु आवश्यक छ।


विदेशी 'कण्ट्रयाक्ट किलर'का नेपाली शिकार

मृतक मिर्जा दिलसाद वेग, मृतक जमीम शाह, मृतक फेजान अहमद, मृतक युनुस अन्सारी

विगतमा मुम्बई 'अण्डर वर्ल्ड'ले 'कण्ट्रयाक किलर' मार्फत मिर्जा दिलसाद बेग (१५ असार २०५५), कमलसिंह नेपाली (२४ भदौ २०६३), जमीम शाह (२४ माघ २०६६), फैजान अहमद (९ असार २०६८) लगायतका व्यक्तिहरूलाई काठमाडौंमा दिनदहाडै गोली हानेर मार्‍यो। नेपालगञ्जमा नक्कली भारतीय रुपैयाँका कारोबारी अब्दुल मजीत मनिहार (१९ असोज २०६६) र बुटबलका सौकत बेग (१० पुस २०६६)को हत्या गर्ने पनि त्यही अन्तर्राष्ट्रिय गिरोह थियो।

नेपालगञ्जका मनिहारको हत्या गर्ने भारतीय भाडाका 'सूटर' जगजीत सिंहले जाली नोट र लागूऔषध कारोबारमा समातिएका युनुस अन्सारीमाथि २६ फागुन २०६७ मा केन्द्रीय कारागारभित्रै गोली प्रहार गरेका थिए। उल्लिखित हत्या र गोली प्रहारको घटनाबारे अनुसन्धान गर्न पूरै राज्यसंयन्त्र लागे पनि मुख्य योजनाकारसम्म पुग्न सकेको छैन। सबै हत्यामा 'सार्प सूटर'हरू प्रयोग गरिएको छ। जमीम शाहको हत्याको जिम्मा लिने 'अण्डरवर्ल्ड ग्याङ स्टार' भरत नेपालीलाई 'अण्डरवर्ल्ड' भित्रकै प्रतिद्वन्द्वीहरूले २०६७ फागुनमा बैंकक्मा गोली हानी मारे।

जमीम शाहको हत्याको योजनाकार लखनऊ जेलमा रहेका भारतीय आपराधिक समूहका नाइके बब्लु श्रीवास्तव थिए। त्यो हत्याको 'सुपारी' बब्बु भनिने दीपक शाहीले लिएका थिए, जसमा भारतबाट बोलाइएका दुई जना 'सूटर' प्रयोग गरियो। बब्बुसहित हत्यामा संलग्न एम वकार हैदर (मोहमद हैदर), दिलीप शाही, सुनिल सिंह र सरजी (दान उदिर) लगायत भारतीय नागरिक हुन्। उनीहरू सबै फरार छन्। हत्याको योजनामा सघाउने नेपाल प्रहरीका बहालवाला सई प्रकाश क्षेत्री पक्राउ परे भने पूर्वडीएसपी जगदीश चन्द फरार भए। सहयोगी भूमिका खेल्ने किशोर खड्का र लक्ष्मण धमला पनि पक्राउ परेका छन्, तर प्रहरी भारतीय 'सार्प सूटर'सम्म पुग्न सकेको छैन।

४ चैत २०६५ मा 'अण्डर वर्ल्ड'का छोटा राजन समूहका गणेश सिंह 'टिकु', अनिल बानियाँ 'विक्की' र मुकेश दासलाई प्रहरीले काठमाडौं सिफलबाट हतियारसहित पक्राउ गरेको थियो। उनीहरूको साथबाट दुई थान एसएमजी, एक थान साइलेन्सर जडित एके ४७ राइफल, ४ थान पेस्तोल र गोली भरिएका २४ वटा म्यागजीन बरामद भएको थियो। प्रहरीका अनुसार, त्यसबेला भैरव सिंह नामक योजनकारको उपस्थितिमा 'सार्प सूटर'हरूलाई हतियार दिन जाने क्रममा उनीहरू समातिएका थिए। तीमध्येका गणेश सिंह आफैं पनि पेशेवर 'सार्प सूटर' हुन्।


'भाग्यले बाँचे'

