१-७ भदौ २०७१ | 17-23 August 2014

सिन्धुपाल्चोकको पाठ

Share:
  

'सुनकोशीको सन्देश' (२५–३१ साउन) मा प्रकाशित समाचार पढेपछि मनै झ्सङ्ग भएको छ। सिन्धुपाल्चोकको जुरेमा जस्तो पहिरो पहाडी क्षेत्रका धेरै ठाउँमा जान सक्छ। लगातारको मनसुन अनि भिरालो जमीनमा बनाइएका घरहरू बढी जोखिममा पर्छन् भन्ने जानकारी हुँदाहुँदै पनि त्यसतर्फ ध्यान नदिनु दुःखको कुरा हो। बाढी, पहिरो, भूकम्प जस्ता प्राकृतिक प्रकोपका कारण नदी किनारका बस्ती ज्यादा जोखिममा छन् भन्ने कुराको पूर्व जानकारी हुँदाहुँदै पनि सरोकारवाला निकायले बस्ती सार्ने र कसरी क्षति कम गराउने भन्ने जस्ता कुरामा ध्यान दिन नसक्दा विनाशकारी अवस्था सिर्जना भएको हो। यसलाई सरोकारवाला निकायहरूले खतराको घन्टीका रूपमा लिनुपर्छ। सरकारले पनि समस्यामा परेकालाई राहत दिने मात्र होइन यो विपद्बाट पाठ सिक्दै जोखिम न्यूनीकरणका लागि ढिला गर्नुहुँदैन।

अस्मिता भट्ट, इमेलबाट

हरेक वर्ष आउने प्राकृतिक प्रकोपले खतराको सन्देश दिएकै हुन्छन्। तर सरोकारवाला निकाय र स्थानीयले कहिल्यै त्यसबाट पाठ सिकेको देखिंदैन। समस्या आएपछि मात्र समाधानको बाटो खोज्दा जनधनको व्यापक क्षति भइसकेको हुन्छ। त्यसैले जोखिमयुक्त ठाउँको पहिचान गरी जोखिम घटाउने उपायको खोजीतर्फ लाग्नु बुद्धिमानी निर्णय हुनेछ।

जीवन मल्ल, इमेलबाट

प्रविधिको फाइदा

'क्लिक ब्याङ्किङ' (२५–३१ साउन) मा प्रकाशित लाइन बसेर टोकन लिनुपर्ने जमाना फेरिएर वित्तीय कारोबारका लागि ब्याङ्क धाउनै नपर्ने सम्बन्धी समाचार जानकारीमूलक लाग्यो। इन्टरनेट, मोबाइल र कार्ड मार्फत देशभित्र र बाहिर उपलब्ध ई―ब्याङ्किङ सेवाले ग्राहकलाई निकै सहज बनाएको छ। पछिल्लो समय बजारमा भित्रिएका प्रविधिको प्रयोग गर्दै ग्राहकलाई सेवा दिंदा समयको सदुपयोगसँगै सुरक्षित पनि हुन्छ। यसले गर्दा सेवाग्राहीले एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाउँदाको झ्न्झ्ट बेहोर्नु नपर्ने भएको छ। रकम ट्रान्सफर, मोबाइल रिचार्ज, अनलाइन सपिङ जस्ता अत्याधुनिक प्रविधिले जीवनशैलीमा परिवर्तन ल्याइदिएको छ।

