पाल तराईका होइनन्

Share:
  

बृहत् ज्ञानकोशका लेखक ज्ञानेश्वर भट्टराईको '८औं शताब्दीमा खसपर्वतीय जातिहरू मुसलमानबाट हिन्दू धर्ममा दीक्षित भई जनै धारण गरी राणा―शाह हुँदै राजदरबारमा आसीन भएका हुन्' भन्ने अन्तै छापिएको लेखलाई डा. ढुङ्गेलको लेख 'भेटिएन खसान, जडान' (हिमाल १―१५ माघ) ले पुष्टि गरेको छ। खस प्रदेशमा चन्द राजाले ब्राह्मण र खस क्षत्रीलाई दिएको छुट्टाछुट्टै पहिचान अनुसार कुमाई ब्राह्मण, पूर्वीय ब्राह्मण (कर्णाली प्रदेश), नेपाल मण्डल (नेपाल उपत्यका) का ब्राह्मण, भारतको झाँसी लगायतका क्षेत्रबाट प्रवेश गरेका ब्राह्मणहरूको छुट्टाछुट्टै अभिलेख छ। तर, यसमा थापा, बस्नेत, कार्की आदि भेटिंदैनन् भने क्षत्री समुदायको अहिलेका र त्यतिबेलाका थर पनि मिल्दैनन्।

वि.सं. १०३८ मा कत्युरवंशका राजा गिरदेवको हत्यापछि कुमाउ, डडेलधुरा, जुम्ला र सिंजा डोटीबाटै अलग भएका हुन्। त्यसपछि कुमाउका खस समुदायको एउटा शाखा मानसरोवर हुँदै तिब्बतको खारी पुग्यो। त्यही ताका जुम्ला–सिंजाका अरू असन्तुष्ट खस समूह पनि कर्णाली नदीको किनार हुँदै त्यहीं पुगे।

खारी पुगेका खसहरू पुराङ र काउन्टीकोटका भोटे राजाको सुरक्षा निकायमा पसे। तिनै खसका वंशज नागराजले वि.सं. १२०६/०७ मा कर्णाली प्रदेश आएर शासन गर्न थाले। खारीबाट आएकाले उनीहरूले तिब्बती भाषा प्रयोग गर्नु नौलो भएन। कत्युरवंशका राजा अभय पालले वि.सं. १२१७ को विद्रोहपछि 'देव' छाडेर 'पाल' उपाधि धारण गरेका हुन्। त्यसकारण, 'पाल' लाई तराईका 'पाल गडेरी' र सिम्रौनगढका न्यायदेवका खलक बुझनु हुँदैन।
रुद्रबहादुर खत्री, अधिवक्ता,

भोजपुर

खसान र जडानको विमर्श

नेपालका खसबारे डा. रमेश ढुंगेलको लेख 'भेटिएन खसान, जडान' (हिमाल १–१५ माघ) पढेपछि खसान र जडानबारे भाषिक हिसाबको खस्खस् लाग्यो। भोटेली र तमाङ भाषामा 'ख' भनेको मुख हो। यसले माथि वा उपल्लो भन्ने अर्थ पनि दिन्छ। यसैगरी, 'सान' को अर्थ सीमा वा साँध हो। विष्ट, थकाली, गुरुङ, ल्होपा, ल्होमी, डोल्पो आदि आदिवासी समुदाय भोटेली भाषी हुन्।

नेपाल सरहदको उत्तरी सिमाना जनाउन 'खसान' शब्द प्रयोग भएको हुन सक्छ। भोटेली भाषा बोल्ने नेपालभित्रका समुदायले तल्लो सिमाना जनाउनुपर्दा 'दिसान' भन्छन्। 'दि' भनेको तल, मुनि हो। 'फेदि' ले बेंसी जनाउँछ। 'फेदि डोवा छेर्सोङ' (गर्मी ठाउँमा जान मन भएन) भन्ने गीतै छ। 'खसान' र 'दिसान' बीचको नेपाली भूभागमा शताब्दीयौंदेखि भोटेलीसँगै ठकुरी, बाहुन–क्षत्री, दलित आदि पनि बस्दै आएको इतिहास छ।

