कमल थापाहरूको सान

Share:
  

हिमाल (१८ चैत) मा प्रकाशित 'दक्षिणपन्थीको अस्वाभाविक उत्साह' पढेपछि केही लेख्न मन लाग्यो। राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) र राजतन्त्र अनि हिन्दू समर्थित अन्य दलहरूको हुँकार बढेको हिमाल को सर्वेक्षणले देखाएका बेला प्रधानन्यायाधीशलाई सरकारको जिम्मा लगाएको परिप्रेक्ष्यमा कट्टर हिन्दूवादीहरूको मनोबल बढ्नु स्वाभाविकै हो।

राप्रपा नेपालले धार्मिक यात्राका नाममा केही समयअघि प्रमुख धार्मिक स्थल पुगेर हिन्दू धर्मको पक्षमा माहोल सृजना गरेको थियो। टेनिसका कुशल खेलाडी थापा शारीरिक रूपमा तन्दुरुस्त भए पनि उनको राजनीतिक विचार भने स्वस्थ अनि समयसापेक्ष छैन। त्यसकारण उनको सिद्धान्त र विचार मन पराएर भन्दा पनि नेपाल धर्म निरपेक्ष भएको, शून्यतामा गएको अनि साधारण नेपालीको जीवनशैलीमा कुनै परिवर्तन आउन नसकेको देखेर बाध्य भई समर्थन गरेका हुन्।

सुलभ दाहाल, सुरुङ्गा–५, झापा, हालः तीनकुने, काठमाडौं

कमल थापा योग्य, शिष्ट र प्रभावशाली व्यक्ति हुन्। तर पनि संवैधानिक राजतन्त्र र हिन्दू राज्यको पुनर्स्थापनाबारे उनको भनाइ समयसापेक्ष छैन। नेपालमा हिन्दू र बौद्धमार्गीबीच थुप्रै समानता भए पनि हिन्दुत्वको जग पशुबलिको आस्थामा उभिएको हुँदा बौद्धमार्गीहरू हिन्दू धर्मको आस्था हिंसामा आधारित भएको महसूस गर्छन्। इसाई र मुस्लिम धर्मावलम्बीहरूको त कुरा बेग्लै भयो। यस्तो परिवेशमा एकोहोरो हिन्दू राज्यको कुरा उठाउनुभन्दा परापूर्वकालदेखि चलिआएका मौलिक धर्म र सांस्कृतिक पहिचान प्रबर्द्धनका लागि संवैधानिक व्यवस्थाको माग गर्ने तथा अन्य धर्मको समेत प्रचारप्रसार गर्न पाउने अधिकारको सुनिश्चितता पार्टीको विधानमा राख्न सके थापाको प्रयासमा थप बल पुग्नेछ।

आकाश शेरुङ, अनलाइनबाट

दायित्व नभुल

माओवादीको बलमिच्याइँ, कुकर्म र अपराध अनगिन्ती छन्। यो सबैलाई थाहा भएर पनि उनीहरूलाई आम माफी छ। केही जिम्मेवार मिडिया, नागरिक तथा बुद्धिजीवीहरू उनीहरूको कुकर्मको शुरूदेखि नै पक्षमा छैनन्। भलै त्यसको सुनुवाइ भएको छैन। पछिल्लो पटक प्रधानन्यायाधीशलाई राष्ट्रप्रमुख बनाउने माओवादी अजेण्डाले सफलता पाएको छ। देश र जनताका नाममा बाध्यतवश भइरहेको भनिए पनि भोलिका दिनमा सिंगो मुलुकका लागि यो महङ्गो सावित हुनेछ।

अचम्म त के भने, माओवादी बाहेक अन्य दलसँग राष्ट्रिय अजेण्डा नै देखिएन। उनीहरू पनि अहिलेको गन्जागोल, उकुसमुकुस, निरन्तरको सङ्क्रमणकाल, भ्रष्टाचार, दण्डहीनता र अराजकताबाट नेपालीले कहिले मुक्ति पाउने भन्नेमा बेलैमा सचेत हुन जरूरी छ। देश, जनता र आफ्नो अस्तित्व बचाउने हो भने माओवादीको दुस्साहस, रणनीति र चुनावी अजेण्डाबाट बेलैमा सचेत भई त्यसलाई निष्प्रभाव पार्नेतर्फ लाग्नु इतर दलहरूको प्रमुख दायित्व हुनेछ।

इन्द्रकुमार श्रेष्ठ, कमलाकुञ्ज, ओखलढुङ्गा

मौका नगुमाऊ

देश र जनताको आँखामा छारो हाल्न माहिर नेताहरूको तुलनामा खिलराज रेग्मी नेतृत्वको सरकार कता हो कता राम्रो छ। तर अहिलेको मुख्य चासो भनेको रेग्मी नेतृत्वको सरकारले बेलैमा चुनाव गराउन सक्ला कि नसक्ला भन्ने हो। यसका लागि दलहरूको सहयोग र समर्थन आवश्यक छ। कर्मचारी भनेको स्थायी सरकार हो। हरेक कुराबाट उनीहरू जनतासँग नजिक भएको नाताले अवकाशप्राप्त सचिवहरू रहेको मन्त्रिपरिषद्का कारण धेरै हदसम्म जनतामा आशा पलाएको छ। तोकिएकै समयमा चुनाव गराउन सफल भएमा खिलराजको नाम इतिहासमा स्वर्णाक्षरले लेखिनेछ।

