१३-१९ मंसीर २०७२ | 29 Nov - 5 Dec 2015

सिन्धुपाल्चोकवासीबाट सिकौं

Share:
  

नेपाली कतिसम्म शूरा र सहनशील छन् भन्ने कुरा 'भूकम्पको पीडामाथि नाकाबन्दीको मार' (६–१२ मंसीर) पढेपछि छर्लङ्ग भयो। महाभूकम्पले घर भत्किएका, आफन्त गुमाएका र अंगभंग भएका सिन्धुपाल्चोकवासी सखरखण्ड र लप्सी बेचेरै भए पनि घर पुनःनिर्माण गर्ने आँट कसिरहेका रहेछन्। हामी भने राजधानीमा कालोबजारीमा तेल किन्दै 'सरकारले हेरेन' भन्दै कोकोहोलो मच्चाइरहेका छौं। पौरखी सिन्धुपाल्चोकवासीबाट सिकौं।

टीका भट्ट, इमेलबाट

सबै नेपाली पीडामा छौं। सबैको हालत नाजुक छ। तर, भूकम्प पीडितको जति बिजोग कसैको छैन। पुनःनिर्माण र राहतका कार्यक्रम जोडतोडले अघि बढाउनुपर्ने वेला सरकार र संस्थाहरूले भने भूकम्प पीडितका पीर बिर्सिएका छन्। नाकाबन्दीसँग जुध्ने बहानामा पीडितलाई बिर्सन मिल्दैन।

लाल गुरुङ, इमेलबाट

आशासँगै आशंका

भनिन्छ, आशा नै बाँच्ने आधार हो। देशको हालत सुधि्रएला, नेताको बुद्धि फिर्ला, सुशासन कायम होला, अवसरको ओइरो लाग्ला भन्ने देशवासीको आशा पुरानै हो। अब भने नाकाबन्दी हट्ला, देश आत्मनिर्भर होला, सामाजिक सहिष्णुता कायम होला भन्ने अर्को आशा पनि थपिएको छ। यस्तो वेला 'दुर्दिनभित्र सुदिन' (६–१२ मंसीर) पढें। मनभित्र आशासँगै आशंका पलायो।

देवी दाहाल, इमेलबाट

चीनः सधैंका लागि

'भारत निर्भरताको परिणाम' (६–१२ मंसीर) मा चीनलाई नेपालले विकल्प नभएर आवश्यकताका रूपमा लिनुपर्छ भन्ने तर्क पढेर खुशी लाग्यो। भारतले नाकाबन्दी गरेपछि मात्रै चीनतर्फ आँखा पुर्‍याउनु हाम्रो गल्ती हो। भारतले नाका खोलेपछि चीनलाई पुनः बेवास्ता गरियो भने हामी मूर्ख मित्रराष्ट्र हुनेछौं।

हाम्रा लागि चीन विकल्प होइन। अन्तर्राष्ट्रिय व्यापार सन्तुलनका लागि पनि हामीले दुवै छिमेकीसँग समान सम्बन्ध स्थापित गर्नुपर्छ। त्यसैले भारत मात्रै होइन, चीनसँग पनि इन्धन र अन्य सामग्री खरीद गर्नुपर्छ। दुःखमा मात्रै चीन सम्झ्नुहुँदैन।

ढाकाराम रिजाल, इमेलबाट

धन हुनेको कानून!

नाकाबन्दीपछि 'तेलमा मिसावटको महामारी' (६–१२ मंसीर) भइरहेको कुरा थाहा थियो। तर, पेट्रोलपम्पमा रिमोट जडान गरेर सञ्चालकले उपभोक्ता ठग्दै आएको कुरा सुन्दा छाँगाबाट खसे झैं भइयो। यस्तो अपराध गर्नेलाई रु.१ हजार जरिवाना र ६ महीना कैदको सजाय सुनाएको सुन्दा झ्नै विरक्त लाग्यो। महीनामा रु.४ लाखको दरले वर्षको ४८ लाख ठगी गर्नेलाई यति मात्रै सजाय? कस्तो कानूनमा चलिरहेको छ हाम्रो देश?

मीनबहादुर पण्डित, इमेलबाट

नेताले बिगारेको देश

नेपालका कथित 'राष्ट्रवादी' हरू भारतमा 'होलसेल' मा बिक्ने हुँदा नै सर्वसाधारणले दुःख पाइरहेका हुन्। अगुवाकै मति भ्रष्ट भएपछि जनताले सास्ती पाएका हुन्। 'नेताले बिगारेको देश' को उदाहरण हो नेपाल, जसबाट छिमेकीले फाइदा उठाइरहेका छन्। 'अधिकारको नाममा ब्ल्याकमेलिङ' (६–१२ मंसीर) मा लेखिएका कुरा सोह्रै आना सही लाग्यो। हाम्रो जलस्रोतमा आँखा लगाउनेलाई नेपाली एकजूट भई परास्त गर्नुपर्छ।

भूपेन्द्र, आज्ञा, इमेलबाट

comments powered by Disqus

रमझम