जहाँसम्म जडानको कुरा छ, यसमा 'मुस्ताङ, मुगु आदि क्षेत्रसम्म तमाङ राज्य थियो' भन्ने रवीन्द्र तामाङको दाबीसँग जोडेर हेर्दा राम्रो होला जस्तो लाग्छ। तामाङ भाषामा 'जः' ले छोरो जनाउँछ भने 'डेन्' को अर्थ सम्झ्नु हो। त्यस क्षेत्रमा तामाङ राजाका कुनै छोरा राजा हुन गएको, पठाइएको वा लगिएको हुनसक्छ। यो सन्दर्भमा भोटेली समुदायमा रहेको 'माक्पा' (घरज्वाईं) बस्ने चलनलाई पनि सम्झ्नुपर्छ। राजा वा घरज्वाईं जे हुन गए पनि परिवारबाट टाढिएको छोराको सम्झ्ना आउने नै भयो। त्यो छोरा सम्झिएर भनेको 'जःडेन' क्रमशः अपभ्रंश भई 'जडान' भएको अनुमान लगाउन सकिन्छ।

डा. ढुंगेलले 'ढाक्पा दे' शब्द उल्लेख गरेका छन्। तमाङ समुदायको बोन्पो र लामा दुवैले ढाक्पादे (डक्पोसल) लाई हिन्दूले भैरवलाई झै तान्त्रिक शक्ति मानेर पुज्छन्।
फुर्पा तमाङ, अधिवक्ता, ठूलोभार्खु, रसुवा

**संरक्षण नदेऊ ** हिमाल (१६―२९ माघ) मा प्रकाशित 'फर्जी प्रशासक' समाचारबाट प्रशासनिक क्षेत्रको अवस्था बुझन सकिन्छ। दुःख र मिहिनेत गरेर डिग्री गरेका हामीमध्ये कति आज खाडी मुलुकमा पसिना बगाउन बाध्य छौं। तर महानिर्देशक झाको नक्कली शैक्षिक प्रमाणपत्रबारे छानबिन गरी आवश्यक कारबाही गर्नेतर्फ सरकार उदासीन देखिएको छ। वीरगञ्जका काशी तिवारी हत्याका आरोपी तत्कालीन भूमिसुधार मन्त्री प्रभु शाह विरुद्धको मुद्दा फिर्ता गरिदेऊ भन्दै गत वर्ष तिनै झाले पैसाको बिटो बोकेर पीडित परिवारलाई अनुनयविनय गरेका थिए। खोज पत्रकारितामा अग्रणी हिमाल ले तिनै झाको असली रूप खोतलेर थप समाचार सामग्री पस्किएकोमा धन्यवाद। तथ्यपरक समाचार सार्वजनिक हुँदा पनि छानबिन गरी कारबाही प्रक्रिया अघि नबढाउनुले फर्जी प्रशासक झाले उपल्लो तहकै आशीर्वाद पाएको बुझन सकिन्छ

मिस्टर बी, अनलाइनबाट

'फर्जी प्रशासक' पढेपछि नेपालको प्रशासनिक क्षेत्रमा विद्यमान घिनलाग्दो अवस्था छर्लङ्ग हुन्छ। एकजना किर्ते मधेशी प्रशासकका कारण सिंगो मधेशी समुदायले शिर निहुराउनुपर्ने भएको छ।
सुनील चौधरी, सुनसरी

**गैरजिम्मेवार राज्य ** हिमाल (१६―२९ माघ) मा प्रकाशित 'मानव तस्करीको जालो' शीर्षकको समाचार पढेपछि राज्य कतिसम्म गैरजिम्मेवार रहेछ भन्ने प्रष्ट हुन्छ। जसका कारण नेपालीहरूले विदेशमा नेपाली भन्न समेत लाजमर्दो भएको छ। अनपढ महिलाहरूलाई एउटा मुलुकमा पठाउने भनी पैसा असुलेर अन्यत्र पठाउने म्यानपावर संचालकहरूमाथि सरकारले कडा कारबाही गर्नुपर्छ। साथै, विदेशमा नेपाली महिलाले भोग्नु परेका दुःखकष्टबारे गाउँघरसम्म प्रचार गर्नुपर्दछ।