एलपी साँवा, पूर्व अध्यक्ष,

वैदेशिक रोजगार व्यवसायी संघ

१६ माघ २०६३ बिहान १० बजेतिर मण्डिखाटारको घरबाट गाडीमा लाजिम्पाटस्थित वैदेशिक रोजगार व्यवसायी संघको कार्यालय जाँदै गर्दा चप्पल कारखाना नजिकै मोटरसाइकलमा आएका दुई व्यक्तिले मलाई हानेको गोली सीटमुनि लाग्यो। गाडीको अगाडिबाट दोस्रो गोली हान्न लाग्दा मोटरसाइकलको सन्तुलन बिग्रेर पेस्तोल भुईंमा खसेपछि उनीहरू भागे।
गोली प्रहार हुनुअघि निरन्तर फोनबाट वैदेशिक रोजगार व्यवसायीहरूबाट उठाएर रु.४ करोड दिन माग गरिएको थियो। नम्बर नदेखिने फोन र एसएमएसबाट 'पैसा ठीक पार, नत्र मर्छस्' भनेर धम्की आउँथ्यो। त्यही दिन पनि 'आज बाँचिस्, भोलि मर्छस्' भन्दै फोन गरेको थियो। दुई/तीन महीना यस्तै धम्की आइरह्यो।

त्यसको एक वर्षपछि सन्दिप पाठक भनिने ब्ल्याक स्पाइडर ग्रुपका मिलन लामा र उनको समूहका मान्छेहरू पक्राउ पर्न थालेपछि भने धम्की आउन छाड्यो। मलाई गोली हान्न उसैले 'कण्ट्रयाक किलर'हरू पठाएको हो। उससँग भगौडा प्रहरी, सैनिक र खेलाडीहरू थिए।


जनकपुर विस्फोट पनि कण्ट्रयाक्टमै!

कलाकार रञ्जु झा (बायाँ)सहित पाँच जनाको हत्या हुने गरीको जनकपुर विष्फोटका लागि प्रयोग भएका व्यक्तिहरु।

एक वर्षअघि जनकपुरको रामानन्द चोकमा भएको बम विस्फोटमा 'कण्ट्रयाक किलर'हरू नै प्रयोग भएको प्रहरी अनुसन्धानले देखाएको छ। पाँच जनाको मृत्यु र तीन दर्जनभन्दा बढी अंगभंग भएको त्यो विस्फोटको जिम्मेवारी लिन राजन मुक्ति र मुकेश चौधरी समूहको होड चलेको थियो। विस्फोटको १८ दिनपछि तत्कालीन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख उपेन्द्रकान्त अर्यालको टोलीले गरेको अनुसन्धानको क्रममा बिस्फोट 'कण्ट्रयाक्ट'मा भएको पाइएको थियो।

बम विस्फोटका लागि भएको रु.५ लाखको 'कण्ट्रयाक्ट'मा काठमाडौंको कान्तिपथस्थित मनी ट्रान्सफरबाट घटना अघि चौधरीको नाममा रु.१० हजार पेश्की पठाइएको प्रहरीले पाएको थियो। तर, थप प्रमाण जुटाउन नसक्दा अनुसन्धान अघि बढ्न सकेन। राजन मुक्ति र मुकेश चौधरीलाई घटनाको जिम्मेवारी लिन लगाएर विस्फोटको योजनाकार उम्केको प्रहरीको अनुमान छ। हाल महानगरीय ट्राफिक महाशाखाका प्रमुख रहेका तत्कालीन सीआईबी प्रमुख अर्याल भन्छन्, “जनकपुर बम काण्ड पैसा दिएर गराइएको आमहत्या हो भन्नेमा शंका छैन।”

अञ्चल प्रहरी कार्यालय जनकपुरले बम विस्फोटको 'कण्ट्रयाक्ट किलर' सप्तरी बिसहरियाका जयप्रकाश चौधरी, धनुषा सपहीका सुरेशकुमार कर्ण, महोत्तरीको मडैका रिपेन्द्र झा र भूतही पटेर्वाका मुकेशकुमार कर्ण रहेको दाबी गरेको थियो। चौधरी विस्फोट भएकै दिन जनकपुरबाट पक्राउ परेका थिए। प्रहरी अनुसन्धानले घटनाका प्रमुख योजनाकारको रूपमा किटान गरेको अर्जुन सिंह भनिने सन्तोष चौधरी भने अझै फरार छन्। घटनाको जिम्मेवारी लिएका राजन मुक्तिलाई पनि प्रहरीले फरारको सूचीमै राखेको छ। एउटा टेलिभिजन च्यानलले सार्वजनिक गरेको अडियो टेपमा जनकपुर क्षेत्र नं ४ का तत्कालीन सभासद् संजय साह र मुकेश चौधरीबीचको टेलिफोन वार्तालाई पनि प्रहरीले अनुसन्धानमा उपयोग गर्न सकेन।

comments powered by Disqus

रमझम