१-१५ असार २०५८ | 15-29 June 2001

राजा मारिए, आस्था मरेन

Share:
  

रविन साय्मि

१९ जेठको रात नारायणहिटी दरबारमा घटेको कल्पनातीत विभत्स घटनाले सवा दुई करोड नेपालीको मनमस्तिष्क खलबल्याएको छ । इतिहासमा कतै नघटेको सो हत्याकाण्डले प्यारा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन र अधिराजकुमारी श्रुतिको प्राण मात्र लिएन, राजसंस्था र त्यसप्रतिको आम नेपालीको विश्वास र आस्थालाई पनि जरैदेखि हल्लाइदियो । नेपाल अधिराज्य निर्माण पछिका दुई सय वर्षमा यो देश र नेपाली जनताले यति चर्को झ्ड्का खेप्नु परेको थिएन । त्यो रात दरबारमा के भयो ? किन भयो ? कसले ग¥यो ? घटनाको परिणाम देखिएको अर्थात् राजा र राजपरिवारको समूल विनाश भएको बाह्रौँ दिन बित्दासम्म पनि यी प्रश्नहरू आधिकारिक रूपमा अनुत्तरित छन् । सञ्चारमाध्यमहरूले यस सम्बन्धी सूचना दिँदै नदिएका छैनन् तर आधिकारिक तहबाट तिनको पुष्टि वा खण्डन नहुँदा अन्यौल कायम छ । घटनाको छानबिन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो रिपोर्ट सार्वजनिक गर्ने दिन नजिकिँदै छ । अहिलेलाई त्यो रिपोर्ट पर्खनु बाहेक हामीसँग सार्थक विकल्प छैन । हल्ला, अनुमान र अज्ञात स्रोतहरूका पछाडि कति लाग्ने ? तथापि छानबिन समितिले त्यस रात दरबारमा के भएको थियो, किन भएको थियो, राजाको वंश नै निर्मूल पार्ने को थियो, उसका पछाडि मतियारहरू थिए कि थिएनन्, थिए भने को थिए भन्ने प्रश्नहरूको जवाफसहित घटनाको पृष्ठभूमिदेखिका तृण–तृण तथ्य प्रकाशमा ल्याउन सक्नुपर्छ । यस घटनाका सम्बन्धमा सिङ्गो मुलुक सुसूचित हुनैपर्छ । यस्ता घटनाको साङ्गोपाङ्ग विवरण लिई त्यसको बस्तुगत विश्लेषणबाट षडयन्त्र भए नभएको निक्र्यौलमा पुग्नु अति जरुरी छ । घटना सम्बन्धी कुनै पनि पक्षको ढाकछोप गर्नु भनेको यो भन्दा ठूलो प्रहार र विनाशको निम्ति बाटो बनाइदिनु हुनसक्छ । राजसंस्थापछि त्यस्तो प्रहारको निम्ति हामीसँग अब प्रजातन्त्र र राष्ट्रिय अस्तित्व मात्रै बाँकी रहेका छन् । तसर्थ, हाल कार्यरत छानबिन समितिले घटनाका सबै पक्ष केलाउन भ्याएन, समय र परिस्थितिले साथ दिएन, अनुत्तरित प्रश्नहरू बाँकी नै रहे भने पनि खोज र अनुसन्धानको क्रमलाई पारदर्शी ढङ्गबाट निरन्तरता दिइनुपर्छ । त्यसनिम्ति आवश्यक परे थप आयोग, कार्यदल वा समितिहरू बनाउने सुझव पनि दिन पछि पर्नु हुँदैन ।

घटनाको सत्यतथ्य छर्लङ्ग पार्नु देश र प्रजातन्त्रबाहेक धुकधुकी मात्र रहेको राजसंस्थाको निम्ति पनि अपरिहार्य छ । हाम्रो राजपरम्परा जनताको विश्वास र आस्थामा टिकेको हो । दरबार भित्र घटित रक्तपातपूर्ण घटनाको तथ्यप्रति जनता विश्वस्त नभएसम्म वर्तमान श्री ५ महाराजाधिराजलाई आत्मसात गर्न नेपालीहरूलाई सजिलो हुनेछैन । अहिले शङ्काले बास गरेको जनताको मनमा राजाप्रतिको आस्थाले बास गर्नुपर्छ । तर शङ्का निर्मूल नभई त्यो सम्भव हुँदैन । शङ्का र आस्था एकै ठाउँमा बास गर्न सक्दैनन् । १९ जेठको राज–संहारको घटनाले राजा र राजपरिवारको मूल नष्ट गर्न सके पनि राजसंस्थाप्रतिको नेपाली जनताको आस्था र भरोसालाई मार्न सकेन, बरु झ्न् त्यो उर्लिएर प्रकट भयो । गणतन्त्रवादीहरूलाई पनि १९ जेठ पछिको जनउभारले राजसंस्थाको लोकप्रियता स्वीकार गर्न बाध्य पा¥यो । कति बलवान रहेछ राजसंस्थाप्रतिको नेपालीहरूको लगाव र विश्वास ! कानून, संविधान र भौतिक स्वरुपभन्दा बलियो हुन्छ कसैप्रतिको विश्वास र आस्था । भक्तको आस्था बाँकी रहँदासम्म मूर्ति हराउँदैमा कुनै मन्दिर वा तीर्थको महŒव घट्दैन, अस्तित्व मेटिँदैन । प्राणप्रतिष्ठा गरेर अर्को मूर्ति स्थापना गरी भक्तको आस्था र भक्तिलाई निरन्तरता दिइन्छ । अहिले नेपाली जनताको मन्दिर रुपी दरबारमा यस्तै भएको छ । यथार्थलाई लत्याउन मिल्दैन । हुने हुनामी भइसकेको छ । श्री ५ वीरेन्द्रको वंश कसै गरी पनि अब व्यूँतिन सक्दैन । राजसंस्थाको निरन्तरताको निम्ति अहिले उपलब्ध विकल्प यही नै हो ।

नारायणहिटी दरबारले नेपाली जनतालाई पूर्ववत् आड–भरोसा प्रदान गर्न सकेमा अहिले दरबारकै कारण खण्डित हुन पुगेको त्यसप्रतिको जनआस्था र गुमेको शान पुनः जाग्न सक्दछ । यसनिम्ति नयाँ राजाले जनता, पार्टी र नेताहरूको समेत मद्दत लिएर अघि बढ्नु पर्नेछ । राजसंस्थालाई प्रतिष्ठित र आफ्नो हित एवं खाँचो अनुकूल तुल्याउन सबै नेपालीले पनि यसप्रति चासो राखेर आ–आफ्नो ठाउँबाट योगदान पु¥याउनु पर्छ । राजालाई अब व्यक्तिको सट्टा एउटा संस्थाको रूपमा हेर्न थाल्नु उपयुक्त र सजिलो विकल्प हुनसक्छ । यस निम्ति सबैभन्दा महŒवपूर्ण र अगुवा भूमिका प्रमुख राजनीतिक दलहरू नेपाली काङ्ग्रेस, नेकपा एमाले÷माले, राप्रपा, सद्भावनाले नै निर्वाह गर्नु पर्दछ, जसको सुझ्बुझ् र परिपक्वताले १९ जेठको भयङ्कर दुर्घटना पछिको स्थिति सम्हालेर देशलाई झ्न् ठूलो दुर्घटनामा पर्नबाट जोगायो । यस्तो थप जिम्मेवारी वहन गर्न राजनीतिक नेता र दलहरूले आफूलाई तयार पार्नुपर्ने खाँचो अरू टड्कारो भएको छ ।

comments powered by Disqus

रमझम