१७-२३ फागुन २०७१ | 1-7 March 2015

सुमार्गीलाई कानूनले छुँदैन?

Share:
  

'कसको धन सुमार्गीको' (१०–१६ फागुन) ले हुनेखानेलाई कानून लाग्दैन भन्ने देखाउँछ। एक दशकमा अजेयराज सुमार्गी पराजुलीले जोडेको अर्बौं रूपैयाँको स्रोत शंकास्पद हुँदा पनि अकूत सम्पत्तिमा छानबीन गर्ने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग जस्ता निकायले उनलाई किन छुनसकेका छैनन्? कि नचाहेका हुन्? यसमा मिलेमतो भएको छ कि भन्ने लाग्नु स्वाभाविक हो। सुमार्गी त उदाहरण मात्र हुन्, रातारात धनी हुने सपना देख्ने धेरै मानिस राजनीतिक संरक्षणमा भ्रष्टाचार गरिरहेका छन्। सुमार्गीको वास्तविकता पढ्दा नियम कानून कमजोरलाई मात्र हो भन्ने देखाउँछ।

गणेश मल्ल, इमेलबाट

कार्यान्वयनको चुनौती 'स्वीकारिंदै समलिंगी सम्बन्ध' (१०–१६ फागुन) ले राज्यले समलिंगी जोडीलाई सम्मानपूर्वक बाँच्ने वातावरण बनाउन खोजिरहेको जस्तो देखिन्छ। तर, समलिंगी कानूनले मात्र समस्या समाधान गर्दैन। त्यसको लागि समाज चेतनशील हुन आवश्यक छ। अनेकौं विभेद भोग्दै आएका यौनिक अल्पसंख्यकले अन्यायमा पर्दा न्याय पाउने ग्यारेण्टी नयाँ कानून निर्माण र कार्यान्वयन पछि मात्र हुनेछ।

सन्ध्या नेपाली, इमेलबाट

प्रहरीको राम्रो अभियान 'मापसेपछि सीसीटीभी' (१०–१६ फागुन) सकारात्मक प्रयास हो। ट्राफिक प्रहरीले नदेख्दा जथाभावी गर्नेलाई यो अभियानले सुधार्न सहयोग गर्नेछ। मापसे अभियानले सडक दुर्घटना निकै कम गरे पनि प्रहरीको आँखा छलेर हिंड्नेले अहिले पनि आफूसँगै अरूलाई समस्यामा पार्ने गरेका छन्। निश्चित ठाउँमा मात्र होइन सवारी साधनको चाप हुने सबैतिर सीसीटीभी जडान गर्नु आवश्यक छ। जथाभावी सवारी चलाउनु हुन्न भन्ने सवारी चालकले बुझनुपर्छ। प्रत्येक व्यक्ति जिम्मेवार भए मात्र सडक दुर्घटना कम गर्न सकिन्छ।

अनिशा गौतम, इमेलबाट

जाँगर हुनेको देश

'अन्तिम सत्य स्वदेश' (१०–१६ फागुन) वास्तविक लाग्यो। सपना बोकेर वैदेशिक रोजगारमा गएका धेरै मानिस अहिले स्वदेश फर्केर विभिन्न पेशा व्यवसायमा लागिपरेका छन्। केही हुँदैन भन्दै विदेशिनेले विदेशमा गर्नुपर्ने कडा परिश्रम देखेर स्वदेशमा केही गर्ने कोशिश गर्नु सकारात्मक हो। सीप र क्षमताका आधारमा काम गर्ने हो भने पैसा कमाउन विदेश नै जानुपर्दैन। जाँगर हुनेलाई काम र दाम दुवै स्वदेशमा छ भन्ने कुरा देवराज अधिकारीको भनाइबाट प्रष्ट हुन्छ।

जीवन मल्ल, इमेलबाट

गरीबीको अनुहार

'विद्यालय बाहिरै' (१०–१६ फागुन) ले ग्रामीण क्षेत्रको वास्तविकता देखाउँछ। विद्यालय जाने उमेरका बालबालिकालाई काममा लगाइँदा सबैलाई निःशुल्क शिक्षा प्रदान गर्ने सरकारी लक्ष्य पूरा हुनसकेको छैन। सरकारी तथ्याङ्कमै पाँच लाख १९ हजार बालबालिका विद्यालय बाहिर छन् भन्ने पाइएपछि उनीहरूलाई विद्यालय पठाउन पहल गरिनुपर्ने होइन र? लाग्छ, सरकार अरू कसैले गरिदिन्छ भनेर बसेको छ।

रक्षा थापा, इमेलबाट

आफैंबाट शुरू

'देश बदल्ने कुरा' (१०–१६ फागुन) ले काम आफैंबाट शुरू गर्नुपर्दछ भन्ने सन्देश दिन्छ। आफूले केही नगर्ने अरूबाट ठूला आशा राख्नेहरूले साकार, मञ्जिल र विनोदबाट सिक्नुपर्दछ। अरूको भर नपरेर आफूले सक्ने काम थाल्ने हो भने देश परिवर्तन गर्न समय लाग्दैन।

विशाल केसी, इमेलबाट

सबै विद्यालयमा यौन शिक्षा

'फेरिंदै यौन व्यवहार' (१०–१६ फागुन) ले किशोरकिशोरीमा आएको व्यवहार परिवर्तनबारे जान्न मद्दत पुर्‍यायो। बढ्दो उमेरका किशोरकिशोरीलाई शारीरिक परिवर्तनबारे जानकारी नहुँदा विभिन्न समस्या आउन सक्छन्। प्रजनन् स्वास्थ्य र यौन शिक्षाबारे समयमै ज्ञान दिने हो भने थुप्रै समस्या हल हुनसक्छन्। त्यसैले पनि यो शिक्षाबारे सबैलाई जानकारी दिन आवश्यक हुन्छ। कतिपय विद्यालयमा अहिले पनि यौन शिक्षाबारे खुलेर पढाउने चलन छैन। अब प्रत्येक विद्यालयमा यस्ता कार्यक्रम शुरू गर्नुपर्छ।

चेतबहादुर राना, इमेलबाट

comments powered by Disqus

रमझम