३-९ जेठ २०७२ | 17-23 May 2015

सुस्त सरकार

Share:
  

हिमाल २७ वैशाख–२ जेठको आवरण तस्वीरले मन छोयो। नुवाकोटका बाबुराम क्षेत्री (७०) ले १२ दिनसम्म राहतको मुख देख्न पाएनछन्। राजधानीको आडमै रहेको जिल्लामा त राहत बाँड्न नसक्ने सरकारले ताप्लेजुङ वा अछामतिर भूकम्पले यस्तै क्षति पुर्‍याएको भए कस्तो हालत हुन्थ्यो होला? सरकार निकै सुस्त देखियो।

स्थलगत रिपोर्टिङले कहाँ के भइरहेको छ भन्नेबारे राम्रो जानकारी दिन्छ। हामी जस्ता विदेशिएकालाई देशको अवस्था थाहा पाउन सजिलोे भयो। मोफसलले यसरी नै स्थान पाइरहोस्। विपत्तिअघि विकट गाउँका धेरै दुःख लुकेका थिए। अब यस्तो नहोस्।

विष्णु थापा, इमेलबाट

डेरावालको मर्म बुझेको खै?

'विपत्तिपछिको व्यवस्था' (२७ वैशाख–२ जेठ) पढेपछि मन खिन्न भयो। सरकारले महाभूकम्पबाट घर भत्किएर बेघर बनेकालाई राहत दिने घोषणा गरेछ। तर, भाडामा बस्नेको मर्का चाहिं उसले बुझ्ेको छैन। गाउँमा घर नहुने र काठमाडौंमा डेरा बस्ने घरसमेत भत्किएर सडकमा पुगेकालाई सरकारले के व्यवस्था गरेको छ?

अर्को कुरा, सरकारले प्रदान गर्ने ठूलो राशीको राहत रकम कुम्ल्याउन कतिपयले जानाजान घरको पर्खाल ढालेका छन् भन्ने सुनियो। थोरथोरै चर्किएकाले पनि रु.२ लाखको लोभमा टालटुल नगरी बसिरहेका छन्। जानाजान पर्खाल ढाल्ने र थोरै चर्किएका घरधनीलाई राहत नबाँडियोस्। असली पीडितले मात्र राहत पाउनुपर्छ।

लालबहादुर क्षेत्री, इमेलबाट

जतिले पनि नपुग्नेहरू!

'मनका धनी, धनका गरीब' (२७ वैशाख–२ जेठ) ले आफैंलाई झ्कझ्क्याउने अवसर दियो। लेख पढेयता मैले पनि नुवाकोट, गेर्खु गाउँकी हजुरआमा जस्तै 'मनकी धनी' बन्ने प्रण गरेकी छु। अस्ति टुँडिखेल घुम्न जाँदा 'मनका गरीब' धेरै देखें। कार भएकाहरू पनि चीनले टाँगिदिएको पालमा बसेका रहेछन्। एउटा पाल समेत किन्न सकेनछन्। उनीहरूले यस्तो नगरिदिएका भए नहुनेहरूले राहत पाउँथे। हुनेलाई जति भए पनि नपुग्ने रहेछ!

माला सुनुवार, इमेलबाट

थप अनुसन्धान बाँकी

'क्यान्सरको दुश्मन सावरसुप' (२७ वैशाख–२ जेठ) मा सावरसुपका सकारात्मक गुण आए। अनुसन्धानले सावरसुपले क्यान्सर रोगको उपचारमा किमोथेरापीले भन्दा पनि राम्रोसँग क्यान्सर कोषलाई बढ्न नदिने तथ्य फेला परेको छ। तर, यसबारे भरपर्दो अनुसन्धान आवश्यक छ।

सावरसुपसँगै मिल्दो–जुल्दो र उही परिवारको फल– सरिफा (सलिफा वा आँटी) मा पनि उस्तै किसिमका तत्व पाइन्छन्। तर, सरिफा र क्यान्सरसँगको सम्बन्धबारे अनुसन्धान भएको छैन। हुन सक्छ, यसले पनि सावरसुपको जस्तै काम गर्छ।

डिल्ली, इमेलबाट

धन्यवाद हिमाल!

सबैले सरकारलाई गाली गरिरहेका बेला हिमाल ले चाहिं धन्यवाद दिएछ। 'धन्यवाद सरकार!' (२७ वैशाख–२ जेठ) देख्दा शुरूमा व्यंग्य गरेको होला भन्ठानेको थिएँ। पढ्दै गएपछि ठीकै लाग्यो। सरकार, राजनीतिक प्रणाली र राजनीतिक दलप्रति अविश्वास र घृणा जगाएर दुनो सोझयाउन खोज्नेलाई यस्ता लेखले तर्साउन सक्छ।

यतिबेला हामीसँग सरकारलाई विश्वास गर्नुको विकल्प छैन। त्यसका लागि सञ्चारमाध्यमले भूमिका खेल्नुपर्छ। तर, यसो भन्दैमा सरकारको गुणगान गाइरहन मिल्दैन। उसलाई झ्कझ्क्याउँदै राम्रा कामको प्रशंसा गरिदिनुपर्छ। भरोसा र विश्वास जगाउने लेखका लागि हिमाल लाई धन्यवाद।

भोलानाथ क्षेत्री, इमेलबाट

comments powered by Disqus

रमझम