अखिल तराई मुक्ति मोर्चाका कार्यकर्ताले १० फागुनमा मालपोत कार्यालय बाराका नायव सुब्बा माधव थापाको हत्या गरेका छन् । त्यसको एक दिनअघि ९ गते विद्यालयबाट फर्किरहेका सप्तरी, राजविराजका नौ वर्षीय आयुष साहको अपहरण भएको थियो भने तीन दिनपछि १३ गते सिरहाको भवानीपुर, धनगढाका मोहम्मद यकूको हत्या भयो । पछिल्लो हत्याको जिम्मेवारी कुनै समूहले लिएको छैन ।
यी घटना हुनुअघिसम्म अपहरण, हत्या, चन्दा आतङ्क जस्ता अपराध निकै कम भएको स्थानीय अधिकारकर्मीहरूले पनि अनुभव गर्न थालिसकेका थिए । गाउँ–गाउँमा प्रहरी उपस्थिति बढेको र जनजीवन–पेशाव्यवसाय सहज हुँदै गएको राष्ट्रिय मानवअधिकार आयोगका पूर्वाञ्चल क्षेत्रीय संयोजक सुवर्ण कर्माचार्यको आकलन थियो । महोत्तरीका प्रहरी उपरीक्षक संजयराज शर्माले भनेका थिए, “तराईमा अब सुरक्षा स्थिति नियन्त्रणमा छ ।”
सुरक्षा सफलता
४ फागुनको एकैदिन भारत, बिहारको मधुवनी (लदनिया) थानाले सिरहा प्रहरीको ‘मोस्ट वान्टेड’ सिरहा जझैंलाका असेन्द्र यादव र सिरहाकै सीतापुरमा नेपाल प्रहरीले महादेव–७ पार्तहाका उमेशकुमार यादवलाई समात्यो । प्रहरीका अनुसार हत्या, अपहरणलगायत एक दर्जन अभियोग लागेका ‘अखिल तराई मुक्ति मोर्चा’का उमेशकुमार १० जेठ २०६४ मा डाँका मुद्दामा पक्राउ परेर धरौटीमा छुटे लगत्तै हातहतियार तथा खरखजाना अभियोगमा समातिएका थिए । सिरहा कारागारबाट २९ असार २०६५ मा फरार उनले २० कात्तिक २०६६ मा तुनुवापटीका विजय सहनीको हत्या गरेको प्रहरीको भनाइ छ ।
महेशपुर प्रहरी चौकी आक्रमण गरेर प्रहरी जवान विरजु यादवको हत्यालगायत अपहरण, फिरौती असुलीलगायतका अभियोग लागेका असेन्द्र ‘मधेश राष्ट्रिय जनतान्त्रिक पार्टी (क्रान्तिकारी)’ का सदस्य हुन् । ‘जनतान्त्रिक तराई मुक्ति मोर्चा’ (राजन मुक्ति समूह) का सप्तरी ईन्चार्ज विनयकुमार पाण्डे पनि १० फागुनमा धनुषाको चक्करमा घरैबाट पक्राउ परेका छन् ।
‘मधेश राष्ट्रिय जनतान्त्रिक पार्टी (क्रान्तिकारी)’ का अध्यक्ष रामनारायण महतो (मेनेजर महतो) सिरहा प्रहरीबाट मारिएपछि र उनका प्रवक्ता विवश विद्रोही (रामवृक्ष महतो)सहित पाँच केन्द्रीय सदस्य भारतमा पक्राउ परेपछि सिरहा र आसपासका क्षेत्रको आपराधिक गतिविधिमा ह्रास आएको छ । प्रहरीले ‘नेपाल डिफेन्स आर्मी’का अध्यक्ष रामप्रसाद मैनाली र ‘जनतान्त्रिक तराई मुक्ति मोर्चा’ (रणवीर समूह)का कमाण्डर रामनारायण यादवलाई सात कार्यकर्तासहित पक्राउ गरेको छ । ७ असोज २०६६ मा प्रहरीले गरेको ‘कारबाही’मा ‘जनतान्त्रिक तराई मुक्ति मोर्चा’ (ज्वाला सिंह)का क्षेत्रीय ईन्चार्जद्वय भुवनेश्वर यादव र सैतान सिंहसँगै सप्तरी कमाण्डर भवानी सिंह पनि मारिए । सो समूहका अन्य दुई नेता पनि गएको २६ असोजमा प्रहरीको हात परेका थिए । २०६६ पुसदेखि २०६७ पुससम्म मध्य–तराईमा प्रहरीले सशस्त्र समूहका नेता कार्यकर्तालाई समात्न ठूलो सफलता हासिल गरेको सुरक्षा अधिकारीहरू बताउँछन् ।