इन्द्रदेव राई, ललितपुर―१४

वास्तविकता यस्तो हो

हिमाल (१६–२९ माघ) मा प्रकाशित फर्जी प्रशासक शीर्षकको समाचारमा ममाथि लगाइएका विभिन्न लाञ्छनाप्रति मेरो ध्यानाकर्षण भएको छ। पत्रपत्रिकामा प्रकाशित तथ्यहीन समाचारको आधारमा मविरुद्ध तत्कालीन विशेष प्रहरी प्रभाग र अख्तियार दुरुपयेाग अनुसन्धान आयोगमा परेको उजुरीका सम्बन्धमा अख्तियारको २ साउन २०६० को निर्णय अनुसार मेरो प्रमाणपत्र सक्कली रहेको व्यहोरा २३ मंसीर २०६० मा नापी विभागलाई लेखिएको पत्रबाट प्रमाणीकरण भइसकेको छ।

सोही समाचारमा वीरगञ्जका विश्व हिन्दू महासंघका अध्यक्ष काशी तिवारीको हत्या आरोप सम्बन्धमा रु.८ लाख घुस दिएको सम्बन्धमा निजकी पत्नी बबिता तिवारीले आवेशमा आएर आरोप लगाएको भनी प्रधानमन्त्री कार्यालयमा २१ चैत २०६८ मा दर्ता गरेको निवेदनमा प्रधानमन्त्री बाबुराम भट्टराईले तोक लगाई १२ जेठ २०६९ मा गृहमन्त्रालयमा लेखिएको पत्रबाट स्पष्ट हुन्छ।

सोही समाचारमा प्रमुख जिल्ला अधिकारी भएको बेला उमेर घटाई नागरिकता लिएको सम्बन्धमा स्पष्ट पार्न चाहन्छु। मेरो शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्ममिति १० जनवरी १९५९ (२६ पुस २०१५) उल्लेख छ। २०४५ सालमा स्थायी नियुक्ति हुँदा सिटरोल फारममा पनि जन्ममिति यही नै छ। २० मंसीर २०३४ मा वर्ष मात्र खुलेको नागरिकता लिएको थिएँ। सो नागरिकता धुजाधुजा परी २६ चैत २०५० मा जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बुझाएर लिएको प्रतिलिपिमा जन्ममिति २६ पुस २०१७ रहेको छ। त्यसकारण आफूले कुनै किसिमको उमेर घटाउने कार्य नगरेको स्पष्ट पार्न चाहन्छु। आफू निजामती कर्मचारी रहेकोले सिटरोलमा भरेको उमेर बढी भएमा सोही अनुसार अवकाश हुने कानूनी व्यवस्था रहेकोले नागरिकतामा उमेर घटाउनुपर्ने कुनै औचित्य नरहेको व्यहोरा स्पष्ट गर्न चाहन्छु।

नागेन्द्र झा, महानिर्देशक नापी विभाग

पानी, तिर्खा र दिवस

तिर्खा र प्यासबीच यो वर्षको पानी दिवस नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइयो। जमिनभित्र कालो पोलिथिन पाइप नागबेलीझै गाडिए पनि पानी आउँदैन। यस्तो समस्या नजिकै त्रिशूली खोला र भोटेकोशी भए पनि पुग्दो पानी नपाइने रसुवा सदरमुकाम धुन्चेको हो। रसुवाको ठूलोभार्खुसहित दक्षिणी गाविस यासा र सरमथलीमा पनि यस्तै समस्या छ। यस्तो अवस्थामा वर्षैपिच्छे पानी दिवस मनाउनुको के अर्थ छ र?

ठाउँ अनुसार पानीको मूल्य दूध र पेट्रोलभन्दा पनि महँगो छ। रु.५० प्रतिलिटर याकको दूध पाइने क्याङ्जेनमा मिनिरल वाटरको रु.२५० पर्छ। तराईमा पनि स्वच्छ पानी महँगो छ। केही वर्षअघि सुदूरपश्चिमको टीकापुर जाँदा भैंसीको दूध किलो (त्यहाँ किलो भनिन्छ) को रु.१० थियो भने मिनिरल वाटर रु.३०।

अचम्मको देश नेपाल, माल पाएर चाल नपाए जस्तो। जबकि क्याङ्जेनमा हिमखोलाको पानी सोझै बोतलमा भरेर खान सकिन्छ। स्थानीय क्षेत्रमै पानी उद्योग खोले प्रतिलिटर रु.१० पनि पर्दैनथ्यो। यस्तो संभाव्यता भएको ठाउँमा पानी उद्योग खोल्न निकुञ्जको कानून बाधक भएको छ। अनि कसरी हुन्छ विकास?

फूर्पा तामाङ, ठूलो भार्खु, रसुवा

comments powered by Disqus

रमझम