४–१० फागुन २०७६ | 16-22 Feb 2020

राणाशासनमा चाकरी नै योग्यता

Share:
  
- भैरव रिसाल
चाकरीका लागि सिंहदरबारमा पहुँच नभएकाहरू सदर टुँडिखेल पुगेर शासक वर्ग सवार घोडाको पछिपछि दगुर्थे, ज्यान फालेर कुदेपछि मात्रै साँच्चै समस्या परेको पुष्टि हुन्थ्यो।

सबै हिसाबले बन्द समाज राणाशासन शिक्षामा पनि सारै अनुदार थियो । पढेलेखेका मानिस कम थिए । तर, जागिर पाउन पहिले पढाइलाई आधार बनाइएको थिएन । तल्लोदेखि माथिल्लो ओहोदासम्मको जागिरका लागि योग्यता थियो, शासक वर्गको चाकरी । बकस पाउन र मुद्दा मामिला आफ्नो पक्षमा छिन्न पनि चाकरी हुन्थ्यो ।

चाकरी खास गरी तीन श्रेणीको थियो । एकथरीलाई सिंहदरबारभित्रै चाकरी गर्ने पहुँच थियो । त्यहाँ चाकरीका लागि समय नै तोकिएको हुन्थ्यो । सिंहदरबारमा चाकरी गर्न नपाउनेले शासक वर्ग सदर टुँडिखेलमा घोडा सयरका लागि पुग्दा त्यस्तो मौका छोप्थे । यस्तै, तेस्रो श्रेणीको चाकरी शासकका छोराहरूको दरबारमा हुन्थ्यो ।

फलाना शासककहाँ चाकरी खुल्यो भनेपछि जागिर वा अन्य लाभ प्राप्त गर्न इच्छुकहरू उत्साहित हुन्थे । चाकरी पाउने शासक पनि खुशी हुने नै भए । चाकरीलाई उनीहरू आफूलाई प्रभु स्वीकारिएको, आफ्नो स्वामित्व मानिएको अर्थमा लिन्थे । चाकरीको मूल्य कति ठूलो थियो भने, चाकरीदार आफूसँग मात्र आउँछ कि अरूकहाँ पनि जान्छ भनेर गुप्तचर खटाई छड्के गरिन्थ्यो । अरूकहाँ पनि जाने पत्तो लाग्यो भने निष्ठामा प्रश्न उठ्ने भएकाले चाकरी गर्नेहरूले होश पुर्‍याउनुपथ्र्यो ।

दुई–तीनतिर चाकरी गर्ने व्यक्ति निकै चतुर हुने नै भयो । कुन शासक/हाकिम कति लामो समय शक्तिमा बस्छ, त्यसबाट आफूलाई लाभ हुन्छ कि हुँदैन आदिको हिसाब गरेर मात्र चाकरीमा जाने/नजाने निर्णय गर्ने प्रवृत्ति हुन्थ्यो ।

ज्यान फालेर दगुरेपछि योग्य !

राणा शासकहरू बिहान र अपराह्न घोडा चढेर टुँडिखेलको दुई–तीन चक्कर लगाउँथे । त्यो वेला रानीपोखरीको डिलदेखि हालको सैनिक मुख्यालयको दक्षिण किनारसम्म नै खुला मैदान भएकाले घोडचढीलाई फुक्काफाल सयर गर्ने थलो थियो । चाकरीका लागि सिंहदरबार पुग्न नसक्नेहरू त्यही समयमा टुँडिखेल पुगेर रिझउने प्रयास गर्थे । सारै मर्का परेका व्यक्ति वा जागिरका लागि इच्छुकहरू बिन्तीपत्र लिएर घोडाको पछि–पछि दगुर्थे ।

चाकरीदारको मूल्याङ्कन गर्ने शासकहरूको आफ्नै मापदण्ड हुन्थ्यो । साँच्चै मर्का परेको व्यक्ति छ भने ज्यान नै फालेर घोडाको वेगसँगै दगुर्छ भन्ने मान्यता थियो । निवेदक असिनपसिन भएको देखेपछि घोडा रोकेर कुरा सुन्थे । समस्या पत्यार लागे अर्को दिन आफ्नो निवासमा बोलाउँथे । अर्कातिर, धेरै दिन चाकरीमा गएपछि शासकका सहयोगीले जाँचबुझ गरेर मालिकलाई जाहेरी गर्थे र त्यही आधारमा चाकरीदारको काम बन्थ्यो ।

कुनै अड्डामा स्वयंसेवकको रूपमा गरेको कामको आधार पनि नोकरीको अर्को योग्यता थियो । अलि समयपछि नोकरीका लागि शैक्षिक योग्यता ‘चार पास’ हुनुपर्ने मापदण्ड बसालियो । त्यसको केही समयमा त्यो मापदण्ड ‘एघार पास’ राखियो ।

जागिरलाई सरकारी सिन्दूर भनिथ्यो, जसलाई समाजमा ठूलो इज्जत र सम्मानका रूपमा लिइन्थ्यो । बाउ–बाजे वा आफैंले गरेको चाकरीले नोकरीको बाटो खोल्थ्यो । प्रायः जागिरदारहरूले आफ्ना छोराहरूलाई अड्डा जाँदा सँगै लैजान्थे र अड्डाको काम सिकाउँथे । त्यही सिकाइ नै पछि जागिर गर्ने अनुभव र योग्यता हुन्थ्यो । प्रारम्भिक योग्यता पुगेपछि जागिरका लागि चाकरीमा पठाउने थिति थियो । चाकरीबाट लाभ लिने यो प्रक्रियाका कारण प्रायः जागिरदारको छोरो र नाति नै जागिरे हुन्थे । निजामतीमा प्रायः नेवार र बाहुन तथा सैनिक सेवामा राणा, ठकुरी र क्षेत्रीको बाहुल्य हुन्थ्यो ।

राणाशासनको उत्तराद्र्धतिर चाकरी प्रथा धपधपी बलेको थियो । श्री ३ पद्मशमशेर कहाँ सारै कम चाकरीदार जाने रहेछन् । किनकि पद्मशमशेरका पिता भीमशमशेर प्रधानमन्त्री हुँदा हजुरिया जर्नेल भएर ढलीमली गर्न नपाएकोले उनी धन र शक्ति दुवैमा कमजोर थिए । न जागिर, न त बकस पाउने भएपछि चाकरीदार ज्यादै कम हुन्थे । यसको विपरीत भीमशमशेरपछि प्रधानमन्त्री बनेका जुद्धशमशेरका छोराहरूकहाँ भने चाकरीदारहरू झुत्ती खेल्ने रहेछन् ।

comments powered by Disqus

रमझम