असोज २०७८ | 17/09/2021

चीन चिन्ने नेपाली भाष्य

Share:
  
- हिमालखबर

चिनियाँ आहान छ– पहाड नउक्लिएसम्म तिमी समथर देख्न सक्दैनौं । यसको सन्दर्भ फरक हुन सक्ला । तर, बाँकी विश्वलाई चीन चिन्ने हाँक हो यो । किनकि, आज पनि चीन विश्वमै कम बुझ्एिको मुलुकमा पर्छ ।

विश्वको सबैभन्दा बढी जनसंख्या, दोस्रो ठूलो अर्थतन्त्र, सबैभन्दा बढी सैन्य शक्ति अनि चौथो ठूलो देश चीनसँग नेपालले उत्तरमा १,४१४ किलोमिटर सीमा साझ गर्छ । मिथकका मञ्जुश्री, बौद्धमार्गी यात्री फा सियान र स्वान चाङ तथा यताका भृकुटी, अरनिको आदि नेपाल—चीन सम्बन्धको चर्चा गर्दा नर्बिसिइने नाम हुन् ।

मल्लकाल मात्र होइन, शाहकालमै पनि भोट (तिब्बत) लाई युद्धमा पटक पटक पराजित गरेको नेपालले भोटबाट वार्षिक ठूलो धनराशि पाउने अधिकार राख्दथ्यो । भोटमा चल्ने सिक्का नेपालमै बनाइन्थ्यो । यताका व्यापारीहरूले उतै घरजम पनि गरे । मानवशास्त्री डोरबहादुर विष्टले ‘नेप्लिज इन टिबेट’ (सन् १९८०) लेखमा सर चाल्र्स अल्फ्रेड बेललाई उद्धृत गर्दै ‘सन् १९२० को आफ्नो ल्हासा भ्रमणमा ६००–७०० जति नेवार र एक हजारभन्दा बढी ठिमाहा नेपाली भेटिएको’ लेखेका थिए ।

२०१२ सालमा चीन र नेपालबीच दौत्य सम्बन्ध स्थापना हुँदा माओत्सेतुङको नेतृत्वमा ‘जनवादी गणतन्त्र चीन’ स्थापना घोषणा भएको सात वर्ष मात्र भएको थियो । नेपालमा पनि राणा शासन ढलेर प्रजातन्त्र भर्खर ६ वर्ष लागेको थियो । तर, माओकालमै सन् १९५९–६१ को भोकमरीमा दशौं लाख नागरिक गुमाएको चीन ६ दशकमै आर्थिक समृद्धिको यस्तो बिन्दुमा आइपुगेको छ, जो विश्वकै ठूलो निर्यातकर्ता बनेको छ । र, सी चिनफिङ सन् २०४९ सम्ममा चीनलाई विश्वकै समृद्ध राष्ट्र बनाउने ‘चिनियाँ सपना’ साकार गर्ने ध्याउन्नमा छन् ।

२३ वर्षको अन्तरालपछि असोज २०७६ मा चिनियाँ राष्ट्रपति चिनफिङले नेपालको भ्रमण गरी हिमाल छिचोलेर उत्तरी ढोका खोल्ने, नेपाललाई भूपरिवेष्टित हुनुको हीनताबोधबाट मुक्त गराउने सम्भावना दिलाए । केरुङ–काठमाडौं रेलमार्गमा सकारात्मक देखिए । चीनसँग पारवहन तथा यातायात सम्झैतामा हस्ताक्षर हुनुलाई नेपाली भूराजनीतिको ‘पाराडाइम सिफ्ट’ नै मानियो ।

बुझ्नुपर्ने कुरा के हो भने, भूराजनीतिक परिस्थितिका कारण चीनले नेपाललाई सहयोग गर्नुमा उसको पनि स्वार्थ गाँसिएको छ । तिब्बतसँग जोडिएको आफ्नो सीमा, नेपालमा रहेका तिब्बती शरणार्थीका गतिविधि, नेपाल मार्फत दक्षिणएशियामा आफ्नो प्रभाव विस्तार, नेपाल हुँदै भारतको विशाल बजारसँगको सम्पर्क उसका चासो र चिन्ताका विषय हुनसक्छन् । तर, पञ्चशीलका आधारमा स्थापित चीनसँगको हाम्रो दौत्य सम्बन्धलाई नेपालले सधैं पालना गरिरहेको छ । चीनलाई दक्षिणएशियाका सार्वजनिक मञ्चहरूमा नेपालले सधैं उदार हृदयले स्वागत गरेको छ । तिब्बत मामिलामा पनि नेपाल सधैं ‘एक चीन नीति’ प्रति प्रतिबद्ध छ ।

