उतिवेला सिंहदरबारमा सबै मन्त्रालय एउटै भवनमा अटाउँथे । मन्त्रालयको संख्या पनि अहिले जति थिएन । अझ् लोकसेवा आयोग, महालेखा परीक्षकको कार्यालय, प्रहरी प्रधान कार्यालय, भ्रष्टाचार निवारण कार्यालय, गुप्तचर जस्ता कार्यालयहरू पनि सिंहदरबारमै अटाएका थिए । दिउँसो तीन बजेपछि सर्वसाधारण पनि सिंहदरबारभित्र निर्वाध रूपमा पस्न पाउँथे ।
सिंहदरबारभित्र पस्ने मूल ढोका पश्चिमतिर थियो । जहाँ हेड पियन चन्द्रबहादुर एउटा छडी लिएर बस्थे । सेतो कमिज–सुरुवाल, कालो भादगाउँले टोपी र प्रायः वेष्टकोट लगाउने उनी जाडोमा भने कोट पनि लगाउँथे । गोटीवाला जुत्ता लगाउने उनी निकै फूर्तिला थिए ।
मुख्य सचिव चन्द्रबहादुर थापा भने सधैं दौरा–सुरुवाल, वेष्टकोट–कोट लगाउने, टोपी फेरी–फेरी लगाउने अग्ला कदका थिए । मुख्य सचिव हुँदा सिंहदरबारको दक्षिण ढोका माथिका तीन वटा कोठा उनको कार्यालय थियो ।
नूनको सोझो
काठमाडौंको गोकर्णेश्वर आसपास काँठ क्षेत्रका चन्द्रबहादुर थापाले राणा शासनमा प्रहरीको सानो दर्जाबाट नोकरी शुरू गरेका थिए । राणा शासनको अन्त्यतिर उनलाई कर्णेल दर्जा दिइएछ । त्यसवेला निजामती भन्दा सेनाका पद आकर्षक हुने भएकाले उनलाई त्यस्तो दर्जाले सम्मान दिइएको होला ।
राणाशासन विरुद्ध उठेको २००७ सालको आन्दोलन दबाउन यी थापाजी निर्मम ढङ्गमा उत्रिएछन् । क्रान्ति सफल भएपछि बनेको राणा–कांग्रेसको संयुक्त सरकारले उनै चन्द्रबहादुरलाई जर्नेल दर्जामा पदोन्नति गरेछ । क्रान्तिमा दमन गर्नेलाई नै सम्मान गरिएपछि कांग्रेसका नेता–कार्यकर्ताले गृहमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई भेटेर असन्तुष्टि प्रकट गरेछन् ।
जवाफमा विश्वेश्वरले भने रे, “प्रहरीको माथिल्लो तहमा त्यति योग्य अर्को मान्छे नै पाइएन । चन्द्रबहादुर थापा नूनको सोझे गर्ने मान्छे हो । हिजो राणाशासनको नून खाएको थियो, उनीहरूकै सोझे गथ्र्यो । आज हाम्रो सरकारको नून खाएपछि हाम्रै अनुकूल गर्छ ।”
यस्तो व्यक्तित्व भएका चन्द्रबहादुर पछि मुख्य सचिव पनि भए । २०१८ सालताका उनलाई महालेखा परीक्षक बनाइयो । सरकारी खर्च जथाभावी गर्ने र राष्ट्रिय सम्पत्तिको दुरुपयोग गरेको पाइएमा बेरुजु साबित गर्ने दायित्व समेत हुन्थ्यो महालेखा परीक्षकको । उनको कडा मिजास भएकाले अख्तियार दुरुपयोग गर्नेहरू थर्थर काँप्थे रे !
जिरेखुर्सानी जस्तै
सिंहदरबारका हेड पियन चन्द्रबहादुरको जिम्मा मूल भवनभित्र अवाञ्छित तत्व प्रवेश नगरोस् भन्ने मात्र थियो । काम सीमित भए पनि आफ्नो जिम्मेवारीमा उनी कडा थिए, जिरेखुर्सानी झैं तिक्खर ! भेषबहादुर थापा अमेरिकाको क्यालिफोर्नियाको एउटा विश्वविद्यालयमा पढिरहेका थिए । त्यसै ताका सन् १९५९ मा राजा महेन्द्र अमेरिका भ्रमणमा जाँदा त्यो विश्वविद्यालयमा राजाको सम्मानमा दिवाभोज राखिएछ । त्यहाँ भेषबहादुर थापासहित तीन नेपाली विद्यार्थी अध्ययनरत थिए । भेषबहादुरका प्रोफेसरले राजासँगको कुराकानीमा नेपाली विद्यार्थीले अमेरिकी विद्यार्थीहरूलाई समेत उछिनेको सुनाएछन् । त्यसपछि राजाले भेषबहादुरलाई भेटेर अध्ययन सकिनासाथ नेपाल फर्कनु भनेछन् । फर्कनु अगावै उनलाई राष्ट्रिय योजना आयोगको सचिव बनाइएछ ।
२०१८ सालमा भेषबहादुर नेपाल फर्किए । विमानस्थलबाट सोझै सिंहदरबार पुगेछन् । टाई–सुट लगाए पनि टोपी नलगाएका उनलाई सिंहदरबारको मुख्य गेटमा रहेका चन्द्रबहादुरले पस्नै दिएनछन् । भेषबहादुरले म सचिव भनेपछि चन्द्रबहादुरले उल्टै सातो लिएछन्, “म सबै सचिवलाई चिन्छु, के फाल्तु कुरा गरेको ! टोपी नलगाएको मान्छे पनि सचिव हुन्छ कहीं !”
भेषबहादुरले वरिष्ठ सचिव प्रेमनरसिंह प्रधानलाई फोन गर्न लगाएछन् । प्रेमनरसिंहले उपसचिव भरतबहादुर प्रधानलाई लिन पठाएपछि मात्र चन्द्रबहादुरले भेषबहादुरलाई सलाम गरेर भित्र पठाए रे ! यी चन्द्रबहादुरले भने सुवेदार भएपछि अवकाश पाएका थिए ।