बिन्दु मरहठ्ठा, इमेलबाट

सम्भावनाको ढोका

'उद्योगलाई फलफूल' (२५–३१ साउन) मा प्रकाशित समाचार पढेपछि नेपालमा फलफूल खेतीको सम्भावनाबारे प्रष्ट हुन्छ। नेपालमा पाइने धेरै मौसमी फलफूल बजारको अभावमा कुहिएर जाने अवस्थामा छ। बजारको उचित प्रबन्ध गर्न सकिएमा करोडौं मूल्यका फलफूल बेचेर गाउँको मुहार फेर्न सकिने अवस्था छ। यति मात्र होइन कामको खोजीमा विदेशिन बाध्य हजारौं नेपालीलाई स्वदेशमै रोजगारीको अवसर यसले सिर्जना गर्नेछ। त्यसकारण नेपालमा उत्पादित फलफूलको सदुपयोग गर्ने हो मने रोजगारी मात्र होइन, यसबाट सिङ्गो मुलुकको अर्थतन्त्रमा मद्दत पुग्नेछ। यसतर्फ सरोकारवाला निकायले ध्यान दिनु जरूरी छ। सम्भावनाको बाटो देखाउने यस्ता सामग्री प्रकाशनका लागि हिमाल लाई धन्यवाद।

जमुना शाक्य, इमेलबाट

साध्वीलाई शुभकामना

'बलिउडमा साध्वीको डेब्यू' (२५–३१ साउन) मा प्रकाशित समाचार पढेपछि नेपालीले अन्तर्राष्ट्रिय जगतमा पाएको एकपछि अर्को सफलता थाहा हुन्छ। लगातारको परिश्रम र इच्छाशक्ति हुने हो भने सफलता आफ्नै वरिपरि घुमिरहेको हुन्छ। बलिउडमा सफलता पाउन त्यति सजिलो त छैन तर आफ्नो कामप्रतिको सम्मान र कडा परिश्रमले साध्वीलाई सफल बनाएको हो। बलिउडमा आफ्नो भविष्य देखेकी साध्वीलाई शुभकामना।

अनु मास्के, इमेलबाट

कल्पनाका कुरा नगरौं

'चक्रव्यूहका जर्नेल' (१८–२४ साउन) मा प्रकाशित कुन्द दीक्षितको टिप्पणीप्रति केही जिज्ञासासँगै धारणा राख्न चाहन्छु।

के त्यसबेला या अहिले पनि सेनापति र प्रधानमन्त्रीले चाहेमा लोकतन्त्रको विकल्पमा एकतन्त्रीय शासन सम्भव छ? के लोकतन्त्रको आधार या शक्तिकेन्द्र या पालक तथा चालक प्रधानमन्त्री तथा सेनापति नै हुन्? के सेना भनेको केवल सेनापति मात्रै हुन्? सेना भनेको संवैधानिक अंग हो। त्यसकारण लेखकले सेनापतिलाई नै सेना मान्न कसरी सक्नुभयो? सेनापति सेनाको नाइके हो। स्वयं सेना होइन। तल्लो तहमा बसेकाहरूले आफूखुशी गर्न सक्लान्, सेनापतिले सक्दैनन्। अनि कसरी कटवाल प्रचण्डसँग मिलेका भए या कुलबहादुर चीफ भएका भए प्रचण्डले चाहेको हुन्थ्यो या लोकतन्त्र मासिन्थ्यो या अरू दल खारेज हुन्थे, या संविधान खारेज हुन्थ्यो? यस्ता कल्पना तपाईं जस्ता बौद्धिक र देश बुझेका व्यक्तिका कलमबाट कसरी निस्कन क्यो? माओवादीप्रतिको एन्टिभोटकै आधारमा गलत र सहीको फरक नहेरी उक्त घटनाका बेला प्रेस तथा माओवादी बाहेकका दलबाट फैलाइएको प्रोपोगाण्डा तात्कालिक थियो। त्यसबेला संविधान र कार्यकारिणी प्रधानमन्त्रीमुखी सिस्टममा पारेको प्रदूषणको दुर्गन्धलाई ...न्यानो बाल थाङ्नामा मिसमास गरेर स्वीकारिएको सत्य हो। तर अझ्ै पनि बालकको थाङ्नाको गन्धलाई धूप मानिरहनु कति उचित होला? यस्ता कुराले लोकतन्त्रको पक्षमा ऊर्जा दिन्छ कि संभावित विनाशकारी व्यक्तिको जन्मका लागि प्रोत्साहन दिन्छ?

राजेन्द्र थापा, अवकाशप्राप्त उपरथी

comments powered by Disqus

रमझम