यो पृष्ठभूमिमा चीनसँग नेपालको सम्बन्ध सम्मान, मर्यादा र स्वाभिमान सहितको हुनुपर्छ । खासगरी, विश्वमै आफ्नो शक्ति र प्रभाव फैलाउँदै लम्किरहेको चीनले छिमेक मामिलामा पनि चासो एवम् चिन्ता देखाउन थालेको सन्दर्भमा नेपालले बराबरी स्तरको सम्बन्ध बनाउने गरी बलियो उभिनुपर्ने हुन्छ । चुरो कुरा चाहिँ, चीनसँगको सहकार्यबाट समृद्धि हासिल गर्ने सङ्कथनमा हाम्रा लोकतान्त्रिक मूल्य–मान्यतासँग किमार्थ सम्झैता गर्नु हुँदैन ।

आजको हाम्रो विमर्श उत्तरी र दक्षिणी छिमेक विश्वशक्ति बनिरहँदा आफू चाहिं कहिलेसम्म सत्ता केन्द्रित राजनीतिक खेलमा रुमल्लिएर युगौंसम्म गरीबीको भासमा पिल्सिरहने भन्ने हुनुपर्छ । आर्थिक रूपमा आफूलाई कसरी ‘भारतनिर्भर’ बाट आत्मनिर्भर बनाउने भन्ने हुनुपर्छ । चिनियाँ बस्तीमा झ्लििमिली देखेका वारिका नेपालीले त्यसबाट कसरी लाभ लिने भन्ने हुनुपर्छ ।

बेइजिङसँगको विकास साझेदारीमा हातेमालो गरिरहँदा नेपालले नयाँ दिल्लीको सुरक्षा संवदेनशीलताप्रति ध्यान पुर्‍याउनैपर्छ । सीमा विवादलाई नै लिएर दुवै छिमेकबीच सन् १९६२ मा युद्ध समेत भएको र सम्पूर्ण सीमा विवाद टुङ्गो लागिनसकेको तथ्यबीच भारतीय मनोदशा पनि हामीले मनन गर्नुपर्छ । यसका लागि चीनसँगको हाम्रो विकास साझेदारी कुनै अर्को छिमेक विरुद्ध लक्षित नहुने बरु विकसित नेपाल नै भारतको समग्र हितमा हुने कुरा आश्वस्त तुल्याउन सक्नुपर्छ । चीन र भारतको शान्तिपूर्ण र सहज सम्बन्ध नै आफ्नो दिगो विकासको कडी पनि हो ।

यति वेला अमेरिका, पश्चिमा राष्ट्रहरू, दक्षिण–पूर्वी एशियाली देशहरू र पछिल्लो समय भारतले पनि व्यापारिक होस् वा सामरिक स्वार्थले, चीनलाई नजिकबाट नियाल्ने प्रयत्न गरिरहेका छन् । चिनियाँ सोच र जोखिम पर्गेल्ने प्रयासमा ठूलो लगानी गरिरहेका छन् । नेपालले भने न सरकारी न त निजी स्तरबाट यस्तो तयारी गरेको छ । तथापि ‘चीनले कहिल्यै नेपालको अहित गर्दैन’ भन्ने एकखाले विश्वास नेपाली जनस्तरमा अहिलेसम्म रहेकै छ, जुन दुवै देशका शासकका लागि सम्बन्ध सुधारको विशेष पूँजी हो ।

आजको चीन चिन्न हामीले सबैभन्दा पहिले तङ स्याओपिङको ‘लो प्रोफाइल’ कूटनीति अब ‘वुल्फ वारियर’ कूटनीतिमा बदलिएको तथ्य आत्मसात् गर्नुपर्छ, माओकालीन चीन देख्ने चश्मा उतार्नुपर्छ । वेलावेला पश्चिमा र भारतीय सञ्चारमाध्यमले फैलाउने चीन विरुद्धको ‘प्रोपगान्डा’ को निहितार्थ बुझ्नुपर्छ ।

देशभित्रै पनि माओवादका नाममा दशक लामो हिंसात्मक राजनीति गरेका, मूलधारमा आएर माओका विचार र व्यवहार दुवै त्यागेका तर विगतका गल्ती प्रति सार्वजनिक रूपमा माफी पनि नमागेका ‘माओवादी पार्टी’ हरूका विरोधाभासपूर्ण कथ्य अस्वीकार गर्नुपर्छ । र, विश्वाससँगै संशयको नजर र पञ्चशील सिद्धान्तका आधारमा चीन चिन्ने नेपाली भाष्य निर्माण गर्नुपर्छ । हिमालको यो चीन विशेष अङ्क यस्तो भाष्य निर्माणको एउटा यत्न हो ।

comments powered by Disqus

रमझम