२२ कात्तिक - ५ मंसीर २०७२ | 8-21 November 2015

नयाँ आयाम

Share:
  

देशको सर्वोच्च पदमा महिला पुग्नु र पेट्रोलियम पदार्थमा भारतसँगको निर्भरता तोड्दै चीनसँग पनि आपूर्ति समझ्दारी गर्नुले मुलुकको आयाम परिवर्तन गरिदिएको छ। भारतको नाकाबन्दीले नेपाललाई नयाँ गन्तव्यतर्फ डोेर्‍याएको छ।

बदलिंदो राजनीतिक परिदृश्यले सत्तामा पुगेकाहरूलाई ऐतिहासिक अवसर दिएको छ। अवसरलाई बुद्धिमत्तापूर्वक सदुपयोग गर्ने चुनौती उनीहरूले स्वीकार गर्नुपर्छ। 'पाराडाइम सिफ्ट' (१५–२१ कात्तिक) मा भनिए झैं नेपालले अब भारत र चीन दुवैसँग बराबर सम्बन्ध राख्दै 'प्रो–नेपाली' कूटनीति अघि बढाउनुपर्छ।

झिनमान लिम्बू, इमेलबाट

जे अड्कल थियो, त्यही भयो। नेपालले चीनबाट पेट्रोल भित्र्याएपछि भारतले पक्कै केही गर्छ भनेर प्रा. धु्रबकुमारले हिमाल सँग भनेकै थिए। नभन्दै भारतले वीरगञ्ज काण्ड मच्चायो। मधेशी मोर्चा पनि सहमतितर्फ उन्मुख हुनु र चीनसँग पनि सम्झ्ौता गरिनु लगत्तै भारतले अर्को पासा चाल्यो। त्यत्तिका दिनसम्म ठप्प रहेको नाका त्यसै दिन खोल्नु, मोर्चाका कार्यकर्ता र प्रहरीबीच झ्डप हुनुलाई संयोग मात्र मान्न सकिंदैन।

विकास खरेल, इमेलबाट

संकटबाटै सिर्जना

भनिन्छ, संकट नै सिर्जनाको जननी हो। अहिले हामीलाई संकट आइलागेको छ, के थाहा उन्नतिकै लागि यी सबै भइरहेका छन् कि? 'आपत्सँगै अवसर' (१५–२१ कात्तिक) सविस्तार पढें। विज्ञहरूका कुरा साह्रै मनासिब लागे। शिक्षाविद् डा. विद्यानाथ कोइरालाले अभिभावकका लागि राम्रो सुझ्ाव दिएछन्। सन्तानलाई घरछेउकै विद्यालयमा पठाउँदा धेरै हिसाबमा सहज हुन्छ। भारतको नाकाबन्दी ठूलो पाठ बनेको छ।

दूधप्रसाद घिमिरे, इमेलबाट

सतर्क होऔं

नेपाल इतिहासकै जटिल अवस्थामा पुगेको छ। यस्तोमा सरकार तथा नेताहरू हदैसम्म जिम्मेवार भएर राहत दिने काममा लाग्नुपर्ने हो। तर, यहाँ कुर्सीकै लागि हानाथाप भइरहेको छ। प्रधानमन्त्रीलाई 'उपप्रधानमन्त्री' बाँड्दैमा फुर्सद छैन।

यस्तोमा चीनसँग गरिएको समझ्दारीले देश दुई छिमेकीको खेलमैदान बन्ला भन्ने आशंका उत्पन्न भएको छ। भारतले त खुलेआम रजाइँ गरिरहेकै छ, चीनले पनि 'नेपालको स्वतन्त्रता र सार्वभौमिकताको रक्षा गर्छौं' भन्दै स्वार्थपूर्ति नगर्ला भन्न सकिन्न। सम्पादकीय 'आत्मविश्वासको विस्तार' (१५–२१ कात्तिक) मा लेखिए झ्ैं चीनसँगको पेट्रोल आपूर्ति समाधान होइन, बरु सतर्क हुने समयको थालनी हो भनी बुझनुपर्छ।

बानियाँ बन्धु, इमेलबाट

मधेशी भारतको एउटा जाति हो। तर, नेपालको तराई, मधेश कसरी भयो? तराईवासी कसरी मधेशी भए? यसको गहन अध्ययन गरिनुपर्छ।

सीएम खड्का, इमेलबाट

देश बिर्सनेका कुरै नगरौं!

रमझ्मभित्र एकैपटक दुईथरी समाचार पढ्न पाइयो। 'अमेरिका नै प्यारो' र 'नेपाली गलैंचा प्रेम' (१५–२१ कात्तिक) पढेपछि केही नलेखी बस्नै सकिनँ। केही नेपाली स्वदेशमा 'जागिर' नपाएर अमेरिका भासिएछन् भने कोही अमेरिकी चाहिं राष्ट्रसंघ र विश्व ब्यांकको जागिर छोडेर नेपालका गलैंचा विश्व बजारमा पुर्‍याउने काममा खटिएका रहेछन्।

'जहाँ बसे पनि आफ्नो काम भुलेका छैनौं' भन्दै हाम्रा कलाकार डलर कमाउन व्यस्त रहेछन्। उमेर, जोश र जाँगर होउञ्जेल विदेशमा पसिना बगाउने उनीहरू बुढेसकालमा देश खोज्दै आइपुग्छन्। यस्ता नेपालीलाई माया गर्नुभन्दा अमेरिकी स्टेफेनी ओडेगार्ड जस्तालाई सम्मान गर्नु बेस।

अल्का सिंह, इमेलबाट

comments powered by Disqus

रमझम