३-९ वैशाख २०७४ | 16-22 April 2017

विजयको वर्ष– २०७३ अघि बढाउने वर्ष– २०७४

Share:
  

सबैमा नयाँ वर्ष २०७४ को शुभकामना र नयाँ वर्ष २०७३ को सम्पादकीय
महाभूकम्प, संविधानसभाबाट संविधान, संविधानको विरोधमा तराई–मधेशका केही हिस्सामा चलेको लम्बे विरोध र त्यसैको वहानामा भारतको अमानवीय नाकाबन्दी। संवत् २०७३ ले अघिल्लो सालबाट विरासत पाएको यही थियो। नयाँ संविधानले मुलुक अडिएको त थियो, तंग्रिएको थिएन। महीनौंको नाकाबन्दीले झुकाउन नसकेको स्वावलम्बनप्रतिको आत्मबल भने नेपालीमा अभूतपूर्व रूपमा बढेको थियो।

२०७३ सालमा अघि बढ्न हामीसँग संविधानको टेको र त्यसको प्रतिरक्षामा देखिएको नेपाली स्वावलम्बन मात्र थियो, जो दूर क्षितिजकै सही, तर समृद्धिको डोर पक्रन सकिनेमा विश्वस्त थियो। यही विश्वासमा २०७२ लाई विदा गर्दै नयाँ वर्षको स्वागतमा २८ चैत २०७२ (त्यो वर्षको अन्तिम अंक) को सम्पादकीयमा हिमाल ले भन्यो– 'समृद्धिको वर्ष २०७३!' यतिखेर नेपाल र नेपाली समाजलाई समृद्धितर्फ अघि बढ्न प्रेरित गर्नेगरिका कार्यभारहरू पूरा गरेर २०७३ विदा भएको छ। र, हाम्रा अगाडि समृद्धिको फराकिलो बाटो लिएर लमतन्न उभिएको छ– २०७४।

२०७३ को शुरूमा दूर क्षितिजमा सम्भावनाका किरणहरू त देखिन्थे, तर तिनको आभा गोचर हुन सकिरहेको थिएन। सरकार र राजनीतिक दलहरूप्रति आशाभन्दा निराशा र आशंका ज्यादा थिए। तर, २०७४ को शुरूमै हामी आवाज घन्काएर भन्न सक्छौं– २०७३ मा हामीले त्यति चाहिं पक्कै गर्‍यौं, जति गर्दा यो लोकतान्त्रिक बहुलवादी समाजको पहिचान उर्ध्वगामी रहन सक्यो। समृद्धि आउनु ठूलो कुरो होइन, त्यसलाई कसरी ल्याइँदैछ भन्ने महत्वपूर्ण हो। हामीले समावेशी, न्यायपूर्ण लोकतान्त्रिक समृद्धिको बाटो पहिल्याएका हौं, जसमा हामी छौं। संवत् २०७३ ले यो पुष्टि गरेर गएको छ।

नेपालले अँध्याराका संवाहकमाथि चढाइँ गरेको २०७३ विजयको वर्ष हो। नेपालीलाई द्वन्द्वको चक्रव्यूहमा फसाएर आफू भाग्यविधाता बनिरहन चाहने शक्ति विरुद्धको विजय त हो नै यो, सँगसँगै हाम्रो आफ्नै अकर्मण्यता, अवसाद र भाग्यवादमाथिको विजय पनि हो। लोडशेडिङ हाम्रो समयको एउटा 'सत्य' नै बनिसकेको थियो। एउटा पुस्ता अँध्यारोमै हुर्किरहेको थियो। तर, त्यसलाई पूर्ण असत्य प्रमाणित मात्र गरेको नभई अब यो दोहोरिन्न भन्ने विश्वासको दियो पनि जगाएर गयो, २०७३ साल।

