२०-२६ पुस २०७६ | 5-11 Jan 2020

तयारी विनाको लक्ष्य

Share:
  

रिपोर्ट ‘लक्ष्य ठूलो, पूर्वाधार तगारो’ (१३–१९ पुस) मा नेपाल भ्रमण वर्ष २०२० बारे उठाइएको सवाल मनासिव लाग्यो । बहुप्रचारित भ्रमण वर्ष सफल पार्न अत्यावश्यक तयारी नै नगरी २० लाख पर्यटक भित्र्याउने गणितमा सरकार रमाउनु आलोकाँचोपन हो । पर्यटकीय चहलपहल बढाउन पूर्वाधार र पर्याप्त सुविधाको व्यवस्था आधारभूत शर्त हुन् । तर, चल्तीकै गन्तव्यमा जाने सडक र महत्वपूर्ण पदमार्ग सुविधायुक्त छैनन् । पर्यटनबाट फाइदा लिन खर्चालु पर्यटक भित्र्याउने र तिनको बसाइ लम्ब्याउनुपर्ने चुनौती रहेको अवस्थामा पुराना गन्तव्यको प्रवद्र्धन तथा नयाँ गन्तव्यहरूको पहिचान र विकास गर्न सरकारसँग ठोस कार्यक्रम भएको देखिएन । सरकार र निजी क्षेत्रबीच समन्वय नहुनु नै यसको जड हो । यो कमजोरी ढाकछोप गर्न यो भ्रमण वर्षलाई पर्यटन प्रवद्र्धन गर्ने र आत्मविश्वास बढाउने वर्षका रूपमा व्याख्या गरिएको छ, जुन परिपक्वता होइन । हरेक कुरामा झारा टार्ने प्रवृत्तिले देशकै गरिमा, विकास र अर्थतन्त्रसँग जोडिएको पर्यटन जगतको उत्सवलाई पनि नछोड्नु दुःखद हो । भ्रमण वर्ष शुरू भइसकेको छ, यही स्थितिमा पनि उपलब्ध साधन–स्रोत बढीभन्दा बढी परिचालन गरेर अन्तर्राष्ट्रिय जगतमा देशको पर्यटन प्रवद्र्धन गर्न कुनै कसर बाँकी नछाडियोस् ।

रमण गोपाल,बनेपा, काभ्रे

निरीह काउन्सिल

हिमाल (१३–१९ पुस २०७६) को चिकित्सकीय लापरबाही सम्बन्धी रिपोर्ट ‘गम्भीर त्रुटि, सामान्य कारबाही’ पढेपछि चिकित्सक र अस्पतालले गर्ने त्रुटिलाई राज्यले कसरी हेर्दो रहेछ भन्ने प्रष्ट भएको छ । आम नागरिकले चिकित्सकलाई भगवान्कै रुप मान्दछन् । चिकित्सक र अस्पताल व्यवस्थापनले सामान्य मानेको गल्तीले धेरैपटक मानिसको ज्यान जोखिममा परेको छ र कत्तिको त ज्यान नै गएको छ । यस्ता घटना दोहोरिरहनु चिकित्सक, अस्पताल र आम नागरिक कसैका लागि पनि हितकर छैन ।

पछिल्लो पटक धापासी काठमाडौंस्थित ग्राण्डी अस्पतालको गलत उपचारका कारण १८ महीने एक बालकको जीवन जोखिममा परेको छ । ग्राण्डी अस्पतालमा सामान्य अवस्थामा जन्मिएका उनी गलत उपचारका कारण अशक्त हुँदै अहिले जीवन–मरणको दोसाँधमा पुगेको जानकारी रिपोर्टमा छ । यो घटनाले विश्वस्तरीय सेवा दिने भनेर प्रचारप्रसार गरिरहेको ग्राण्डी अस्पताल र त्यहाँ कार्यरत चिकित्सक उपचार गराउन आएका बिरामीप्रति गम्भीर नरहेको पुष्टि भएको छ । चिकित्सक र अस्पतालका क्रियाकलाप, उपचार पद्धति आदिका बारेमा सूक्ष्म तवरले निरन्तर अनुगमन गरिरहनुपर्ने मेडिकल काउन्सिल धेरै पटक चुकेको छ । यसपटक पनि उपचारमा संलग्न चिकित्सक र ग्राण्डी अस्पतालका निर्देशकलाई सचेत मात्र गराएर औपचारिकता पूरा गर्नतिर लागेको देखियो । काउन्सिलले उपचार गराउन आएका नागरिकको जीवन जोगाउन बढी ध्यान दिने कि गल्ती गर्ने चिकित्सक र अस्पताल प्रशासनलाई ? काउन्सिल यति निरीह हुनुको रहस्य बुझ्न सकिएन ।

सक्षम निरौला, कपन, काठमाडौं

अक्षम्य लापरबाही

ग्राण्डी अस्पतालका निर्देशक चक्रराज पाण्डेले बिरामीको उपचारमा त्रुटि हुनुलाई सामान्य भनेका छन् । मान्छेको जिन्दगीसँग खेलवाड गर्ने कुरो कसरी सामान्य भयो डा.’साप ? गलत उपचारका कारण पीडित बच्चाको बाँच्न पाउने अधिकार खोइ ? कसैको ज्यान नै जोखिममा पर्ने गरी गरिने असावधानी र लापरबाहीपूर्ण उपचार अपराध नै हो ।

Agandhar Subedi

••

१८ महीनाका रिहानको जुन हविगत भएको छ, उनका बुवा–ममीले कष्टमय पीडा भोग्दै छोराको मृत्युको कामनाको विकल्प सोच्न सक्दैनन् । सुन्दै हर कोहीको आङ जिरिङ्ग हुन्छ । रिहानलाई यो परिस्थितिमा ल्याइपु¥याउने को हो ? त्रुटि गरेको दोष तपाईं र तपाईंको अस्पताल विरुद्ध छ । डा. पाण्डेप्रति रिहानको आमाको गम्भीर आरोप छ, सामान्य सदाशयता पनि देखाउनुभएन रे ! यो सत्य हो भने चिकित्सा क्षेत्रको लागि विडम्बना हो ।

Subarna Kc

••

गलत उपचार पाएका बालकले अब कसरी न्याय पाउँछन् भन्ने प्रश्न महत्वपूर्ण हो । डाक्टरलाई कारबाही गरेर मात्रै बच्चाको जीवन राम्रो होला त ? ग्राण्डी अस्पतालले बच्चाको भविष्यबारे सोच्नुपर्छ, र आगामी उपचार तथा सुधारको लागि सम्पूर्ण व्यवस्था मिलाउनुपर्छ ।

Tripty Shakya

••

नेपाल मेडिकल काउन्सिल पनि डाक्टरकै सङ्गठन हो, हरेक डाक्टर कुनै न कुनै अस्पतालमा संलग्न हुन्छ नै । त्यसैले अस्पताल र डाक्टरलाई सजाय दिनु भनेको भविष्यमा आफैंलाई सजाय दिनु हो । रत्तिभर पनि विश्वास गर्न नसकिने भयो अब ।

Kni Rja

comments powered by Disqus

रमझम