७-१३ वैशाख २०७१ | 20-26 April 2014

सान्दर्भिक समाचार

Share:
  

साप्ताहिक खबरपत्रिका हिमाल (३० चैत २०७०―६ वैशाख २०७१) मा प्रकाशित 'अग्रगामी पुस्ता' समाचार सान्दर्भिक लाग्यो। पछिल्लो समयमा नेपालीको आनीबानीमा आएको परिवर्तन र जीवनशैलीले गर्दा युग नै फेरिए जस्तो लागेको छ। बढ्दो शहरीकरण, आम्दानीका स्रोतमा भएको वृद्धि, यातायात र सञ्चारमा आएको विकासले गर्दा मानिसलाई सहज र सुखी बनाएको छ। सञ्चार र आम्दानीका कारण आएको परिवर्तनले गर्दा मनोरञ्जन र जीवनयापनमा परिवर्तन आएसँगै संयुक्त परिवार एकलमा टुक्रँदा वृद्ध―वृद्धाले भोग्नु परको पीडालाई पनि बिर्सनुहुँदैन।

चित्रा वली, इमेलबाट

हिमाल (३० चैत २०७०―६ वैशाख २०७१) मा प्रकाशित 'अग्रगामी पुस्ता' समाचार पढेर खुशी लाग्यो। १० वर्ष पहिलासम्म समयमा अस्पताल पुग्न नसकेर धेरै आमासँगै शिशुले ज्यान गुमाएको पीडादायी समाचार आज सुन्नु परेको छैन। झ्ाडा―पखालाका कारण अकालमा ज्यान गुमाउनुपर्ने मात्र होइन शिक्षाबाट वञ्चित भएका ठूलो संख्याका बालबालिका शिक्षाको मूलधारमा आएका छन्। समयसँगै आएको परिवर्तनले नेपालीलाई नयाँ शैलीमा बाँच्न सिकाएको पनि छ।

जीवनाथ राई, इमेलबाट

मन छुने समाचार

हिमाल (३० चैत २०७०―६ वैशाख २०७१) मा प्रकाशित 'गाउँदेखि अरबसम्म सञ्जाल' समाचार पढेर दुःख लाग्यो। घरको आर्थिक अवस्था कमजोर भएका महिलाले केही कमाउन विदेश जाँदा दलालको चंगुलमा पर्दा झ्नै पीडादायी जीवन बिताउनु परेको छ। कारबाही गर्ने निकायमा रहेका प्रहरी पनि यस्तो गिरोहमा संलग्न रहँदा महिलाले न्याय पाउने ढोका पनि बन्द भए जस्तो देखिन्छ। स्वदेशमा रोजगारीको व्यवस्था गर्न नसक्ने सरकारले विदेश जानेलाई सुरक्षित रहने व्यवस्था मिलाउन जरूरी छ। अन्यथा सामाजिक विचलन हुनुका साथै अन्तर्राष्ट्रियस्तरमा नेपालको बेइज्जत समेत हुन सक्दछ।

विप्लव रिमाल, इमेलबाट

क्याबात् छिमे तेन्जिङ

साप्ताहिक खबरपत्रिका हिमाल (३० चैत २०७०―६ वैशाख २०७१) मा प्रकाशित 'दुई चिल्ला पात' शीर्षकको छिमे नाम्डोल र तेन्जिङ शेर्पा बारेको समाचार सामग्री पढ्दा खुशी लाग्यो। १३―१४ वर्षको उमेरमै ललितकलाको विधामा यी दुई दिदीबहिनीले गरेको लोभलाग्दो प्रगति अरूका लागि पनि पे्ररणादायी छ। उनीहरूको कलाको सराहना गर्नुपर्छ। अमेरिकासम्म पुगेर आफ्ना अब्बल पेन्टिङ प्रदर्शन गरिसकेका छिमे र तेन्जिङले यही क्षेत्रबाट आफ्नो प्रतिभालाई अझ् तिखार्नुपर्छ। यी दुवै दिदीबहिनीको उज्ज्वल भविष्यको लागि शुभकामना!

दिनेश बास्तोला, नेचा बेतघारी सोलुखुम्बु, हालः काठमाडौं

महिलाबाट सिकौं

साप्ताहिक खबरपत्रिका हिमाल (३० चैत २०७०―६ वैशाख २०७१) मा प्रकाशित 'जीवनदाता महिला' समाचार हाम्रो समुदायको वास्तविकता हो। आफू बाँच्दा सबैलाई बचाउन खोज्ने महिलाले श्रीमान्, छोराछोरी लगायत परिवारका सदस्यलाई आफ्नो मिर्गौला दिएर बचाएका धेरै उदाहरण छन्। आफ्नो स्वास्थ्यको पर्वाह नगरी मिर्गौला दिन महिला तयार भए पनि पुरुषमा त्यस्तो खालको उदारता नदेखिनु दुःखको कुरा हो। बिरामी श्रीमतीलाई बचाउनुको साटो अर्को विवाह गर्न कस्सिने पुरुषले महिलाबाट केही सिक्ने कि?

पार्वता दर्लामी, इमेलबाट

वनपाले राउटेमा आशंका

हिमाल (२५ फागुन–१ चैत) मा प्रकाशित राउटेलाई सुर्खेत जिल्ला वन कार्यालयले वन रक्षकमा जागीर दिएको सम्बन्धी समाचार सकारात्मक छ।तर, राउटेहरूले वन हेरालुको पोशाक कति दिन लगाउने हुन् भन्नेमा आशंका छ। राउटेहरूसँग स्थानीय बासिन्दाहरू डराउने कारणले उनीहरूको शिविर रहेको वन क्षेत्रमा स्थानीयहरू घाँस–दाउरा गर्न जाँदैनन्। त्यस्तै, राउटेहरू फिरन्ते भएकाले एक क्षेत्रका वनको रक्षा गर्छन् भन्नु त्यति आशालाग्दो होइन। उनीहरू क्रमशः दाता निर्भर हुँदै जानु पनि ठीक देखिंदैन। राउटेहरूसँग सुर्खेत, दैलेख र जाजरकोट जिल्लाका विभिन्न स्थानमा भेटेर मैले कुरा मात्रै होइन, तत्कालीन मुखिया मानबहादुर रासकोटीसँग मीत नै लगाएर अध्ययन गरेको थिएँ। उक्त सामग्रीहरू मदन पुरस्कार पुस्तकालयमा सुरक्षित छन्। राउटेलाई वनमा जागीर दिएर वन संरक्षण गराउन २०३९ सालमा पनि वन डिभिजन कार्यालयका तत्कालीन प्रमुख दिवाकरदत्त पाण्डेले प्रयास गरे पनि सफल भएका थिएनन्।

गौरीबहादुर कार्की

[email protected]

comments powered by Disqus

रमझम