हिजो गल्ती गर्नेलाई सजाय के?

Share:
  

 

सीमित व्यक्तिहरू नै महलमा पुग्नुथियो भने १३ हजार मानिस किन मारिए? माओवादीले यसको जवाफ दिनुपर्छ। 
 
 हिजो गल्ती गर्नेलाई सजाय के?  
हिमाल (१–१५ पुस) को आवरणमा प्रकाशित 'माओवादी हिरासत बर्बरताको केन्द्र' पढें। सहयात्रीहरूलाई त माओवादीले बर्बरतापूर्वक यातना दिएको रहेछ, आजसम्म न्याय पाएका रहेनछन् भने सामान्य जनताले के न्याय पाउलान्? हिजो सानो गल्ती गर्दा ज्यान लिनेसम्मको हर्कत गर्ने माओवादी नेताहरूलाई आज कस्तो सजाय दिंदा ठीक होला? सबै मुद्दाको निष्पक्ष छानबिन गर्ने हो भने माओवादीमा कुनै पनि नेताले सफाइ नपाउलान्। सीमित व्यक्तिहरू नै महलमा पुग्नुथियो भने १४ हजार मानिस किन मारिए माओवादीले यसको जवाफ दिनुपर्छ।  
रनसूदन नेपाल 
हिमालखबरबाट  
 
धेरैले कल्पना गर्न नसक्ने यस्ता यातनाका घटना बाहिर ल्याउन हिम्मत गर्नुभएकोमा सलाम! यातनाको पीडा नजिकबाट भोग्नुभएका तपाईंहरू आफ्नै र अरू धेरै यस्तै पीडितहरूको लागि नायक र यसका दोषीलाई जवाफदेही बनाउने काममा लाग्नुपर्दछ। आफ्नो पद, बढुवा र सुविधाका लागि यसलाई हतियारको रूपमा प्रयोग नगरी जवाफदेहिताको लागि निरन्तर लाग्न सक्नुभयो भने तपाईं क्रान्तिको सच्चा सिपाही मानिनुहुनेछ।  
कञ्चन चौधरी  
हिमालखबरबाट  
 
हिमाल (१–१५ पुस) मा प्रकाशित 'एमाओवादीको धरापमा' ले हाम्रो राजनीतिको वास्तविक चित्रण गरे जस्तो लाग्यो। मधेशी नेताहरूको बारेमा उल्लिखित विश्लेषण सन्तुलित छ। सन्तुलित विश्लेषणका लागि लेखकलाई धन्यवाद।  
सविर अन्सारी  
हिमालखबरबाट  
 
बज्जिका माथिको प्रहार!  
हिमाल (१–१५ पुस) मा प्रकाशित 'मैथलीमाथि प्रहार' शीर्षकको रिपोर्टले बज्जिका भाषामाथि प्रहार गरेको छ। बज्जिका नेपालमा शताब्दीयौंदेखि चलेको भाषा हो। आफ्नो भाषाप्रतिको सचेतनाले नेपालमा मातृभाषाको संख्या बढेको हो। अहिलेसम्म मधेशवादी वा गैर–मधेशवादी कुनै नेताले पनि बज्जिकाको पक्षमा बोलेका छैनन्। भाषाशास्त्री प्रा.डा.बालकृष्ण पोखरेलले रौतहट र सर्लाहीमा बज्जिका बोलिन्छ भनेर लेखेका छन्। मैथिली मातृभाषीहरूले पनि बज्जिकामा साहित्य रचना गरेका छन्। मैथिलीका प्रकाण्ड विद्वान डा. प्रफुल्ल सिंह 'मौन'ले त बज्जिका साहित्यका इतिहास नै लेखेका छन्। पछिल्लो जनगणनामा बज्जिकाभाषीले आफ्नो मातृभाषाको नाम उल्लेख गरेकाले तथ्यांक बढेको हो। 
सञ्जय साह मित्र 
महासचिव, बज्जिका भाषा विकास परिषद् नेपाल 
 
गाउँमा चेतना फैलाऊँ  
हिमाल (१–१५ पुस) को अन्तिम पाना 'अब स–साना काम गरौं' एकदमै सान्दर्भिक लाग्यो। मोहना अन्सारीले भने जस्तै हिंसाको विरोधमा जति आवाज उठे पनि घटना झ्न् बढेजस्तो लाग्छ। महिला हिंसा विरोधी अभियानलाई शहर र तारे होटलबाट गाउँतिर सार्नुपर्छ। महिलालाई आत्मनिर्भर बनाउनेतर्फ पनि बेलैमा सोच्नुपर्दछ।  
कल्पना थापा 
बूढानीलकण्ठ, काठमाडौं  
comments powered by Disqus

रमझम