२९ बैशाख २०७० | 12 May 2013

ब्राउजरको टक्कर

Share:
  
कुनै बेला एकछत्र राज गरेको माइक्रोसफ्टको इन्टरनेट एक्स्प्लोरर अहिले अरू ब्राउजर डाउनलोड गर्न मात्र प्रयोग हुन्छ भनेर ठट्टा गरिन्छ।

इन्टरनेटको महासञ्जालमा छिर्ने ढोका हो, ब्राउजर। विश्वव्यापी इन्टरनेट सञ्जाल डब्लुडब्लुडब्लुमा भएका कुराहरू ब्राउजर एप्लिकेशनकै माध्यमबाट हामीसम्म आइपुग्छन्। इन्टरनेट वा वेबमा भएका जानकारीहरू प्रयोगकर्तासम्म ल्याइपुर्‍याउनु र अरू जानकारी तथा सूचनाहरू खोज्न सघाउनु वेब ब्राउजरको मुख्य काम हो। प्रयोगकर्ताले ब्राउजरको एड्रेस बारमा कुनै वेब–ठेगाना लेखेर आफूलाई चाहिएका जानकारी खोज्छन्। इन्टरनेट एक्स्प्लोरर, गुगल क्रोम, मोजिला फायरफक्स चल्तीका ब्राउजर हुन्। यी तीनका बीचमा लामो समयदेखि प्रतिस्पर्धा चलिरहेको छ।

सन् १९९० मा आएको वर्ल्डवाइड वेब नै पहिलो वेब ब्राउजर हो। १९९५ मा निस्केको माइक्रोसफ्ट इन्टरनेट एक्स्प्लोररले लामो समयसम्म ब्राउजर दुनियाँमा राज गर्‍यो। त्यसपछि २००२ मा आयो, मोजिलाको फायरफक्स। फायरफक्सको आगमनले इन्टरनेट एक्स्प्लोररलाई पछि पार्न थालिरहँदा २००८ मा गुगलले निकालेको क्रोमले आश्चर्यजनक सफलता पायो। माइक्रोसफ्टको विण्डोज इन्स्टल गरेपछि आफै इन्स्टल हुने इन्टरनेट एक्स्प्लोररको पछिल्लो संस्करण यही वर्षको शुरूमा आयो। स्ट्याट काउण्टर नामक वेबसाइटका अनुसार, अहिले विश्वमा करीब ३८ प्रतिशत इन्टरनेट प्रयोगकर्ता गुगल क्रोम चलाउँछन्। इन्टरनेट एक्स्प्लोरर २९ प्रतिशत र फायरफक्स करीब २१ प्रतिशत प्रयोगकर्ताले चलाउँछन्।

धेरैपछि आए पनि वेब ब्राउजरको लडाइँमा गुगल क्रोम अगाडि छ। माइक्रोसफ्ट इन्टरनेट एक्स्प्लोरर चाहिं अहिले अरू ब्राउजर डाउनलोड गर्नलाई प्रयोग हुने ठट्टा प्रविधि पण्डितहरूबीच चल्ने गरेको छ। साँच्चै कम प्रभाव भएको ब्राउजर चाहिं ओपेरा हो।

एप्पलका लागि पनि यी ब्राउजरहरू उपलब्ध छन्। तर, एप्पलमा सफारी बढी प्रयोग हुन्छ। सबैजसो ब्राउजरले मोबाइलको लागि समेत एप्लिकेशनहरू बनाएका छन्। आफ्नो अग्रता कायम राख्न सबैजसो ब्राउजरहरू नयाँ–नयाँ सुविधा र प्लगइनहरू थप्दै जान्छन्। कतिपय ठाउँमा एउटा ब्राउजरले अर्कोको लोगो प्रयोग गरेर त्यसमाथि आफू हावी भएको देखाउन खोज्छन्, प्रचार–प्रसारको क्रममा। जति नयाँ संस्करण आए पनि प्रयोगकर्ताहरूको जोड भने कुन ब्राउजर सबैभन्दा छिटो खुल्छ, कुनको सेक्युरिटी प्रोभिजन बलियो छ भन्नेमा नै हुन्छ। त्यसकारण, वेब ब्राउजर बनाउने कम्पनीहरूले प्रयोगकर्ताहरूको रिभ्यु हेरेर परिमार्जन गर्नुको विकल्प छैन।

कुन छान्ने

ब्राउजरको भीडमा कुन ब्राउजर छान्दा राम्रो होला भन्ने द्विविधा हुनु स्वाभाविकै हो। किनभने, हेर्दा राम्रो सबै ब्राउजर साँच्चै राम्रो हुन्छ भन्ने हुँदैन। ब्राउजर छान्नका लागि सबैभन्दा पहिले ध्यान दिनुपर्ने कुरा हो, त्यसको सुलभता। इन्टरनेटमा कहाँ डाउनलोड गर्न सकिन्छ, डाउनलोड गर्दा पैसा तिर्नुपर्छ कि पर्दैन जस्ता कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ। त्यसपछि आउँछ, स्पीडको कुरा। समयको सीमितताले बाँधेको हाम्रो दैनिकीलाई धेरै घटाउने इन्टरनेट ब्राउजर छान्न सकिंदैन।

गुगल क्रोमले पछिल्लो पटक ल्याएको एउटा राम्रो सुविधाका कारण यसलाई धेरै प्रयोगकर्ताहरू छिटो चल्ने ब्राउजर मान्छन्। क्रोमको एड्रेस बारमा www.goo..... टाइप गर्दै गर्दा गुगल ब्राउज हुन थालिहाल्छ। त्यसले प्रयोगकर्ताको समय बचाउने नै भयो।

सेक्युरिटी र प्राइभेसी अर्को विचारणीय पक्ष हो। हुन त सेक्युरिटी र प्राइभेसीको ओभरलोडका कारण इन्टरनेट एक्स्प्लोरर आउटडेटेट भएको विश्वास गरिन्छ। तर, पछिल्लो समय आएका ब्राउजरले केही परिमार्जनका साथ त्यसलाई प्राइभेट ब्राउजिङ्ग गर्न मिल्ने सुविधा थपेका छन्। ब्राउजर छान्दा त्यसमा प्राइभेट ब्राउजिङ्गको सुविधा छ या छैन भनेर हेर्नु बुद्धिमानी हुन्छ। त्यो नभएको अवस्थामा आफूले इन्टरनेट चलाउने कम्प्युटरमा अरूले आफ्नो गोप्यता थाहा पाउन सक्छन्।

निरन्तर अपडेट हुने सुविधालाई पनि ध्यान दिनु आवश्यक छ। प्रयोगकर्ताले दैनिक नयाँ–नयाँ अपेक्षासँगै समस्यासँग साक्षात्कार गरिरहने हुनाले ब्राउजरहरू बारम्बार अपडेट हुन्छन् कि हुँदैनन् भनेर ध्यान दिनुपर्छ। जहाँसम्म हेर्दा राम्रोको कुरा छ, त्यसलाई अन्तिम प्राथमिकतामा राख्दा बुद्धिमानी ठहर्छ।

गणेश आचार्य

comments powered by Disqus

रमझम