९ मंसिर २०७० | 17 November 2013

शुभकामना जागरुक मतदातालाई

Share:
  

मीनरत्न बज्राचार्य
संविधानसभाको निर्वाचन आउन दुई दिन बाँकी रहँदा मतदाताको भोट खसाल्ने चाहना उत्कर्षमा पुगेको छ। दशैं, तिहार र छठ जस्ता चाड परे पनि यो बीचमा उम्मेदवार र मतदाताले पर्याप्त संवाद गरिसकेका छन्। केही स्थानमा संविधान निर्माण र धेरैजसो ठाउँमा स्थानीय विकासबारे छलफल भएपछि मतदाताले दल र उम्मेदवार पनि रोजिसकेको बुझन सकिन्छ।

यससँगै, निर्वाचन बहिष्कार गर्ने नाउँमा वैद्य माओवादीले मतदातालाई झ्स्काउने गतिविधि पनि बढाउँदै लगेको देखिंदैछ। उम्मेदवार र तिनका सवारी साधनमाथि आक्रमण गर्दै आएको उसले पेट्रोल भरिएको बोतलमा आगो लगाएर सार्वजनिक यातायातका साधनहरूमा फाल्न थालेको छ। आम मानिसलाई तारो बनाइएको यस्ता गतिविधिले उसले राजनीतिक चरित्र क्रमशः गुमाउँदै गरेको देखाउँछ। दश दिन लामो आम हडताललाई जनताले अवज्ञा गरेका कारण उसले संयम गुमाएको हुन सक्छ।

आतङ्ककारी कृत्य भन्न सकिने यस्ता गतिविधिको अभियन्ता वैद्य–माओवादी भएको सरकारको ठहर छ, तर नियन्त्रणमा भने ऊ निरीह देखिएको छ। आगजनीको आरोपमा केहीलाई पक्राउ गरेको सरकारले ती क्रियाकलापका नेतृत्वकर्तालाई बोलाएर सोध्न सकेको छैन। यस्तो अवस्थामा गृहमन्त्रालयमा पत्रकार बोलाएर आवेगात्मक टिप्पणी गर्नुको अर्थ रहँदैन।

यता निर्वाचनमा भाग लिएको एमाओवादीका क्रियाकलाप समेत पछिल्ला दिनमा वैद्य–माओवादीसँग मिल्दोजुल्दो देखिनु अर्को आश्चर्य भएको छ। हिंसाको इतिहास भएको दलले निर्वाचनमा भाग लिंदैमा स्वभाव र शैली त्याग्न नसक्नु धेरै अनौठो नहोला, तर पछिल्ला दिनमा विपक्षी दलका उम्मेदवार र कार्यकर्तामाथि छेकथुन र सांघातिक आक्रमणले उसको अधिनायकवादी चरित्र देखाइरहेको छ। दोलखा, बाग्लुङ, जाजरकोट, रुकुम, सिन्धुली, बैतडी र गोरखामा विपक्षीमाथि भएका हमलाले एमाओवादी यो निर्वाचन पनि २०६४ जसरी नै जित्न चाहन्छ भन्ने देखाउँछ।

नेपाली कांग्रेस र नेकपा एमाले लगायत लोकतान्त्रिक दलहरू २०६४ मा जस्तो निरीह नरहेकोले यो निर्वाचनमा एमाओवादी हिंसाको प्रतिरोध हुने देखिन्छ। गएको ६ वर्षमा अरू दलहरू माओवादीको डरबाट धेरै हदसम्म मुक्त भएका छन् र गाउँ–गाउँसम्म आफ्नो संगठन पनि सुदृढ गरेका छन्। नयाँ शक्तिको हौवा सकिएको, पार्टी विभाजन भएको र पहिचानको नाराको असर कम देखिएकाले एमाओवादी पंक्ति यो निर्वाचनप्रति निराश छ। एमाओवादी नेताहरूले जति दौडाहा गरेर बहुमतको गुड्डी हाँके पनि ऊ कमजोर भएको आम बुझ्ाइ छ। यथार्थको अनुभूतिले एमाओवादी पंक्तिलाई निराश र आक्रामक बनाउँदै लगेको छ। विपक्षी उम्मेदवार र कार्यकर्तामाथि भाडाका युवा र हिंसात्मक कार्यकर्ताबाट आक्रमण थाल्नुको अरू कारण देखिंदैन।

भिडन्तका घटनाको विश्लेषण गर्दा एमाओवादीको उत्तेजना र आक्रमण बढ्नुमा सरकारको निरीहपन प्रमुख कारण देखिन्छ। सरकारले थोरै आँट र तत्परता देखाउँदा पनि एमाओवादी हिंसा पराजित भएर निर्वाचन भयमुक्त र हिंसारहित हुने मौका छ। किनभने, जनता जागरुक बनेका छन्, लोकतन्त्रमा विश्वास गर्ने दलहरू भयमुक्त निर्वाचन मार्फत लोकतान्त्रिक संविधान अनि सरकार निर्माण गर्न आतुर छन् र मुलुकको माहोल सम्पूर्ण रूपमा हिंसा विरोधी छ।

लोकतान्त्रिक विधिबाट लोकतान्त्रिक संविधान बनाउने यो अन्तिम मौकाको सदुपयोग गर्न दलका कार्यकर्ता, नागरिक समाज र जनतासँगै भएभरको शक्ति प्रयोग गर्नु सरकारको कर्तव्य हो। जनताको इच्छाशक्ति, आँट र क्रियाशीलताले मात्र लोकतन्त्रको रक्षा हुन सक्छ भन्ने कुरा इतिहासले पनि सिद्ध गरिसकेको छ। यो निर्वाचन बहुलवादी समाजलाई डोर्‍याउने लोकतान्त्रिक संविधान निर्माण गर्ने संविधानसभा गठन गर्न सफल बनोस्, शुभकामना !

comments powered by Disqus

रमझम