१७-२३ माघ २०७२ | 31 Jan - 6 Feb 2016

प्रहरीको पक्षमा

Share:
  

आफू पनि पूर्वप्रहरी भएकाले होला, 'लखतरान प्रहरी' (१०–१६ माघ) का प्रत्येक हरफ मनासिब लागे। वास्तवमै नानाथरी कामको जिम्मा भएकाले नेपाल प्रहरीले आफ्नो मुख्य कर्तव्य गतिलोसँग पूरा गर्न सकिरहेको छैन।

देशमा तीन–तीन वटा सुरक्षा निकाय हुँदा पनि प्रहरीको बोझ् अत्यधिक हुनु दुःखद् हो। हरेक सुरक्षा निकायबीच कामको उचित बाँडफाँड हुँदा प्रहरी एक्लैले भएभरको बोझ् उठाउनुपर्दैन। एउटै निकायले एक हजार ८ वटा कामको जिम्मा लिएपछि चुस्त परिणाम कसरी आओस्?

डब्बु थापा, इमेलबाट

हाम्रो टोलमा प्रत्येक दिन तीन–चार जना प्रहरी दाइहरू आउने गरेका छन्। कहिले नेपाल पुलिस लेखेको मोटरबाइक त कहिले प्रहरी–भ्यान लिएर आउने उनीहरूलाई के काममा खटाइएको हो, त्यो थाहा छैन। तर, उनीहरू कि घरछेउको चउरमा बदाम खाँदै दिन काट्छन् कि नजिकैको मासु पसलका साहूजीसँग चेस खेलेर बस्छन्। यसरी काम नगरी एकातिर गएर दिन कटाएपछि प्रहरीको बोझ् थपिने नै भयो। जिम्मा लिएको काम इमानदारी साथ गर्ने हो भने बोझ् हुँदैन।

कपिलदेव पन्त, इमेलबाट

प्रहरीहरू किन चिन्तित, थकित र गलित देखिन्छन् भनेको त अनेक झ्मेला सल्ट्याउनु पर्दोरहेछ! पेट्रोल पम्पमा इन्धन वितरण व्यवस्थित गराउनेदेखि सीमा सुरक्षा, वातावरण र जैविक सुरक्षा, मह140वपूर्ण भवनहरूको सुरक्षा, अपराध अनुसन्धान र नियन्त्रणसम्मका काममा लागिपरिरहे पनि प्रहरीले कहिल्यै गुनासो गरेको सुनिएन। हिमाल ले समस्या पहिचान गरी प्रहरीका पक्षमा लेखेको खुशी लाग्यो।

रुपा चौधरी, इमेलबाट

न्यूनतम बेतनमा प्रहरीलाई लामो समय ड्यूटीमा खटाउनु प्रशासनको बाध्यता भएको छ। थाकेर लखतरान भएको प्रहरी कहिलेकाहीं आवेशमा नआउला भन्न सकिन्नँ। तसर्थ, सुरक्षाकर्मीलाई बेकारको बोझ् भिडाउनुहुँदैन।

सहदेव, आगन्तुक पौडेल, इमेलबाट

व्यापारका लागि क्यान मेला?

इन्फोटेक ज्ञान र सूचनाका लागि नभई व्यापारिक स्थल मात्रै बनिरहेको हो कि भन्ने मलाई पनि खट्किरहेको थियो। इन्फोटेकमा सहभागी व्यवसायीहरू आफ्ना उत्पादन वा प्रविधिबारे जानकारी दिनुभन्दा सामान बेच्नमै तल्लीन देखिन्छन्। 'इन्फोटेक कोसेढुंगा बनेको छ' (१०–१६ माघ) मा कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) का अध्यक्ष विनोद ढकालले भने झैं इन्फोटेक व्यापारिक केन्द्रको सट्टा सम्पर्कस्थल नै बन्नुपर्छ। यसो हुँदा मात्रै मेलाले ग्राहकलाई प्रविधिनजिक ल्याउन सघाउँछ।

तुषार अधिकारी, इमेलबाट

संशोधन आवश्यक

१ माघ २०६३ मा जारी भएको नेपालको अन्तरिम संविधान–२०६३ सोही वर्षको २९ फागुनमा पहिलो पटक संशोधन गरिएको थियो। त्यसपछि दुई वटा संविधानसभाको चुनाव भयो। पछिल्लो सभाले ३ असोजमा आएर बल्ल संविधान जारी गर्न सक्यो। संविधान आएपछि सबै समस्या समाधान होलान् भन्ने जनआशा तुहिए पनि अब असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन 'दोस्रो संशोधनतिर' (१०–१६ माघ) मा भनिए झैं संविधानको अर्को संशोधन आवश्यक छ।

मुरारी, विद्यानाथ, इमेलबाट

खेलाडीले खुशी बनाए

सबैभन्दा ठूलो कुरा इमानदारी र इच्छाशक्ति रहेछ। खेलाडीले इमानदार भएर देशका निम्ति खेले र दुःखका वेला पनि सारा नेपालीलाई खुशी बनाए। यी खेलाडीको मिहिनेत र इच्छाशक्तिको कदर गर्नैपर्र्छ। नयाँ पुस्ताबाट नयाँ युगको प्रारम्भ हुने लक्षण देखियो।

अशोक पौडेल, इमेलबाट

comments powered by Disqus

रमझम