३ असोज २०६५ मा पर्सा जिल्ला प्रशासनका शाखा अधिकृत मोहन मैनालीको हत्या र ३१ साउन २०६४ मा बिरुवागुठीका शिक्षक महेन्द्र तामाङमाथि गोली प्रहार गर्ने पटेल नै थिए । प्रहरीका अनुसार, पर्सा क्षेत्रका सबै भूमिगत समूहसँग सहकार्य गरेका पटेल बारा–पर्सा औद्योगिक करिडोरमा हप्तावारी असुल्नेमा प्रमुख थिए । सीमावर्ती रक्सौलमा बसेर अपराध गर्ने उनीलगायतका अपराधीलाई चुस्त प्रहरी परिचालन, आपसी समन्वय र भारतीय प्रहरीसँगको सहकार्यबाट समाउन सकेको प्रजिअ झ बताउँछन् ।
गएको २४ असारमा दुई वर्षदेखि अवरुद्ध नेपाल–भारत जिल्लास्तरीय सुरक्षा समन्वय समितिको बैठक बसेपछि सीमा क्षेत्रमा सुरक्षा चौकसी बढेको हो । प्रत्येक नौ महिनामा हुनुपर्ने बैठक असारयता तीन–तीन महिनामा हुन थालेको महोत्तरीका प्रहरी उपरीक्षक संजयराज शर्मा बताउँछन् । सीमा क्षेत्रका नेपाली र भारतीय प्रशासकहरूबीच हुने यस्ता बैठकमा दुवैतर्फका सशस्त्र भूमिगत सङ्गठन, लागूऔषध, हतियार, नक्कली नोट, सीमा विवाद, तस्करी, विदेशीको आगमन नियन्त्रणलगायतका विषयले प्राथमिकता पाउँछन् ।
२४ असारको सीमा सुरक्षा बैठकमा मोतीहारी जिल्लाका एसपी पारस नाथले पेश गरेका बिहारमा ‘मोस्ट वान्टेड’ सूचीका १७ नेपाली अभियुक्तमध्ये बारा जीतपुरका सदरे आलमसहित चार जना नेपाल प्रहरीसँगको झ्डपमा मारिइसकेको स्रोत बताउँछ । भारतीय अपराधी छोटेलाल सहनीको समूहमा काम गरेका आलमलाई सादा पोशाकमा आएको पर्सा प्रहरीको एक टोलीले २१ कात्तिक २०६४ मा वीरगञ्जको श्रीराम हलअगाडि गोली हानी मारेको थियो ।
बाटो नपाएर गिरफ्तारी
तराई–मधेशमा हिंसाको राजनीति असफल भइसकेको विश्लेषण गर्नेहरू कौटिल्य समूहको आत्मसमर्पणलाई हतियारको राजनीतिको औचित्य सकिन लागेको सङ्केत मान्छन् । त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरमा राजनीतिशास्त्रका प्राध्यापक लालबाबु यादव भन्छन्, “स्पष्ट राजनीतिक दृष्टिकोण नभएका हतियारधारी समूहहरूको गिरफ्तारी आफैंमा राम्रो सङ्केत हो ।” जनकपुरका बुद्धिजीवी रामस्वार्थ राय बन्दुकबाट अपराध मात्र जन्मिने हुनाले गोइत र ज्वाला सिंहलगायत सबै सशस्त्र समूहले आफ्ना जायज माग पूरा गराउन शान्तिपूर्ण आन्दोलनमा आउनुपर्ने बताउँछन् ।
तत्कालीन माओवादीपछि मधेशमा २०६१ साउनमा जयकृष्ण गोइतले छुट्टै मधेश राज्यको माग गर्दै सशस्त्र गतिविधि थालेपछि शुरु भएको सशस्त्र गतिविधि अहिले गनिनसक्नु समूहमा फैलिएका छन् । गोइतको कदमपछि आफू पछिपरिने कतिपय नेताको डरका कारण छोटो समयमै अनेकौं सशस्त्र समूह जन्मिए, राजनीतिको नाममा अपराधले मलजल पायो । परिणाम, ती समूहबाट हालसम्म मधेशका विभिन्न जिल्लामा १०० भन्दा बढीको हत्या भएको छ (हे. टेबल) ।
पुस २०६४ मा तत्कालीन शान्ति मन्त्री जनार्दन शर्मासँग जनकपुरमा वार्ता गरेका कौटिल्य ३ पुस २०६६ मा पर्सामा एक प्रहरीको हत्यापछि भूमिगत भएका थिए । भारतमा चलखेल गर्न अप्ठ्यारो भएको पछिल्लो अवस्थामा नेपाल प्रहरीले पनि यथेष्ट सूचना लिइसकेकाले उनले गिरफ्तारी दिएको सुरक्षा स्रोत बताउँछ । कौटिल्यको स्व–गिरफ्तारीपछि तराईमा सकारात्मक असर पर्ने मानवअधिकारवादीहरू बताउँछन् ।
साथमा अजय अनुरागी, जनकपुर