१६-३१ भदौ २०६९ | 1-16 September 2012

आपत्तिजनक पुनर्स्थापनावादी कसरत

Share:
  

संविधानसभा पुनर्स्थापना गर्ने कुरा आम नागरिकलाई ठीक लागेको छैन, तर ठूला–ठूला नेताहरू र एउटा अविश्वसनीय राजनीतिक जमातले यसको पक्षमा अभियान छेडेका छन्। १४ जेठमा संविधानसभा भंग भएको केही दिन नबित्दै नेपाली कांग्रेसका दोस्रो पंक्तिका नेताले यसको वकालत गर्न शुरू गरेका थिए। त्यसपछि शेरबहादुर देउवा अनि अलियता आएर रामचन्द्र पौडेल पुनर्स्थापनाको पक्षमा उभिएका छन्। एमालेमा पनि धर्मराउनेहरू छन्।

 राजनीतिक चलखेलमा अति चतुर मानिएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई संविधानसभा फेरि स्थापना गर्न पाउनु चिट्ठा परेसरह हुनेछ त्यसैले कांग्रेस एमालेमा रहेको पुनर्स्थापना प्रवृत्तिलाई मलजल गर्न उनी तल्लीन छन्। उनले फेरि एकपल्ट प्रधानमन्त्री बनाइदिने आश देखाउँदै यस बाटोमा लाग्न केही प्रतिपक्षी नेतालाई डोर्‍याउँदै छन्। सदन ब्युँताइँदा फुटेकै भए पनि उनको एनेकपा (माओवादी) सदनभित्रको सबैभन्दा ठूलो दल हुनेछ र पुरानो विधिवत् प्रभाव फिर्ता लेराउन उनी आतुर छन्।

कथन छ, थोरै समयका लागि संविधानसभालाई ब्युँताएर उल्झिएको संवैधानिक गाँठो फुकाउँदै मुलुकलाई अगाडि लैजान सकिन्छ। तर, संविधानसभालाई ब्युँताएपछि 'थोरै' भनिएको समय लम्बिन सक्दछ। राजनीतिक खेलाडीहरूले नयाँ गठबन्धन गर्दै, आश्वासन दिंदै तारन्तार नयाँ राजनीतिक यथार्थ खडा गर्न सक्दछन्। जातीय पहिचानको राजनीति फेरि सशक्त भएर अगाडि आउन सक्दछ। र, १४ जेठअघिको बढ्दो विद्वेषको स्थिति फेरि निम्तिन सक्छ।

संविधानसभाको २०६४ को निर्वाचनताका भर्खरै मुलुक द्वन्द्वकालबाट गुज्रेको थियो, भय र त्रासको वातावरण छँदैथियो, र विभिन्न दलको स्थिति 'प्राकृतिक' थिएन। त्यस्तो अवस्थामा एनेकपा माओवादीले जुन विजयी परिणाम हासिल गर्‍यो, त्यो आजको अवस्थामा यथावत् रहन पनि सक्छ वा धेरै गिरेको हुन पनि सक्दछ। उक्त चुनावमा एक भएर लडेका मधेशवादी दल आज धेरै टुक्रामा विभाजित भएका छन् भने माओवादी आफैं दुई फ्याकमा बाँडिएको छ। यस्तै अन्य दलको अवस्था पनि २०६४ भन्दा केही फरक भएको अनुमान गर्न सकिन्छ। विभिन्न राजनीतिक दलको २०६९ को जनसमर्थनको स्थिति नहेरेर २०६४ को चुनावको परिणामको भरमा अगाडिको बाटो खोज्नु सरासर जनताको अपहेलना गर्नु हो।

जनताको विचारको कदर गर्ने जो–कोही नेताले नयाँ जनादेशमा गएर मुलुक सञ्चालन गर्ने र संविधान लेख्ने कार्यलाई प्राथमिकता दिनु राम्रो हुनेछ। सीधै जनभावना विपरीत जाने सदन ब्युँताउने काममा नलागेर र उसै पनि विकराल वर्तमान अवस्थामा अझ् राजनीतिक अन्योल छर्ने काम नगरेर नयाँ जनादेशमा जाने निर्णय लिन दुवै माओवादी दल, नेपाली कांग्रेस र नेकपा एमालेका नेता कार्यकर्तालाई हामी आग्रह गर्दछौं।

comments powered by Disqus

रमझम