आर. राई, अनलाइनबाट

कृषिलाई प्रोत्साहन दिउँ

हिमाल (१६―२९ माघ) मा प्रकाशित 'ट्राउटको अर्थशास्त्र' पढेपछि नेपालमा व्यावसायिक रेन्वो ट्राउट र यसको सम्भावनाबारे जानकारी भयो। स्वस्फूर्त रूपमा माछापालन गरेका किसानहरूलाई राज्यको तर्फबाट बेलाबेलामा तालिमका साथै प्रोत्साहन दिन सकिएमा यसबाट मुलुकको अर्थतन्त्रमा ठूलै टेवा पुग्ने देखिन्छ।
प्रमोद राई, अनलाइनबाट

लोकतन्त्रको पहरेदार बनोस्

लोकतन्त्रको पहरेदारीमा प्रतिबद्ध हिमाल खबरपत्रिका पाक्षिकबाट साप्ताहिकमा फड्को मारेको सुन्न पाउँदा खुशी लाग्यो। कानूनी राज्य र लोकतान्त्रिक मूल्यमान्यताका पक्षमा विगतमा जस्तै हिमाल सशक्त रूपमा अघि बढोस्। साप्ताहिक हिमाल का लागि शुभकामना!
कृष्ण कुम्पुरे, धादिङ

हिमाल (१६―२९ माघ) को प्रकाशकीय पढेपछि निकै खुशी लाग्यो। राष्ट्र र राष्ट्रियताको पक्षमा विगत लामो समयदेखि निडर, सबल, सक्षम र परिपक्व सूचनाको अभियानलाई यहाँसम्म ल्याउनुभएकोमा हिमाल परिवारलाई बधाई! साथै, पाक्षिक रूपमा प्रकाशित हुँदै आएको हिमाल साप्ताहिक हुने खबरले म जस्तो नियमित पाठकलाई अत्यन्तै खुशी बनाएको छ। यसबाट हिमाल का विश्लेषणात्मक सामग्री पढ्न अब १५ दिन पर्खनु नपर्ने भएको छ। आशा छ, हिमाल ले आफ्नो साख जोगाउँदै नेपाली पत्रकारिताको विकासक्रमलाई नयाँ उचाइमा पुर्‍याउनेछ।
महेश के.सी., खलङ्गा―१, रुकुम

विगतमा जस्तै आउँदा दिनमा पनि हिमाल खबरपत्रिका ले निरन्तर लोकतन्त्रको पहरेदारीका पक्षमा काम गरोस्। साप्ताहिक हिमाल खबरपत्रिका लाई शुभकामना!
सुरजकुमार भुजेल, अनलाइनबाट

मासिकबाट शुरू भएको हिमाल पाक्षिक हुँदै हरेक साता प्रकाशित हुन लागेको थाहा भयो। हिमाल को पत्रकारिता भोलिका दिनमा दैनिक हुनसकोस् मुरी–मुरी शुभकामना! नेपाली रोजदीप, अनलाइनबाट

उत्कृष्ट प्रतिक्रियालाई साप्ताहिक हिमाल

हिमाल को साप्ताहिक अवतारसँगै पाठक–समाचार–कक्षबीचको स्वस्थ अन्तरक्रियाको अपेक्षामा हाम्रा प्रकाशित सामग्री तथा सार्वजनिक सरोकारका विषय केन्द्रित समाज–उपयोगी लेख–प्रतिक्रिया (बढीमा १५० शब्दको) पठाउन प्रिय पाठकहरुमा अनुरोध छ। हामीलाई प्राप्त लेख–प्रतिक्रियामध्येबाट उत्कृष्ट एउटाका प्रेषकलाई एक वर्षसम्म हिमाल पठाइनेछ। मासिक रुपमा छनोट गरिने उत्कृष्ट पाठकका बारेमा हिमाल बाटै जानकारी समेत गराइनेछ। आफ्नो लेख–प्रतिक्रिया हुलाकमार्फत हिमाल को ठेगानामा तथा letters@himalmedia.com मा समेत पठाउन सकिनेछ।

comments powered by Disqus

रमझम