असोज २०७९ | 17/09/2022

समाज बुझ्न सङ्गीत

Share:
  
- रविन गिरी
लोकभाकामा समाज र जनजीवनका कुरा सुनेर नेपाली समाज मनोरञ्जन लिइरहेको छ या र्‍याप मार्फत सामाजिक विकृति विरुद्ध आगो ओकल्नेका पक्षमा युवा संगठित भइरहेका छन्? कतै समाजको एक तप्का यथास्थितिवादी, प्रतिक्रियाविहीन त कतै अर्को तप्का आक्रोशको झिल्को त खोजिरहेको छैन?

गायक अमृत गुरुङ।
तस्वीर: सुमन नेपाली/हिमालखबर

सङ्गीत कलेजामा जति सजिलोसँग लेखिन्छ कागजमा त्यति सजिलोसँग लेख्न सकिन्न... स्वरको भाषा यति आनन्द हुन्छ कि त्यसलाई साहित्यको भाषालाई जस्तै लिपि दिन अत्यन्त गाह्रो हुन्छ।

कवि माधवप्रसाद घिमिरेले २०४० सालमा रामशरण दर्नाललिखित सङ्गीतको विस्तृत अवलोकन पुस्तकको प्रकाशकीयमा यस्तो लेखेका रहेछन्। तर, उनै घिमिरेले नै लेखेको यो गीत पञ्चायतकालमा जन्मिएका धेरैका लागि कलेजामै लेखिए जस्तै गरिबसेको छ।

गाउँछ गीत नेपाली, ज्योतिको पङ्ख उचाली
जय जय जय नेपाल, सुन्दर शान्त विशाल

यो गीतको सन्दर्भबारे दलविहीन पञ्चायती प्रजातन्त्र रजत जयन्ती महोत्सव केन्द्रीय समन्वय समितिले २०४३ पुस १ मा प्रकाशन गरेको पञ्चायत स्मारिकामा यस्तो लेखिएको छ- २००७ सालपछि राष्ट्रिय गीतको प्रचलन बढ्दै आयो। ...राष्ट्रिय गीतका रूपमा विद्यालयहरूमा पहिले स्थान पाएको गीत हो- “गाउँछ गीत नेपाली, ज्योतिको पङ्ख उचाली।” सबभन्दा पहिले सङ्गीतबद्ध भएको राष्ट्रिय गीत पनि शायद यही नै हो।

जसै विद्यालयको पाठ्यपुस्तक महेन्द्र मालामा ठाउँ पायो, एउटा पुस्ता यही गीत गुनगुनाएर हुर्कियो। बालखैदेखि नेपालीलाई पढाएर बुझाउन खोजिएको यो गीतको अर्थ थियो- नेपालीहरू चराको पङ्ख झैं, प्रदीप्त चन्द्र-सूर्य अङ्कित झण्डा उचाल्दै देशको गीत गाउँछन्, जहाँ नेपाल सुन्दर, शान्त र विशाल छ।

पञ्चायतकालको आरम्भ थियो, राजा महेन्द्रलाई प्रजातन्त्रवादी भन्दा आफूलाई श्रेष्ठ राष्ट्रवादी शासक प्रमाणित गर्दै व्यवस्था टिकाउनु थियो। त्यसका लागि जनतामा राष्ट्रभक्तिको भावना जगाउनु थियो, जसको केन्द्रमा राजसंस्थालाई राखिएको थियो। कला-साहित्य, भाषा, संस्कृतिको माध्यमबाट नियोजित रूपमा सबै नेपालीमा यस्तो राष्ट्रवादको परिपत्र जारी गर्ने काम राजा महेन्द्रले गरे। परिणाम, आजसम्म पनि त्यो पुस्तक पढेका, गीत सुनेका धेरै नेपाली जनको मनमा गुन्जिरहन्छ- गाउँछ गीत नेपाली!

यसो हुनु अस्वाभाविक पनि होइन, देशप्रेमको भावना उराल्ने यो गीतका शब्दमा सन्देह गर्ने ठाउँ कतै देखिँदैन। तर, कुन विशेष कालखण्डमा स्रष्टाका कस्ता रचनालाई शासकले आफू अनुकूल प्रयोग, दुरुपयोग वा निषेध गर्छन्, यसको हेक्का भने नागरिकलाई हुनुपर्छ। २०३१ सालताका पञ्चायती व्यवस्थाको यसखाले सङ्गीत-राजनीतिबारे रबर्ट टी एन्डरसन र एडेना एम मिचेलले रेडियो नेपाल र अन्य सरकारी कार्यक्रमहरूमा पश्चिमा र हिन्दी गीतहरूमा अघोषित रूपमा लगाइएको बन्देजबारे लेखेका छन्, तर व्यवस्थालाई अप्रिय गीतहरू किन र कसरी रेकर्ड गर्न र बज्नबाटै रोक लगाइन्थ्यो भन्नेबारे उनीहरू मौन देखिन्छन्।

यो त भयो हिजोको व्यवस्थाको परिणति। तर, आज नेपाली अहिले के गाइरहेका छन्? के सुनिरहेका छन्? जे गाइरहेका छन्, किन गाइरहेका छन्? जे सुनिरहेका छन्, किन सुनिरहेका छन्? हिजोको जस्तै आज पनि कुनै सङ्गीत-राजनीति भइरहेको छ? यसबारे हाम्रो चिन्ता अपरिहार्य देखिन्छ।

