गत संविधानसभा निर्वाचनमा पनि केही मधेशी दलले काठमाडौं र पहाडका सीमित क्षेत्रमा उम्मेदवारी दिएका थिए। ठूलो आशा नराखी दिइएका ती उम्मेदवारी सांकेतिक थिए। २०६२/६३ को जनआन्दोलनलगत्तै उठेको मधेश आन्दोलनले जन्माएका मधेशी नेता र दलहरू त्यसबेला तराई–मधेशमै हतार–हतार संगठन निर्माणमा लागे। त्यसबेला पहाड–हिमाल उक्लिनु आवश्यक नठानेर होइन, नभ्याएर उनीहरू मधेशमै अल्मलिएका थिए।
अर्को यथार्थ के पनि हो भने, अनगिन्ती नेता र दल जन्माउने मधेश आन्दोलनको सफलता आफैंमा सबैलाई हतप्रभ बनाउने खालको थियो। एक प्रकारले अनपेक्षित त्यो सफलतापछिको उहापोहमा दल निर्माणमा जुटेका मधेशी नेताहरूले पहाडमा संगठन बनाउने कुरा सोच्नै पाएनन् र उनीहरूको दृष्टिकोण पनि क्षेत्रीय घेरामै सीमित हुनपुग्यो। त्यसपछिको निर्वाचनबाट मुलुकको चौथो राजनीतिक शक्ति बनेपछि भने उनीहरू राजधानीसहित पहाड–हिमालमा संगठन विस्तार गर्न उत्साहित देखिएका छन्।
२०६५ सालयता लगातार सत्ता साझेदारी गरिरहेका मधेशी दलहरू यसबीचमा पटक–पटक विभाजित र आफ्ना मतदाताबाटै आलोचित भए। कतिपटक त उनीहरू अशोभनीय तहको विभाजनमा पनि गए। कारण जेसुकै होस्, तीव्र मतभेदको बेला आफूलाई अर्काे समूहभन्दा बलियो देखाउन उनीहरू तराईमा मात्र शक्ति प्रदर्शन गर्ने बाध्यतामा रहे। राजधानीमै पनि बलियो संगठन नहुँदा जुनसुकै उद्देश्यको दबाबमूलक जनपरिचालनका लागि तराईतिरै दौडनुपर्ने अवस्थामा छन्, उनीहरू। त्यसकारण, उनीहरूसँग समानुपातिक भोटको प्रत्याशा बाहेक देशभर संगठन विस्तारको आवश्यकता अनुभव गर्ने अनेक कारणहरू छन्।
मधेशमा मात्र आधारित दलहरूले पहाड र हिमालमा दिने उम्मेदवारीले मुलुकको राष्ट्रिय राजनीतिमा दीर्घकालीन र सकारात्मक महत्व राख्छ। यसबाट मधेशी दलहरूलाई क्षेत्रीयबाट राष्ट्रिय दृष्टिकोण बनाउन त कर लाग्छ–लाग्छ, नेपाली जनजीवनमा समेत हिमाल–पहाड–मधेश सामाजिक अन्तर सम्बन्ध अभिवृद्धि हुने निश्चित छ। बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक स्वरुपको बृहत्तर नेपाली समाजमा दलीय स्वार्थकै लागि सही, मधेशी दलहरूबाट हुन लागेको यस्तो प्रयासले सकारात्मक परिणाम नै ल्याउनेछ।
मधेशी दलहरू अहिले राष्ट्रिय दृष्टिकोणको हिसाबले एकाङ्गी छन् र एउटा समुदाय तथा क्षेत्रको मात्र स्वार्थ बोकेको भनेर आलोचित पनि। पहाडी र हिमाली क्षेत्रहरूमा पनि संगठन विस्तार गर्दै उम्मेदवारी दिंदा उनीहरू क्षेत्रीय संकीर्णताको आरोपबाट स्वतः मुक्त हुनुको साथै मुलुकका सबै भागको समस्या, सम्भावना, शक्ति र भावना बुझ्ेर त्यसलाई सम्बोधन गर्ने क्षितिजमा पुग्नेछन्। उनीहरूले पहाड–हिमालमा पाउने मतले तराई–मधेशमा पनि पहाडी मूलका उम्मेदवारको मत बढाउने छ। यसबाट नेपाली राष्ट्रिय दृष्टिकोणलाई फराकिलो र राष्ट्रिय एकतालाई मजबूत पार्ने आवश्यकता पूर्ति हुनेछ।
पहाड–हिमालमा ठूलो संख्याको उम्मेदवारीले मधेशी दलहरूलाई समावेशी राष्ट्रिय पार्टी बनाउने प्रक्रियासँगै विविधतापूर्ण नेपाली समाजले एकअर्काको भावना बुझने र संवेदनशीलता थाहा पाउनेछ। यस्तो स्वस्फूर्त प्रक्रियाबाट बलियो राष्ट्रिय एकताको भावना निर्माण हुन्छ। त्यसकारण, पहाडमा उम्मेदवारी दिने मधेशी दलहरूको अभिप्राय–उपक्रमलाई भोट माग्ने नियतको रूपमा नभई उत्तर–दक्षिण सामाजिक अन्तरघुलनको सत्प्रयासको रूपमा बुझनु र प्रोत्साहित गरिनुपर्छ।