७-१३ मंसीर २०७१ | 23-29 November 2014

खबरदारी जरुरी

Share:
  

'संविधान निर्माणः पहलकदमीको पालो' (३० कात्तिक―६ मंसीर) मा संविधान निर्माण संवाद मधेशकेन्द्रित दल लक्षित बनेपछि सहमतिको यात्रा सहज त होला तर संविधान कस्तो बन्छ भन्ने कुरा प्रमुख हो। ठूला भनिएका कांग्रेस, एमाले, एमाओवादी र मधेशवादी दलको चित्त बुझदैमा सही संविधान आउँछ भन्ने छैन। पार्टीगत स्वार्थमा आ–आफ्ना अजेन्डा पास गराउन खोज्ने राजनीतिक दलले हाम्रो सामाजिक, सांस्कृतिक र भौगोलिक वातावरण सुहाउँदो संविधान बनाउन सक्छन् कि सक्दैनन् भन्ने कुरा मुख्य हो। अब सहमति र संविधानका अजेन्डाका विषयमा राजनीतिक दललाई नागरिक खबरदारी जरूरी छ। नागरिक खबरदारी बेगर नेताले देश सुहाउँदो संविधान बनाउँदैनन्।

किशोर दाहाल, इमेलबाट

चाहियो, राष्ट्रिय पानी नीति

'चर्कंदै तिर्खा' (३० कात्तिक―६ मंसीर) अहिलेको यथार्थ हो। बढ्दो शहरीकरण, वन विनाश, अव्यवस्थित बसोबासले गर्दा खानेपानीका मुहान सुक्दै जाँदा पानीको समस्या चर्किएको हो। गाउँघरमा पानी लिनको लागि घन्टौं हिंड्नुपर्ने र शहरमा बस्नेले महङ्गोमा दूषित पानी किन्नुपर्ने बाध्यता बढ्दो छ। पानीको लागि धनी देश भनेर चिनिने नेपालमा धेरै जनताले पानी नपाएर बसाइँ सर्नुपरेको छ। यस्तो बाध्यता अन्त्य गर्न राष्ट्रियस्तरको नीतिले सम्बोधन गर्न जरूरी छ। अन्यथा गाउँ–बस्ती खाली हुँदा अन्य प्राकृतिक समस्या उत्पन्न हुन सक्छन्।

रेखा सापकोटा, इमेलबाट

खोइ बालमैत्री विद्यालय

'पिटाइको परिणाम' (३० कात्तिक―६ मंसीर) बालबालिकाले विद्यालय मात्र छाड्दैनन् बरु हुर्कंदो उमेरमा उनीहरू गलत बाटोमा लाग्ने सम्भावना समेत बढ्छ। निम्न आय भएका परिवारका बालबालिकामा यस्तो संभावना ज्यादा छ। त्यसैले विद्यालयमा टिकाइराख्न त्यहाँको वातावरण सुधार्नुको साथै विद्यालय छाडेका विद्यार्थीलाई परामर्शसहित फर्काउनुपर्दछ। यसका लागि देश विदेशमा 'बालमैत्री वातावरणमा पढाउँदा सिकाइ प्रभावकारी हुने' भन्ने ज्ञान पाएकाहरूले सिकेका कुरा व्यवहारमा लागू गर्न ढिलो भइसकेको छ।

सन्तोष राई, इमेलबाट

मनोपरामर्श देऊ

'मानसिक स्वास्थ्यः विदेश जानेका परिवार आक्रान्त' (३० कात्तिक―६ मंसीर) ले स्पष्ट पारेको छ, समस्या समाधानको लागि सरकारी स्तरबाटै गाउँ―गाउँमा कार्यक्रम शुरू गर्न जरूरी भइसक्यो। वैदेशिक रोजगारमा जानेको परिवारमा देखिएका विभिन्न मानसिक समस्या आर्थिक अभाव, ऋणको चिन्ता, बढेको पारिवारिक जिम्मेवारीको परिणाम हुन्। यस्ता समस्या समाधानको लागि राष्ट्रियस्तरको योजना सहितको मनोपरामर्श आवश्यक छ।

जानुका भण्डारी, इमेलबाट

अनुगमन आवश्यक

'उपलब्धिमा प्रश्न' (३० कात्तिक―६ मंसीर) देशको वास्तविकता हो। विभिन्न नाममा सरकारले दिने राहतका कार्यक्रमले लक्षित वर्ग र वास्तविक क्षेत्रलाई समेट्न सकेको छैन। कृषिमा लगानी प्रभावकारी किन भएन भनेर अहिलेसम्म पनि कुनै अनुगमन हुनसकेको छैन। त्यसैले देशको अर्थतन्त्रमा असर पार्ने यस्ता कार्यक्रमको अनुगमन आवश्यक छ।

महेश तिवारी, इमेलबाट

डा. कुमुदलाई शुभकामना!

'गोर्खाली मुटु' (१६–२२ कात्तिक) मा डा. कुमुद धितालद्वारा मृत व्यक्तिको मुटु सफल प्रत्यारोपण गरिएको खबरले हामीमा उत्साह जगाएको छ। नेपालका नागरिक (नेपाली) ले यस्तो अभूतपूर्व उपलब्धि हासिल गर्नुभएकोमा डा. धिताल मात्र होइन नेपाल राष्ट्र र त्यस देशका सबै राष्ट्रजनहरू बधाइका पात्र हुनुहुन्छ।

हामी भारतीय गोर्खाहरूको दृष्टिकोणमा अझ् बढी मायालु र महत्वपूर्ण पक्ष त के छ भने यो उपलब्धि हामी गोर्खाली जातिका सन्तानले प्राप्त गरेकोमा हाम्रोतर्फबाट डा. धिताललाई धेरै–धेरै बधाइ त छँदैछ– आशीर्वाद र सप्रेम शुभकामना पनि। डा. धितालको सम्मानमा उहाँलाई नेपालको सर्वोच्च राष्ट्रिय पुरस्कार प्राप्त होस्– हाम्रो अनुरोध छ।

“मर्दछ व्यक्ति, जिउँदछ जाति

त्यही अमर जो अक्षर चिन्दछ।”

(महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रमिथस बाट)

डा. मणिकुमार शर्मा, सिलिगुडी, दार्जीलिङ, भारत

comments powered by Disqus

रमझम