हामी नेपालीका हरेक संस्कार र कर्म सङ्गीतमै पूरा हुन्छन्। गाउँमा ढिकीजाँतो होस् वा घाँसदाउरा, खेतीपाती या पूजाआजा, जात्रा, पर्व र उत्सव, त्यहाँ सङ्गीत गाँसिएकै र मिसिएकै हुन्छ। सङ्गीतज्ञ रामशरण दर्नालले त लेखेकै छन्, ‘जहाँ नेपाली छन्, त्यहाँ नेपाली सङ्गीत छ। नेपाली सङ्गीत नेपाली जीवन हो अनि नेपाली जीवन नेपाली सङ्गीत।’

थप नेपाली सङ्गीतस्रष्टा पुस्तकमा पिटर जे कार्थकले पनि लेखेका छन्, ‘नेपाली साहित्यमा गीत मात्रै यस्तो एउटा विधा हो जुन प्रकृति, पहिचान, निर्माण, भावावेग, प्रस्तुति र अर्थका दृष्टिले साँच्चिकै ‘नेपाली’ छ। ...गीतले मात्रै नेपाली भाषाको जनजिब्रो र जनबोली समातेको छ।’ त्यसैले पनि हामीले आज गाइरहेको र सुनिरहेको सङ्गीतले धेरै हदसम्म हाम्रो मनोदशा प्रतिविम्बन गर्छ, देशको वर्तमान बुझाउन मद्दत गर्छ।

समग्र सङ्गीत बजार हेर्दा यति वेला नेपाली सङ्गीतमा लोकभाकाको पकड देखिन्छ। पप, लोक-पपको बजार खुम्चिएको छ। सबैभन्दा ठूलो सङ्कुचन चाहिं आधुनिक सङ्गीतले भोगेको छ। विसं २०३० को दशकदेखि ५० को दशकको अन्त्यसम्म एकछत्र राज गरेको सङ्गीतको यो लोकप्रिय विधा संक्रमणकालमा छ।

यति वेला लोकभाका यस्तो वेग बनेर आइरहेको छ, जसले जनजीवन र समसामयिक परिवेशको नेपालीपन बोकेर लोकप्रियताको दायरा फैलाइरहेको छ। विवाहका पार्टीदेखि पास्नीमा, पुराणदेखि हरेक पर्वमा, यूट्युबदेखि टिकटकमा लोकभाकाकै वर्चस्व छ। लोकगीतले स्थानविशेषको शब्द र भाका टिप्छन्, संघर्ष, सुखदुःखका कल्प, गल्प उनेर ल्याउँछन्, संस्कृति, नाच र बाजागाजा ल्याउँछन्। तर, अहिले चर्चित बनेका लोकभाका कति मौलिक छन्, मिसावट कति छ भन्ने पनि पर्गेल्नुपर्ने हुन्छ।

कुनै विशेष प्रकारको सङ्गीत कुन वेला लोकप्रिय बन्छ र कुन वेला एकाएक कम सुनिन्छ? सत्ता, शक्ति, समाज र सङ्गीतको कस्तो सम्बन्ध हुन्छ? प्राप्त अध्ययन र प्रवृत्ति विश्लेषण गर्ने हो भने शासक स्वयंले आफूलाई भगवान् समान मानेका वेला भक्तिसङ्गीत, अधिनायक शासक विरुद्ध जनतामा विद्रोहचेत नभएका वेला राष्ट्रप्रेम र प्रणयका सङ्गीत हावी हुनुलाई सामान्य मान्न सकिन्छ।

अम्बर गुरुङ, नारायणगोपाल र गोपाल योञ्जनहरू नेपाली सङ्गीतका नक्षत्र बनिरहेका वेला पनि राल्फा, जेबी टुहुरे र जीवन शर्माहरू नभएका होइनन्। तर, तत्कालीन राजनीतिक परिस्थितिमा उनीहरूको भूमिकालाई इतिहासले कसरी मूल्याङ्कन गर्ला? हेर्नै बाँकी छ।

नेपालीपनसँग सोझै जोडिएको लोकभाकाले चर्चा र व्यापकता पाइरहँदा अर्कातिर युवा पुस्ताको एउटा जमात हिपहप सङ्गीतमा झुमिरहेको छ। संघीय राजधानी काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार र्‍यापर बालेन शाह भारी मतले विजयी भएका छन्। लोकभाकामा समाज र जनजीवनका कुरा सुनेर नेपाली समाज मनोरञ्जन लिइरहेको छ या र्‍याप मार्फत सामाजिक विकृति विरुद्ध आगो ओकल्नेका पक्षमा युवा संगठित भइरहेका छन्? कतै समाजको एक तप्का यथास्थितिवादी, प्रतिक्रियाविहीन त कतै अर्को तप्का आक्रोशको झिल्को त खोजिरहेको छैन?

कतै २०६२/६३ पछिको राजनीतिक परिवर्तनले समाजको सङ्गीत स्वाद त बदल्न भूमिका खेलिरहेको त छैन? तीव्र बजारीकरण र प्रविधिको विकास त हावी भइरहेको छैन? समाज बुझ्न र यो समयको मनोभाव जान्न बदलिँदो हावामा बहिरहेको सङ्गीत सुन्नैपर्ने हुन्छ।

भनिन्छ- राजनीतिले समाजलाई ध्रुवीकृत बनाउँछ, तर सङ्गीतले जोड्छ। हिमालको यो दशैं अङ्क हर भाषा र भूगोलका नेपाली संवेदनालाई जोड्ने यही भावसम्पदा- नेपाली सङ्गीतको सौन्दर्य, शक्ति र सामर्थ्यको ‘सेलिब्रेशन’ हो। समानुभूतिको ‘सेलिब्रेशन’ हो।

सबैमा दशैंको शुभकामना!

comments powered by Disqus

रमझम