दक्षिणपन्थी यात्रा रोक

Share:
  
p4

सार्वजनिक प्रदर्शनमा रहेको चित्रकलामा आपत्ति जनाउने क्रममा विश्व हिन्दू महासंघको एउटा समूहले काठमाडौंको सिद्धार्थ आर्ट ग्यालरीमा गएर कलाकार मनिष हरिजनलाई ज्यान मार्ने धम्की दियो। जिल्ला प्रशासनले धम्की दिनेहरूलाई कानूनी कारबाही गर्नुको साटो ग्यालरी सिलबन्दी गर्‍यो। कसुर नखुलाई एउटा प्रतिष्ठित कला केन्द्र बन्द गरेर सरकार स्वयंले कानूनी शासनको दुर्गति त देखाएको छ नै, नेपालको अन्तरिम संविधान २०६३ ले ग्यारेण्टी गरेको अभिव्यक्ति स्वतन्त्रताको समेत धज्जी उडाएको छ।

मुलुकका लोकतान्त्रिक दल र तिनले गरेका 'सहमति' को प्रयास क्रमशः असफल हुँदै जाँदा शुरू भएको नेपाली समाजको दक्षिणपन्थी यात्रा देखाउने दुर्दान्त संकेत हो, यो। समाजलाई विभिन्न जाति, धर्ममा विभक्त गरेर कुनै न कुनै बहानामा बहुलवादी लोकतान्त्रिक राज्यव्यवस्थाका अवयवहरूमाथि प्रहार गर्ने काम भइरहेको छ। धार्मिक–सांस्कृतिक संकीर्णता र अतिवादले कहिल्यै स्थान नपाएको नेपाली समाजमा सदियौंदेखि अभ्यास भएको धार्मिक सहिष्णुतालाई कमजोर पारिंदैछ। विभिन्न धार्मिक पथ–पन्थको विकासमा पनि हिन्दू धर्मको मूल पहिचान सहिष्णुता नै थियो, बहुलता र विशालतामा आधारित सनातन अभ्यासबाटै नेपालको हिन्दू धर्ममा सहिष्णुता विकास भएको हो। नेपाली हिन्दू धार्मिक अभ्यासको विशालतालाई '३३ कोटि देवदेवी' को अवधारणाले पनि प्रष्ट्याएको छ। नेपाली कला परम्परामा सिर्जना र सहिष्णुताको सम्बन्ध केलाउन हाम्रा मठ–मन्दिरका टुँडाल काफी छन्।

तर, यही धर्मको नाममा संकीर्णताको पराकाष्ठा देखाउन पनि थालिएको छ। विश्व हिन्दू महासंघले आजको लम्बिंदो संक्रमणकालमा 'क्रान्तिकारी' राजनीति गर्न खोजेको बुझन गाह्रो छैन। धर्मको नाममा राजनीति गर्न उद्यत महासंघले स्वतन्त्र विचार निर्माण, स्वच्छ बहस र सम्मानजनक सम्बोधनलाई रसातलमा पुर्‍याउँदै विधि तथा प्रक्रियाको अभ्यासलाई शून्यमा झार्न सफल एमाओवादी सरकारको पदचिन्ह पछ्याएको प्रष्टै छ। राजनीतिमा जातीयताको दुरुपयोग गरेर शक्ति आर्जन गरेको एमाओवादीले पनि धर्मको नाममा राजनीति गर्न चाहने समूहको सोचलाई प्रोत्साहित गरेको छ, आर्ट ग्यालरी बन्द गरेर र कलाकारलाई तारेखमा राखेर। माओवादीको 'पपुलिष्ट' राजनीतिबाट मुग्ध बौद्धिकहरूमा कायम विचारको एकांकीपन पनि यो दक्षिणपन्थको लागि सहायक बनेको छ। र, अभिव्यक्ति स्वतन्त्रतालाई नै सीमाबद्ध गर्ने खतरनाक विचारहरू आउन थालेका छन्।

हो, लोकतन्त्र र अभिव्यक्तिको स्वतन्त्रतालाई पनि कर्तव्यले सीमाबद्ध गरेको हुन्छ। अरूको अधिकार र भावनामा चोट नपुर्‍याई आफ्नो अधिकारको उपयोग गर्नु नै लोकतन्त्र हो। यो कर्तव्यको ख्याल नगरी गरिने अधिकार तथा अभिव्यक्ति स्वतन्त्रताको अभ्यास आफैंमा असामाजिक हुन्छ। तर, कसैको अधिकारको अभ्यासबाट आफ्नो अधिकार वा भावनामा ठेस पुगेछ भने प्रतिवाद गर्ने प्रक्रिया पनि लोकतान्त्रिक विधिसम्मत नै हुनुपर्छ। त्यो भनेको खण्डन, प्रतिक्रिया, लबिङ, दबाब वा कानूनी उपचार हो, न कि ज्यान मार्ने धम्की।

अभिव्यक्ति स्वतन्त्रता बहुलवादी समाजलाई बाँध्ने धागोसँग सामञ्जस्य राखेर प्रयोग हुनुपर्छ, न कि त्यसलाई चुँडाल्ने गरी। अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गर्नेहरूले यो मर्मको ख्याल नराख्ने हो भने उनीहरूको यत्न अरूको भावनामा चोट पुर्‍याउने माध्यम हुनपुग्छ। यस सन्दर्भमा स्वयम् हिमाल खबरपत्रिका ले भोगेको एउटा घटना उल्लेख्य छः हिमाल को १६–३० असोज २०६४ को अंकमा प्रकाशित एउटा कार्टूनबाट 'आफ्नो समुदायलाई चोट पुगेको' प्रतिक्रिया त्यस समुदायबाट आएपछि सम्पादकीय टोलीले तत्काल क्षमा माग्नुलाई मल्हम लगाउने उपाय ठान्यो, समाजको यथार्थ र प्रकाशन तथा अभिव्यक्ति स्वतन्त्रताको कसीमा कार्टून सही हुँदाहुँदै पनि, र अर्को अंक पनि नकुरी लगत्तैको राष्ट्रिय दैनिक पत्रिकामार्फत सविनय क्षमायाचना गर्‍यो।

संकीर्णताका प्रतिमूर्ति बाबुराम भट्टराई र भ्रष्टाचारमा डुबेको उनको नेतृत्वको सरकारलाई समाज कता जाँदैछ भनेर सोच्ने फुर्सद छैन। यस्तो बेला कम्तीमा लोकतन्त्र र बहुलवादको बाटो समातेर अग्रगमनतर्फ उन्मुख समुदायले समाज क्रमशः संकीर्ण बन्दै गएकोमा सतर्कता अपनाउनै पर्छ। कलाकार हरिजनको चित्रको विषयलाई लिएर एउटा दक्षिणपन्थी समूहबाट आएको ज्यान मार्ने धम्की र एमाओवादी सरकारबाट भएको आर्ट ग्यालरीको सिलबन्दीले संकेत गरेको संगीन उद्देश्यलाई रोक्नैपर्छ। र, दक्षिणपन्थतर्फ अग्रसर समाजको यात्रालाई उदार लोकतन्त्रतर्फ मोड्नै पर्छ।

comments powered by Disqus

रमझम