९-१५ फागुन २०७२ | 21-27 February 2016

मृत्युपछिको प्रशंसा

Share:
  

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधन सम्बन्धी हिमाल (२–८ फागुन) मा प्रकाशित सामग्री मन पर्‍यो। आफ्नो बेइमानी लुकाउन अर्कालाई सत्तोसराप गर्नु नेपालीको पहिचान जस्तै भइसकेको छ। भ्रष्ट समाजले सुशील'दाको सादगीपूर्ण जीवनलाई कसरी रुचाउँथ्यो र! कतिपय मिडिया हाउसले जिउँदो रहँदा सुशील'दाको सादा र स्वच्छ छविबारे छलफल गर्नै आवश्यक ठानेन। बरू उल्टो उहाँमाथि झूटो लान्छना लगाए। यो कस्तो राष्ट्र हो जहाँ मरेपछि मात्र प्रशंसा गरिन्छ।

राममणि सुवेदी, अनलाइनबाट

असल नेताको अवसान

सुशील'दाले सहजै बिदा लिए। नेपाली कांग्रेसको मूलधार परम्पराका अन्तिम नेता बिदा भए। धेरै अपजस सहे। तर अत्यन्त अप्ठ्यारो अवस्थामा संविधान जारी गराएको जस बोकेर गए। राष्ट्रले सच्चा नेता गुमाएको छ। उनीबाट समाज र राष्ट्रले ग्रहण गर्नुपर्ने कुरा धेरै छन्। तर, उनी बाँचिरहँदा उनको सादा र स्वच्छ छविबारे कमै मात्र बाहिर आयो। 'एक थिए सुशीलदा' (२–८ फागुन) मार्फत बाँचुन्जेल मान्छेलाई अति निर्लज्जतापूर्वक लाञ्छना लगाउने र मृत्युपछि तिनको तारीफ गर्ने प्रवृत्तिबारे लेखिएको लेख सान्दर्भिक छ।

युवराज बुढाथोकी, अनलाइनबाट

मनोगत विश्लेषण

हिमाल (२–८ फागुन) मा 'हार्ने मधेशवादी, जित्ने मधेश' पढें। लेखक महोदयका केही कुरा बुझन सकिएन। मधेशले जितेको र मधेशवादीले हारेको भन्ने कुरा नै अस्पष्ट छ। किनकि कुनै पनि भूखण्डले स्वयं जित्ने वा हार्ने हुँदैन। अर्को कुरा, लेखकले तराईका २० जिल्लालाई मधेश नामकरण गरेका छन्। नवलपरासीदेखि पश्चिमको भूभाग थारूवानका नाममा विवादित छ। झापा, मोरङ, सुनसरी समेत प्रदेश १ वा २ कता रहने स्पष्ट छैन। यस्तो अवस्थामा लेखकको मनोगत सीमांकन सही छैन। जब मधेशको जीत नै भइसकेको छ भने किन लेखक पहाड र हिमालसित मधेशलाई जिताउन आग्रह गरिरहेका छन् त?

शान्त बोहरा, अनलाइनबाट

परापूर्वदेखिका तराईवासी रैथानेहरू हारिरहेका छन्। गोश्वारा ऐन २०१२ ले तराईलाई मधेश बनायो। त्यो पनि मधेशको हार हो। ३१ जुलाई १९५० मा भएको नेपाल भारत मैत्री तथा शान्ति सन्धिको धारा ७ को 'रेसीप्रोकल बेसिस' को सुविधा उपभोग गर्दै आएका भारतीय नागरिकलाई जसरी नागरिकता दिइयो, जीत त उनीहरूको मात्रै हुँदैआएको छ।
तराईवासी भूमिपुत्रहरूलाई अपहेलित गरी आफूलाई मधेशी भन्ने नवआगन्तुक भारतीयहरूलाई चुनाव जित्नकै लागि हचुवाका भरमा नागरिक बनाइएकैले आजको समस्या आएको हो। यो देश फिजी बनाउने षडयन्त्र हो। रैथाने तराईवासीले जुन दिन यो वास्तविकता थाहा पाउनेछन्, अनि शुरू हुनेछ वास्तविक लडाइँ!

डी. राज कोइराला, एन.बी.यू, सिलगुढी

खै त इन्धन?

आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले हिमाल (२–८ फागुन) मा ग्याँस सहज हुन एक महीना लाग्छ भन्नु भएछ। गत शुक्रबारबाटै इन्धन सहज हुने कुरा आएको थियो। तर, अब फेरि अर्को साताबाट भन्ने आइरहेको छ। शायद, प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणबाट उसले चाहेका कुरा प्राप्त गर्न सक्यो भने नाकाबन्दी मजाले खुल्ला। नत्र कुनै न कुनै बहानामा नाकाबन्दी भइछाड्ने होला। सरकारले चिनियाँ नाका सुधार गर्नतिर लाग्नुपर्छ। भारतसँग अल्झ्नुहुन्न।

जीवनकुमार ढुंगेल, अनलाइनबाट

निमालाई शुभकामना!

हिमाल (२–८ फागुन) मा प्रकाशित 'स्वर्ण सन्तुष्टि' राम्रो लाग्यो। निमा घर्ती मगर, हामी सबै तपाईंलाई माया गछर्ौं। कहिल्यै पछाडि नफर्कनुस्, बढिरहनुस्। तपाईंको भविष्य उज्ज्वल छ।

शिव राना, चिम शा सुई, फिलिपिन्स

भगवान्ले बनाएको जोडी

विनासकारी महाभूकम्प आएका वेला धरहरामा रहेका सञ्जीव श्रेष्ठ र रमिला श्रेष्ठको कथा 'धरहरा ढल्यो, प्रेम अग्लियो' (२–८ फागुन) पढें। उनीहरू भगवानले बनाएकै जोडी रहेछन्। उनीहरूको सम्बन्ध फलोस्फुलोस्, दुवैको सुस्वास्थ्यको कामना!!

अमृत बुढाथोकी, अनलाइनबाट

जनस्वास्थ्यमा खेलवाड नहोस्

मान्छे मार्ने डाक्टर उत्पादन गर्ने कलेज कुनै पनि हालतमा सञ्चालन गर्न दिनुहुँदैन। नाफामुखी मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सहकारीको आवरणबाट संसदीय अनुमोदनको अन्तिम चरणमा रहेको कुरा 'गोविन्द केसीका पक्षमा' (२–८ फागुन) लेख पढेर थाहा पाइयो। यस्तो विधेयक तत्काल फिर्ता होस्। संसद्लाई हतियार बनाएर नाफामूलक संस्था सञ्चालन गर्ने प्रवृत्ति नरोकिए ठूलो समस्या निम्त्याउँछ। त्यसैले सचेत नागरिक जाग्नुपर्ने भएको छ। डा. केसीको अभियानमा ऐक्यबद्धता जनाउँदै खबरदारी गर्ने वेला भएको छ।

नवराज शर्मा, अनलाइनबाट

comments powered by Disqus

रमझम