३१ साउन - ५ भदौ २०७२ | 16-22 August 2015

सिन्को नभाँच्ने 'पपुलिष्ट'

Share:
  

'लोकरिझयाईंको लोभ' (२४–३० साउन) सान्दर्भिक छ। यसले जनतालाई मन पर्ने कुरा गरेर प्रभाव जमाइराख्ने तर सिन्को नभाँच्ने हाम्रा कतिपय नेताको प्रवृत्ति उजागर गरेको छ। उनीहरू सधैं जनताकै लागि खटिइरहेको जस्तो देखाउन खोज्छन् तर महत्वपूर्ण काम भने भइरहेको हुँदैन। क्षणिक लाभका लागि भीडबाट निर्देशित यस्ता नेताबाट केही अपेक्षा गर्न सकिंदैन।

रिमा लामा, इमेलबाट

महत्वपूर्ण सामग्री पढ्न पाइयो। 'पपुलिष्ट' नेताले कामै नगरी जनताका नाममा कसरी मन जित्न खोज्छन् भन्ने देखाइएको छ।

बालकृष्ण लम्साल, इमेलबाट

माथेमा प्रतिवेदन कार्यान्वयन गर

'तीन अर्बको तगारो' (२४–३० साउन) ले माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन गर्न अवरोध गरिरहेका समूहको स्वार्थ बताउँछ। प्रधानमन्त्रीस्तरीय निर्णयबाट गठित आयोगको प्रतिवेदन प्रधानमन्त्री सुशील कोइरालाकै कार्यकालमा कार्यान्वयन थालिहाल्नुपर्छ। तर, कोइराला सरकारले लामो समयसम्म प्रतिवेदन नै लुकायो। र, व्यापक जनदबाबपछि मात्र सार्वजनिक गर्‍यो। प्रतिवेदन कार्यान्वयनका लागि फेरि अर्को जनदबाब आवश्यक छ।

तुलसी आचार्य, इमेलबाट

माथेमा प्रतिवेदन बाहिर आउनु मात्रै पनि खुशीको कुरा हो। नत्र धेरै प्रतिवेदन त बाकसमै थन्क्याइएको छ।

राज गुरुङ, इमेलबाट

डा. गोविन्द केसीले पनि अनशन घोषणाको औचित्य पुष्टि गर्दै तत्काल माथेमा प्रतिवेदन कार्यान्वयनको माग गरेका छन्। तर, म डा. केसीलाई सोध्न चाहन्छु, 'के नेपालमा राजनीतिज्ञ मात्र भ्रष्ट छन्? डाक्टर चाहिं चोखा छन्?' कतिपय डाक्टरहरू उपचारका नाममा गरीब र निर्दोष जनता लुटिरहेका छन्। तर, डा. केसी किन ती डाक्टरहरू विरुद्ध चूँसम्म गर्नुहुन्न? औषधिको मूल्य भन्दा पाँच गुणा रकम असुल्ने फार्मेसीहरू छन्, केसी तिनका बारे पनि बोल्नुहुन्न। डाक्टर हुनुका नाताले उनलाई म सबैभन्दा पहिले भ्रष्ट स्वास्थ्य क्षेत्र सफा गर्न सुझ्ाव दिन्छु।

राम थापा, इमेलबाट

हुण्डीका अनेक कारण

'रेमिट्यान्समा रोकावट' (२४–३० साउन) राम्रो लाग्यो। समाचारमा भनिए जस्तै रेमिट्यान्स आउन कम हुनुमा हुण्डी कारोबार पनि एक हो। अनौपचारिक रूपबाट मुलुक भित्रिने मुद्राको हिस्सा ठूलो छ।

हुण्डी फस्टाउनुमा ब्यांकको दोहोरो शुल्क पनि जिम्मेवार छ। विदेशमा तिरिसकेको रेमिट महसुल नेपालका ब्यांकले फेरि असुल्छन्। उदाहरणका लागि कोरियाको ब्यांक मार्फत मुद्रा पठाउँदा ३ हजार डलरसम्मको १५ डलर लिन्छन्। डलर साट्न भन्दा सामान्यतया प्रति डलर रु.१ सस्तो हुने रेमिट्यान्स अन्तर्गतको सटही सुविधामा रकम नेपाल भित्रिंदा बैंक अफ काठमाण्डूमा १५ देखि ३५ डलरसम्म घटाएर (जम्मा भएको दिनको ब्यांकले किन्ने सटही दर बमोजिम) ब्यांक दाखिला हुन्छ। तर नेपालका सबै ब्यांकले सटही दर कम र शुल्क समेत काट्ने गरेका छन्। ब्यांकिङ प्रक्रियामा जाँदा प्रति लाखमा रु.१० हजारसम्म घाटा हुन्छ। यसकारण पनि हुण्डी फस्टाएको हो। र, प्रत्यक्ष रेमिट्यान्समा कमी आएको हो। विदेशमा खुलेका नेपाली ब्यांकका एजेण्ट र रेमिटले ग्राहक तान्न शुल्क थोरै देखाउने तर नेपालमा भने धेरै काट्ने प्रवृत्ति छ। यस्तो मनोमानीको अनुगमन नेपाल राष्ट्र ब्यांकले गर्नुपर्ने हो। अर्कोतर्फ लूट, भ्रष्टाचारबाट आर्जित धन जोगाउन रकम विदेशमै राखी नेपालमा भुक्तानी दिने क्रियाकलापले पनि हुण्डीमा मलजल गरेको छ। सटहीमा लाग्ने दोहोरो कर छल्न व्यापारीले पनि हुण्डी नै रोज्छन्।

डिल्ली शर्मा, इमेलबाट

comments powered by Disqus

रमझम