१-१४ कात्तिक २०७२ | 18-31 October 2015

नाकाबन्दीको खाल्डो

Share:
  

'नाकाबन्दीको नासो' (२४–३० असोज) मा मनकै कुरा लेखिएको रहेछ। मधेशीको पिठ्यूँपछाडि लुकेर भारतले नेपालमाथि प्रहार गरिरहेको छ। यो घातको जवाफ भनेको हाम्रो आत्मनिर्भरता नै हो। इन्धनको विकल्प खोज्न सके हामीले भारतको घुर्की सहनै पर्दैन। यसर्थ, छिमेकीको यो कपटलाई अवसरका रूपमा लिएर अघि बढ्नुपर्छ। स्वाभिमानी नेपाल भारतको चाहना होइन।

जब–जब नेपालको संविधान २०७२ को कुरा उठ्नेछ, तब–तब हामी भारतको अस्वाभाविक विरोधलाई सम्झिरहनेछौं। त्यसो त नयाँ नेपाल निर्माणप्रतिको भारतीय विरोधले नेपालीमा थप राष्ट्रभाव जगाएकाले ऊप्रति आभार प्रकट गर्न पनि बिर्सनुहुँदैन।

रुपक गौतम, इमेलबाट

मधेशीहरू भारतसँग रोटी र बेटी सम्बन्धको कुरा गरिरहेका छन्। तर, भारतले आफ्नो परराष्ट्र नीति नसुधार्ने हो भने नेपालसँग उसको दिगो सम्बन्ध हुन सक्दैन। हामी कठपुतली होइनौं। पेट्रोलियम संकट उत्पन्न गराएर घुँडा टेकाउन खोज्ने उसको चालबाजी असफल हुनेछ। त्यसैले समयमै कूटनीति सच्याउँदै नेपालसँग माफी माग्नु बुद्धिमानी हुनेछ।

मछिन्द्र गुभाजु, इमेलबाट

उत्कृष्ट आवरण

२४–३० असोजमा छापिएको आवरण तस्वीर र शीर्षक संयोजन साह्रै मनपर्‍यो। वृद्ध व्यक्तिलाई बोकेर सम्भवतः अस्पताल लैजाँदै गरेको युवा र पृष्ठभूमिमा 'वेलकम टू इन्डिया' लेखिएको ब्यानर अनि शीर्षक चाहिं 'नाकाबन्दीको नासो'! कति मीठो तालमेल। साथै, पृष्ठ तीनमा छापिएको तस्वीरले चाहिं मन छोयो। पेट्रोलियम पदार्थको अभावले यात्रुले कतिविघ्न सास्ती खेपिरहेका छन् भन्ने कुरा तस्वीरले बोलेको छ। वृद्धा, केटाकेटीसमेत झ्ुन्डिएर र गाडीको छतमा यात्रा गर्न बाध्य छन्। यो व्यथा कहिलेसम्म? अत्यास लागिसक्यो।

तबु खान, इमेलबाट

आफैंले निम्त्याएको दुःख

दुई शक्तिशाली छिमेकी चीन र भारतबीच रहेर पनि हामीले फाइदा लिन जानेनौं। दुवैको बराबर उपयोग गर्नुपर्थ्यो, गरेनौं। ढिला त अझै भएको छैन। 'चीन किन टाढा?' (२४–३० असोज) पढेपछि छिमेकीको सम्बन्धमा लाखापाखा गर्ने हाम्रै कुबुद्धिले पो यस्तो दुःख पाइएको रहेछ भन्ने थाहा भयो।

सुरज उपाध्याय, इमेलबाट

व्यंग्यात्मक विरोध

'मोदीको क्षमापूजा' (२४–३० असोज) युट्युबमा पनि हेरियो। मनोज गजुरेलको अभिनय साह्रै मनपर्‍यो। विरोधको यो शैली व्यंग्यात्मक र सटिक लाग्यो। आ–आफ्नो ढंगले नाकाबन्दीको विरोध सबैले गर्नैपर्छ। तर, पशुपतिनाथमै पुगेर मन्त्र पढेर विरोध जनाउँदा भने धर्मको खिल्ली उडाए झैं पनि लाग्यो। तर राष्ट्रियता खातिर गरिएको यो व्यंग्यको सराहना गर्नैपर्छ।

लोकराज रिमाल, इमेलबाट

comments powered by Disqus

रमझम