त्यस्तै, भ्रष्टाचार नियन्त्रणका नाममा त्रास सिर्जना गरेर समानान्तर सरकार चलाउन उद्यत अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको पतन पनि यही वर्ष भयो। विदेशीको आशीर्वाद र इशारामा मैमत्त बनेका कार्कीविरुद्ध संसद्मा दर्ता महाअभियोग र सर्वोच्च अदालतको फैसलाबाट 'विधि मरेको छैन, मर्दैन' भन्ने पुष्टि भयो। साथै, न्यायपालिका र व्यवस्थापिकालाई बल दिने क्रममा भएको खबरदारीले हाम्रो नागरिक आवाज राजनीतिक आन्दोलनका लागि मात्र नभई सुशासन बहालीका लागि पनि प्रखर रहेको पुष्टि गर्‍यो।

त्यस्तै, डा. गोविन्द केसीको सत्याग्रहले निर्दिष्ट गरेको निमुखामुखी स्वास्थ्य नीतिलाई स्वास्थ्यमन्त्री गगन थापाले वास्तविकतामा परिणत गरिदिए। आफैं दीर्घरोगी बनेको स्वास्थ्य मन्त्रालयका लागि संजीवनी बनेका मन्त्री थापाले गरीब र असहाय बिरामीकेन्द्रित क्रान्तिकारी नीति–योजनाहरूलाई कार्यान्वयनको तहमा पुर्‍याइसकेका छन्। यसरी २०७३ ले साबित गर्‍यो– सही व्यक्तिको छनोटले घसि्ररहेको समाजलाई उभ्याउन सक्छ भनेर। २०७३ मा मुखर भएको नागरिक खबरदारी नै थियो, जसले नेपाली भाषालाई बिटुलो बनाउने दुष्प्रयासलाई पनि परास्त गर्‍यो।

लगभग अँध्यारोमा शुरू भएको २०७३ सालको यात्रामा दीप जलाउनेहरू थुप्रै थिए, जसको एक–एक क्रियाशीलताले दुई दशकसम्म विस्तारित हिंसा र संक्रमणको चपेटामा रहेको समाजलाई दौडन सक्ने अवस्थामा पुर्‍यायो। भूकम्पपीडितका लागि होस् या महोत्तरीका निमुखा मुसहरहरूका निम्ति, सीताराम कट्टेल–कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली) दम्पतीले सामुदायिक आवास बनाएर राज्यको सामुन्ने जनताले गर्न सक्ने कामको मानक स्थापना गरिदिए। अनि, मेलम्चीको पानी खाने राजधानीवासीको झ्ण्डै तीन दशकको सपना विपना हुने अवस्था २०७३ मै देखियो।

र, वर्षको अन्त्यमा स्थानीय तहको निर्वाचन घोषणाले जनतामा उत्साह सञ्चार गरेको छ। दुई दशकबाट जनप्रतिनिधिविहीन रहेको स्थानीय तहको निर्वाचन संविधान कार्यान्वयन र संघीय अभ्यासतर्फको पहिलो कदम मात्र नभई सरकारलाई जनताको घरदैलोमा पुर्‍याउने ऐतिहासिक उपक्रम पनि हो। केन्द्रीकृत राज्यव्यवस्थामा जकडिएका जनताका लागि यो त्यस्तो द्वार हो, जहाँबाट उनीहरू स्वराजमा प्रवेश गर्नेछन्। त्यसरी सशक्त बनेका व्यक्ति/समुदायले विभेद, बेथिति विरुद्धका बाँकी लडाईं कुन प्रभावले लड्न सक्छन्, कल्पना गर्न सकिन्छ।

धेरै अर्थमा विजयको वर्ष बनेको संवत् २०७३ ले दिएको तत्कालको कार्यभार भनेको २०७४ भित्र संघीय संरचनाका तीनवटै तहका निर्वाचन सम्पन्न गर्नु हो, जसको शुरूआत ३१ वैशाखमा तय भएको स्थानीय तह निर्वाचनबाट हुनेछ। यी चुनावहरूको सफल अभ्यासले स्थानीय तहदेखि केन्द्रसम्म नयाँ र योग्यतम नेता/जनप्रतिनिधिहरू पुर्‍याउनेछ, जसले संवत् २०७३ ले निर्दिष्ट गरेको समृद्धितर्फको यात्रालाई गतिमान बनाउनेछन्।

comments powered by Disqus

रमझम